स्वास्थ्य शिविरबाट करिब ८ सय लाभान्वित

बैशाख १२, २०८०


नारायण प्रसाद कोइराला
१२ वैशाख २०८०

स्याङ्गजाको भीरकोट नगरपालिकामा आयोजित बृहत नि:शुल्क स्वास्थ्य शिविरबाट करिब ८ सय सेवाग्राही लाभान्वित भएका छ्न्। भीरकोट नगरपालिका र काठमाडौँको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालको संयुक्त आयोजनामा मंगलबार नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । तमु समाज भवनमा संचालन भएको स्वास्थ्य शिविरमा ७ सय ८४ जनाले सेवा लिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए।

उक्त शिविरमा स्त्री तथा प्रसुती डा. मनोर दिन सैयद नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो। विशेषज्ञ टोलीमा जनरल मेडिसिन डा. इबराज सिम्खडा,शल्यचिकित्सक डा.सुन्दर महर्जन , हाड जोर्नी तथा नशा रोग डा. मंगल हिराचन ,नाक/कान/घाटी डा. डिबिट अधिकारी ,ड़ा. राजेन्द्र ढुंगाना, डा. शुसानी बस्नेत , सुनिला श्रेष्ठ ,मौषमी लम्साल , रञ्जित गिरीले विशेषज्ञ सेवा प्रदान गरेको भीरकोट नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नारायणबन्धु अर्यालले जानकारी दिए।

राजधानीबाट आएको चर्चित विशेषज्ञ चिकित्सकहरुको टोलीले नि:शुल्क स्वास्थ्य परीक्षण,परामर्श औषधि वितरणका साथै भिडियो एक्सरे, महिलाहरुको पाठेघरको प्रारम्भिक भीआईएस टेस्ट समेत गरेको थियो। स्वास्थ्य शाखा अधिकृत अर्यालका अनुसार स्वास्थ्य शिविरमा १सय ८८ जनाले स्त्रीरोग सम्बन्धि उपचार सेवा,१३५ जनाले नाक, कान, घाँटी सम्बन्धि उपचार सेवा, २ सय ३२ जनाले हाडजोर्नी सम्बन्धि उपचार सेवा, २ सय २९ जनाले सामान्य उपचार सेवा लिएका थिए।