भीरकोटमा नेपाली काँग्रेसको जनमत सर्वाधिक छ।
भीरकोट नगरपालिका नेपाली काँग्रेसको बलियो पकड रहेको स्थानीय तह हो। यहाँ नगर प्रमुख पदका लागि पाँच वटा राजनीतिक दलका उम्मेदवारहरू बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ। यद्यपि मुख्य चुनावी प्रतिस्पर्धा नेकपा एमाले र नेपाली काँग्रेस बिच हुनेछ।यसपटक स्थानीय तह निर्वाचन २०७९ को सेरोफेरोमा रहेर हामीले नेपाली काँग्रेसको तर्फबाट भीरकोट नगरपालिकाका नगर प्रमुख पदमा उम्मेदवारी दिनुभएका नेता गोबिन्द कुमार कर्माचार्यसँग संक्षिप्त कुराकानी गरेका छौं। प्रस्तुत छ हाम्रा प्रधान सम्पादक नारायण प्रसाद कोइरालाले नगर प्रमुख पदका उम्मेदवार कर्माचार्यसँग लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश:
१) हजुरको राजनीतिक जीवनको बारेमा संक्षिप्तमा बताइदिनुहुन्छ कि!
म २०३० साल देखि नेपाली काँग्रेसको राजनीतिमा सकृय छु। २०३० सालमा नेपाल विद्यार्थी संघ र २०३६ सालमा पार्टीको सकृय सदस्य भै अनवरत रूपमा पार्टीप्रती समर्पित छु। पार्टी र जनताले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा वडा अध्यक्ष, उपप्रधानपञ्च, गाउँ विकास समितिको अध्यक्ष र पार्टीको विभिन्न पदमा रहेर इमानदारीताका साथ काम गरेको छु।
२) स्थानीय चुनावमा हजुरसँग अन्य पार्टीका चार उम्मेदवारले पनि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।हजुरलाई भोट हालेर जनताले के पाउँछन्?
मैले जनताका आधारभूत आवश्यकता पूरा गर्दै समुन्नत भीरकोट निमार्ण गर्ने जनताको सपना पूरा गर्न उम्मेदवारी दिएको हुँ। जनताले मलाई भोट हालेर विजयी बनाउनुभयो भने मैले स्वास्थ्य र शिक्षाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता कायम गर्नेछु । बाटोघाटो र खानेपानीको सुविधा सबै गाउँ बस्तीमा पुर्याउँदै एक घर एक धारा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नेछु । भीरकोटलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषिको आधुनिकिकरण र व्यवसायीकरण गर्न पहलकदमी लिनेछु। सडक पूर्वाधारहरूको दिगो र व्यवस्थित विकास गर्न आवश्यकता र जनचाहना अनुसार ग्राभेलिङ र कालोपत्रे गर्नेछु । आधुनिक र प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर नगरपालिका भित्रै मिलाउनेछु । महिला शसक्तिकरणको लागि सीपमूलक तालिम प्रदान गरी व्यवसाय संचालन गर्न प्रोत्साहन गर्नेछु। मलाई भोट हालेर विजयी गराउनुभयो भने भीरकोटबासी जनताले भीरकोटको भौतिक, सामाजिक र आर्थिक क्षेत्रमा अनुभूति गर्न लायक सकारात्मक परिवर्तनहरू पाउनुहुनेछ।
३) यो चुनावमा तपाईंले जित्ने आधारहरू के के हुन?
चुनावमा मैले जित्ने आधारहरू धेरै छ्न् । प्रथमतः म जनताको विश्वास जितेको पार्टीको उम्मेदवार हुँ। भीरकोटमा नेपाली काँग्रेसको जनमत सर्वाधिक छ। जनताको मन जितेको नेपाली काँग्रेस जस्तो गरिमामय पार्टीको राजनीति गर्ने स्वच्छ, इमानदार र निर्भिक व्यक्ती भएको हुँदा यो चुनावमा अवश्य पनि विजयी हुन्छु। यसका साथै भीरकोटका विभिन्न सामाजिक संघसंस्था आवद्ध हुँदै विगतमा जनप्रतिनिधि (साविक दहथुम गा.वि.स. को अध्यक्ष) समेत भएर जनताको सेवा गरिरहेको हुँदा मेरो जीत सुनिश्चित छ।
४) चुनाव प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहितालाई कत्तिको ख्याल गर्नुभएको छ?
चुनावी माहोल सृजना गर्ने क्रममा जानेर नजानेर केही कमीकमजोरी भएका हुन सक्छन् । तर म जिम्मेवार पार्टीको एक इमानदार र अनुशासित व्यक्ति भएको हुँदा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
५) यदि तपाईं निर्वाचित हुनुभयो भने भीरकोटको विकास र समृद्धिको लागि पाँच वर्षमा गर्ने ५ वटा मुख्य कामहरू के के हुन?
म निर्वाचित भएपछि आँधीखोलाको व्यवस्थित तटबन्धन गर्नेछु। मुख्य ग्रामीण सडकहरूको कालोपत्रे गर्नेछु। भीरकोटलाई कृषिमा आत्मनिर्भर बनाउँदै रोजगारीका नयाँ अवसरहरू पनि सृजना गर्नेछु । महिला शसक्तिकरणको लागि आधुनिक सिपमूलक तालिमको व्यवस्था गर्नेछु।