प्लास्टिक प्रदुषण नियन्त्रण गर्न विद्यार्थी पुरस्कार योजना

जेठ २२, २०८०


स्मार्ट संवाददाता, फेदिखोला
२२ जेठ २०८०

विश्व वातावरण दिवसलाई सार्थक रुपले मनाउन स्याङ्जाको फेदिखोला नगरपालिकाले विद्यार्थी पुरस्कार योजना सार्वजनिक गरेको छ। हरेक वर्ष जुन ५ का दिन मनाइने विश्व वातावरण दिवसको यो वर्षको नारा “Beat Plastic Pollution” अर्थात “प्लास्टिक प्रदुषण विरूद्ध लडौं” भन्ने रहेको छ। यही नारालाई व्यवहारिक कार्यान्वयन गर्न पालिकाले विद्यार्थीहरूलाई आफ्नो घर र घर वरपरको प्लास्टिकजन्य फोहोर संकलन गरेर विद्यालयमा बुझाउन अनुरोध गरेको छ। वर्षभरी संकलित फोहरको तौलको आधारमा अर्को वर्ष जुन ५ का दिन विश्व वातावरण दिवसकै अवसरमा नगद पुरस्कार दिइने गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरूङले जानकारी दिनुभयो।

विद्यार्थी मार्फत गाउँघर सफासुग्घर राख्न र अभिभावकमा पनि सचेतना जगाउने उद्देश्यले विद्यार्थी पुरस्कार योजना लागू गर्न लागिएको उपाध्यक्ष गुरुङको भनाइ छ। वडा नं ५ मा विगतमा यस्तै खाले अभियान संचालन गर्दा सफलता मिलेकाले पालिकाभरी प्लास्टिकजन्य फोहर संकलन र व्यवस्थापन गर्न लागिएको पालिका स्रोतले बतायो।

विद्यार्थीले यो अभियानमा सहभागी हुन सबैखाले प्लास्टिकजन्य फोहर संकलन गर्न सक्ने पालिकाले जनाएको छ। संकलित फोहरलाई तौल गरि सहभागी सबैले प्रती के.जी. निश्चित मूल्य पाउने छ्न्। फोहर संकलन कार्यको सहजीकरण विद्यालयले गरेपनि फोहर व्यवस्थापन कार्य भने पालिकाले नै गर्ने र यसका लागि ल्यान्डफिल साइटको तयारी समेत भैरहेको बताइएको छ। सचेतनाका साथसाथै बिस्तारै पालिकालाई प्लास्टिकजन्य फोहरमुक्त बनाउने लक्ष्य रहेको उपाध्यक्ष गुरूङले बताउनुभयो ।

प्लाष्टिकजन्य प्रदुषणले पालिका , देश लगायत समग्र विश्व नै आक्रान्त परिरहेको अवस्थालाई मध्यनजर गर्दै Beat Plastic Pollution भन्ने नाराको सार्थक कार्यान्वयन गर्न विश्व वातावरण दिवस, २०२३ को अवसरमा गाउँपालिकावासी प्रत्येक विद्यार्थीहरुलाई आफ्नो घर र घर वरपरको प्लाष्टिकजन्य फोहोर संकलन गर्न आह्वान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो। एक बर्षको अवधिमा संकलित फोहोरको तौलको आधारमा आगामी वातावरण दिवस (June 5, 2024) मा पुरस्कार दिइने प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो।