रोजगारी र आत्मनिर्भर जीवनशैली आजको आवश्यकता : उम्मेदवार अर्याल

कार्तिक ०८, २०७९


स्मार्ट अखबार संवाददाता, गल्याङ
८ कार्तिक २०७९

नेकपा एमालेका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरू मतदाताको घरदैलोमा भोट माग्न व्यस्त हुनुभएको छ। गल्याङका विभिन्न वडाहरूमा मतदातालाई सम्बोधन गर्दै स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार पदमा कुमारी अर्याल, प्रदेश सभा २ ख का सदस्यका उम्मेदवार  डा. बुद्धिमान श्रेष्ठ र सामानुपातिक उम्मेदवार निर्मला थापाले जनचाहना र स्थानीय आवश्यकता अनुसार नै नेकपा एमालेले विकास समृद्धिको अभियानमा लागि परेको दाबी गर्नुभयो।

बिज्ञापन

गल्याङको वडा नं १ मा मतदाताहरूलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं नेकपा एमालेका उम्मेदवार अर्यालले पूर्वाधारको विकास सँगसँगै युवा र महिलाले रोजगारी नपाए सम्म समाजमा विकासको अनुभूती नहुने भएकाले अब बन्ने सरकारले पूर्वाधारको दिगो विकास, उत्पादनशील क्षेत्रमा लगानी र रोजगारीलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

प्रतिनिधि सभाका उम्मेदवार एवं पूर्व मन्त्री अर्यालले रोजगारी र आत्मनिर्भर जीवनशैली आजको आवश्यकता भएको बताउनुभयो। युवाहरूलाई मेहनत र पौरखमा बाच्नका लागि उद्यमशील बन्न आग्रह गर्दै चुनावको मुखमा देखाइने लोभ लालचमा फसेर आफ्नो आत्म सम्मान र स्वाभिमान नबेच्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “हामी भोट माग्न मात्रै होइन, विगतमा गरेका बाचा कसमहरू पूरा गरेर मतदातालाई धन्यवाद ज्ञापन गर्न आएका हौं। विकासका अपूरा योजनालाई समयमै पूरा गर्न समृद्धिको सपनालाई विपनामा परिणत गर्न विगतको चुनावमा गरेको सहयोग जारी राख्न अनुरोध गर्दछु।”

विज्ञापन