भीरकोटका किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

फागुन ०६, २०७८


६ फागुन २०७८

कृषिमा उत्पादन लागत घटाई प्रविधिमैत्री खेतीप्रणालीको विकास गर्ने उद्देश्यले भीरकोट नगरपालिकाले हाते ट्रयाक्टर वितरण गरेको छ। आज नगरपालिकामा आयोजित ट्रयाक्टर वितरण कार्यक्रममा ३७ जना कृषकहरूलाई हाते ट्रयाक्टर वितरण गरिएको हो। परम्परागतभन्दा पनि आधुनिक तवरबाट कृषि प्रणाली अगाडि बढाउँदै उत्पादन वृद्धि गर्न र कृषिमा हुने लागत घटाउने मुख्य उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउनुभयो ।

“गाउँघरमा आजभोलि गोरु पाल्ने चलन हरायो, खेताला खोज्दा पाइन छाड्यो”, नगर प्रमुख खनालले भन्नुभयो, “हाते    ट्रयाक्टरको प्रयोगसँगै कम खर्चमा छिटोछरितो र सहजरूपमा काम हुने भएकाले पनि अनुदानमा हाते ट्रयाक्टर  वितरण गरेका हौँ ।” हाते ट्रयाक्टरको सही सदुपयोग गरी व्यावसायिकतातर्फ उन्मुख हुन नगर प्रमुख खनालले सुझाव दिनुभयो ।

नगरपालिकाले यो वर्ष १०० वटा हाते ट्रयाक्टर वितरण गर्ने भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो। आज बाट सुरुवात गरिएको हाते ट्याक्टर वितरण नगरभित्रका नौ वटा वडाबाट माग भई आएका किसानलाई लक्षित गरी वितरण गरिने कृषि संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो । प्रवक्ता केसीले भन्नुभयो, “उहाँहरुलाई चलाउने तरिकाका बारेमा तालीमसमेत दिएका छौँ भने हाते ट्याक्टर बिग्रिएमा वा समस्या आएमा प्रत्येक वडामा एक/एकलाई मर्मत गर्ने तालीम दिने तयारी भइरहेको छ।”



कृषि विज्ञ द्रोणराज काफ्लेका अनुसार नगरपलिकाले १०० वटा हाते ट्रयाक्टर खरिद गरिसकेको हुनाले आगामी हप्ता सम्म बाँकी सबै वितरण गरि सकिनेछ। ५० प्रतिशत अनुदानमा डिजेल र पेट्रोल इन्जिनयुक्त ट्रयाक्टर वितरण गरिएको हो। पेट्रोल इन्जिन भएको ट्रयाक्टरकालागि कृषकले प्रती ट्रयाक्टर सोह्र हजार पाँच सय र डिजेल इन्जिन भएको ट्रयाक्टरका लागि प्रती ट्रयाक्टर छब्बीस हजार रूपैयाँ तिर्नुपर्ने कृषि शाखाले जनाएको छ।