शिक्षक संगठनद्वारा क्यालेन्डर विमोचन एवं शैक्षिक अन्तरक्रिया 

बैशाख ३०, २०८१


नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समिती, पुतलीबजारले क्यालेन्डर विमोचन, शैक्षिक अन्तरक्रिया एवं  सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मदन आश्रित भवन, स्याङ्जामा  आयोजित कार्यक्रममा संगठनद्वारा प्रकाशित नयाँ वर्ष २०८१ को क्यालेन्डर विमोचन र समसामयिक शैक्षिक विषयमा अन्तरक्रिया समेत गरिएको थियो। कार्यक्रममा   गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दास एवं  नवनियुक्त प्रधानाध्यापक र बढुवा शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दासले शिक्षा क्षेत्रको विकासमा शिक्षकहरूको   योगदान महत्त्वपूर्ण रहेको कुरा व्यक्त गरिन्। नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका इन्चार्ज यम बहादुर कुँवरले गौरवमय विगत भएको शिक्षक  संगठन शिक्षकहरुको हितमा समर्पित  रहेको बताउँदै शिक्षकहरूले शैक्षिक गुणस्तर अभिवृद्धिमा तनमनले लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सिमा कुमारी क्षेत्री, राष्ट्रिय परिषद् सदस्य नारायण प्रसाद मरासिनी, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरे(पारस), नगर अध्यक्ष भरत गोदार, संगठनका पूर्व सचिव बलराम दोरङ्गा, सचिव हिरा गाहा लगायतकाले मन्तव्य राखेका थिए ।

यसैगरी, कार्यक्रममा प्रधानाध्यापक पदमा नियुक्त भएका बलराम दोरङ्गा र सोम बहादुर रानालाई सम्मान गरिएको थियो। साथै शिक्षण पेशामा रहेर बढुवा भएका शिक्षक गङ्गाराम पौडेल, ईश्वरी वाग्ले, मोतीप्रसाद अधिकारी र टिकाराम ढकाललाई सम्मान गरिएको संगठनका नगर अध्यक्ष बि.पि. पोख्रेलले जानकारी दिए ।