गडहरे गुफाको दोस्रो चरणको भौगर्भिक अध्ययन:नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना

असार ०६, २०७९


नारायण प्रसाद कोइराला,स्याङ्जा
६ असार २०७९

गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा पर्ने भीरकोट नगरपालिकामा अवस्थित गडहरे गुफाको दोश्रो चरणको भौगर्भिक तथा भूभौतिकी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । बेडरक इन्जिनियरिङ कन्सल्टेन्सी काठमाडौंले गरेको भौगर्भिक अध्ययनले गडहरे गुफाको यात्रा गर्न सम्भव लम्बाई ६७८ मिटर देखाएको छ । गुफाको लम्बाई अझै बढी भएपनि त्यसबाट भित्र गुफाको यात्रा एकदमै कठीन र प्राय असम्भव रहेकाे छ ।

 

 



 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

त्रिभुवन विश्वविद्यालयका भूगोल विभाग प्रमुख डा. कविराज पौड्यालले प्रस्तुत गरेको अध्ययन प्रतिवेदन अनुसार यो गुफा प्राकृतिक विशेषताले भरिएको छ । गुफामा शिव लिङ्ग, हात्तीको सुँढ, हात्तीको पाइला, गाइको थुन, केराको कोशा, केराको सिङ्‍गो घरी, मकैको घोँगा, अङगुरको झुप्पा, माहुरीको चाका जस्ता प्राकृतिक संरचनाहरू छन् । धार्मिक आकृतिहरुको बाहुल्यता भएका कारण यो गुफालाई देशकै एक प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा समेत विकास गर्न सकिने अध्ययनले देखाएको छ ।

गडहरे गुफाभित्र अक्सिजनको अभाव छैन र पानीको थोपा चुहिने देखि ताल, झरना र खोला गुफाभित्रै अवलोकन गर्न पाइन्छ । प्रवेशद्वारबाट २१३ मिटरभित्र झरना बगेको देख्न सकिन्छ । गुफाभित्र २० मिटर अग्लो र १९‍.२ मिटर फराकिलो हल आकारको फराकिलो ठाउँ पनि छ जहाँ करिब ३०० मानिसहरू एकैपटक भेला हुन सम्भव छ । शसस्त्र द्वन्द्वकालमा माओवादीका जनमुक्ति सेनाहरुले यो ठाउँलाई आश्रय स्थलको रुपमा समेत प्रयोग गरेको स्थानीयहरु बताउँछन् ।

यस गुफाको भित्री भागमा उचाइगत भिन्नताहरु पनि छ । कुनै स्थानमा उचाई ५० से.मी. रहेको छ भने कुनै स्थानमा २२ मिटर रहेको छ । कतै समथर छ भने कतै भिरालो छ । त्यसकारण यो गुफा साहसिक पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य हो ।

प्रा.डा. पौडेलका अनुसार अहिलेसम्म पत्ता लागेका गुफाहरुमध्ये नेपालकै सबैभन्दा लामो र अद्वितिय विशेषताले भरिएको गुफा हो । वि.सं. २०४५ सालमा स्थानीयले पत्ता लगाएको भएपनि करीब ३ दशकपछि मात्रै निवर्तमान नगर प्रमुख छायाराम खनालको अग्रसरतामा गुफाको भौगर्भिक र भुभौतिकी सर्वे गरिएको हो । दोश्रो चरणको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दासम्म ३० लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै खनालले गुफालाई व्यवस्थित र सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको निम्ती भुगर्भविद्हरुको विज्ञ समूहबाट गुफाको भौगर्भिक र भुभौतिकी अध्ययन गरिएको जानकारी दिनुभयो । वडा नं. ९ का अध्यक्ष भिम बहादुर गुरुङ्गले गडहरे गुफामा अन्य गुफामा पाइएका ८० प्रतिशत भन्दा बढी विशेषता पाइएको बताउनुभयो । नगरपालिकाले पनि पूर्वाधार विकासको काम गरिरहेको भएपनि प्रदेश/केन्द्र सरकारले पर्यटन सडक निर्माण गरी सहज यातायातको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँका अनुसार अहिले पोखरी र पदमार्ग निर्माणको काम भैरहेको छ ।

गुफाभित्रको हात्तीको सुँढ आकारको संरचना

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले गडहरे गुफाको अध्ययन प्रतिवेदन उपयोगी रहेको बताउँदै गडहरे गुफाको पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमा नगरपालिका सदैव लागि पर्ने बताउनुभयो । पर्यटकीय महत्वको गुफाको प्रचारप्रसारमा सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह समेत गर्नुभएको छ ।धार्मीक, प्राकृतिक र भौगोलिक विशेषताले भरिएको यो गुफा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हुने सम्भावना अत्याधिक छ।                                                            तस्बिरमा गडहरे गुफा