गन गन गर्दा भेट्ना चुंड्ला ठेट्नाहरु हेक्का राख

भदौ ०८, २०७९

धुर्व शर्मा पंगेनी
गन गन गर्दा भेट्ना चुंड्ला ठेट्नाहरु हेक्का राख
दुक्की तृकी तिमी बन मै बुढोलाइ एक्का राख ।
नछोडुं झैं लाग्दो रैछ टुच्च सत्ता छोए पछि
फेरि सफा बनाइहाल्छ खरानिले धोए पछि ।
तन्देरी झैं लाग्दो रैछ बेल्का चुस्स खाए पछि
अझै बढी लाग्छ मलाइ सत्ताको याद आए पछि।
गन गन गर्दा भेट्ना चुंड्ला ठेट्नाहरु हेक्का राख
दुक्की तृकी तिमी बन मै बुढोलाइ एक्का राख ।
मेरो बिरोध गर्न छाड सांझ बिहान स्वस्ती गर
जो चाहियो त्यै पुर्याउंछु सके जति मस्ती गर ।
दुनियाको कुरा छाड आफ्नो कुम्लो गांठो पार
पराइको डिल भत्काएर आफ्नो तिर आंठो पार।
गन गन गर्दा भेट्ना चुंड्ला ठेट्नाहरु हेक्का राख
दुक्की तृकी तिमी बन मै बुढोलाइ एक्का राख ।
मैले यता सेटिङ गर्छु तिमी उता डेटिङ जाउ
बूढो गोरुको ब्यथा बुझ सत्ता तिर आँखा नलाउ।
सडक तिम्लाइ दिएकै छ त्यतै बस उतै रमाउ
लड्न लागे खोजी हाल्छु त्यै बेलामा हात समाउ।
गन गन गर्दा भेट्ना चुंड्ला ठेट्नाहरु हेक्का राख
दुक्की तृकी तिमी बन मै बुढोलाइ एक्का राख ।
ज्यान गलेनी मन गलेन सुति सुति चलाइ दिन्छु
मेरो बिरोध गर्नेलाइ भित्र भित्रै जलाइ दिन्छु।
झुटो बोल्न जानेकै छु वहांको इशारा मानेकै छु
सत्ता लिप्सा हुँदै होइन आबस्यकता ठानेको छु।
गन गन गर्दा भेट्ना चुंड्ला ठेट्नाहरु हेक्का राख ।
दुक्की तृकी तिमी बन मै बुढोलाइ एक्का राख ।
तीन दशक मात्रै त भो सत्ता भित्र गांसिए को
पालो आउँछ पर्खी बस तिमी किन आसिए को ।
मरे पछि मैले पनि बोकि संगै के लान्छु र ?
चिता संगै बिर्ता पाउला अब धेरै के खान्छु र?