निशुल्क सपिङ व्याग वितरण गर्दै भीरकोट नगरपालिका 

असार २२, २०८१     स्मार्ट संवाददाता


स्याङ्जाको भीरकोट नगरपालिकाले प्लास्टिकजन्य झोलाको प्रयोगमा न्यूनीकरण गर्न कपडाको झोला वितरण गर्न लागेको छ। नागरिकलाई कपडाको सपिङ ब्याग प्रयोग गर्ने बानी  बनाउन करिब १३ हजार सपिङ ब्याग निशुल्क वितरण गर्न लागिएको पालिकाले जनाएको छ। झोला निर्माणको अन्तिम  चरणको काम भैरहेको  प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए।

मुख्यमन्त्री नवपर्वतन साझेदारी कार्यक्रम अन्तर्गत सुरू भएको सूचना प्रविधिमैत्री एवं प्लास्टिकमुक्त नगरपालिका अन्तर्गत  सपिङ ब्याग निशुल्क बाड्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  ढुङ्गानाले जानकारी दिए ।

प्लास्टिकमुक्त नगरपालिका  कार्यक्रम अन्तर्गत भीरकोट नगरपालिकामा रहेका करिब ६ हजार घरधुरीलाई कम्तिमा २ वटाका दरले नगरपालिकाको लोगो सहितको सपिङ ब्याग वितरण गरिनेछ। प्लास्टिकजन्य फोहरमैला व्यवस्थापनका विषयमा  जनचेतना जगाउने कार्य  सकिएसँगै र अब झोला वितरण गर्न लागिएको हो।

भीरकोटबासी नागरिकको प्लास्टिक झोलाको प्रयोग गर्ने बानी हटाउन  सपिङ ब्याग निशुल्क बाडिने भएको हो। कार्यक्रमको दिगोपनालाई मध्यनजर गर्दै २० जना महिलालाई १ हप्ते झोला सिलाउने तालिम दिइएको थियो। तलिमप्राप्त महिलाहरूले सिलाएका झोलामा नगरपालिकाको लोगो लगाउने काम भैरहेको रोजगार संयोजक वसन्त बस्नेतले जानकारी दिए।  प्लास्टिकको प्रयोगबाट वातावरणमा पर्ने असर, फोहोरमैलाको वर्गीकरण लगायतका विषयमा जनचेतना जगाउन र झोला वितरणमा करिब ३१ लाख रूपैयाँ खर्च हुने पालिकाले जनाएको छ।