फेदीखोला सरकारको पहिलो निर्णय: दलित र विपन्न विद्यार्थीलाई छात्रवृत्ति
स्मार्ट अखबार संवाददाता
७ जेठ २०७९, स्याङ्जा
फेदीखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष घनश्याम सुवेदीले पदबहाली गरेसंँगै विपन्न तथा दलित विद्यार्थीहरुका लागि छात्रवृत्ती दिने पहिलो निर्णय गर्नुभएको छ । सुवेदी स्थानीय तहको गत वैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट नेकपा एमालेको तर्फबाट फेदीखोला गाउँपालिकाको अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित हुनुभएको हो। हिजो पदबहाली गर्दै सुवेदीले एक वर्षमा ३० जना विद्यार्थीको लागि छात्रवृत्ती दिने पहिलो निर्णय गर्नुभएको हो ।पदबहाली सँगै उहाँले ५ वटै वडाका वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनुभएको थियो।
पद बहाली संँगै अध्यक्ष सुवेदीले भन्नुभयो, “प्रविधिक शिक्षातर्फ विभिन्न विषयको अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रत्येक वर्ष ३० जनाका दरले गाउँपालिकाले छात्रवृत्ती उपलब्ध गराउँछ, यो निर्णयले स्वरोजगारमूलक जनशक्ति उत्पादनका साथै प्रविधिक शिक्षा तर्फ विद्यार्थीहरुको आकर्षण बढ्ने छ।”
उहाँले भन्नुभयो, “प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरू आर्थिक अभावका कारण पढाइबाट बञ्चित हुन नपरोस भनेर आफ्नो दोस्रो कार्यकालको पहिलो निर्णय विपन्न र दलित विद्यार्थीहरुको लागि प्रविधिक शिक्षा अध्ययन गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ यो निर्णय गरिएको हो।”
यही वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएका सुवेदीले गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । सुवेदी स्थानीय तह २०७४ को निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकालमा कृषिको क्षेत्रमा राम्रो काम गरेर चर्चामा आउनुभएको थियो।