राजनीतिको दहमा दहथुम बहुमुखी क्याम्पस
![](https://smartakhabar.com/wp-content/uploads/2023/09/received_250026294111750-1024x768.jpeg)
स्मार्ट संवाददाता , स्याङ्जा
२१ भाद्र २०८०
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/new-palika-jingle-rgb-1.jpg)
![](https://smartakhabar.com/wp-content/uploads/2023/06/ad-janahit.jpg)
![](https://smartakhabar.com/wp-content/uploads/2024/06/janahit_dengue-1.jpg)
राजनीतिक भागवण्डा र वेवस्ताका कारण स्याङ्जाको भीरकोट नगरपालिकामा रहेको दहथुम बहुमुखी क्याम्पसको अवस्था दयनीय हुन पुगेको छ। नाम बहुमुखी भएपनि आधिकारिक रूप शिक्षा संकायको मात्रै पढाइ हुने यो क्याम्पसमा शिक्षा संकायमा ६० जना विद्यार्थी अध्ययनरत छ्न्। बि.बि.एस. को पनि पढाइ त हुन्छ, ३० जना विद्यार्थी पनि छन् । तर सम्बन्धन नभएकाले परीक्षा भने अन्यत्रकै क्याम्पसबाट दिनुपर्ने बाध्यता रहि आएको छ। औपचारिक अनौपचारिक विद्यार्थीको संख्या ९० भएपनि करिब २० जना विद्यार्थी मात्रै नियमित क्याम्पस आउने गरेका छ्न्।
क्याम्पसको संचालक समितिमा प्रमुख ठानिएका राजनीतिक दलका नेता कार्यकर्ताको वर्चस्व छ तर पालिकाको सान रहने गरि क्याम्पस बनाउनुपर्छ भन्ने मान्यता बोकेको एउटा पात्र पनि नभएको जानकारहरू बताउँछन् । संचालक समितिको अध्यक्षमा पिताम्बर श्रेष्ठ, उपाध्यक्षमा विश्वनाथ अर्याल, नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, नगर उपप्रमुख भगवती रेग्मी अर्याल,वडा नं २ का अध्यक्ष श्यामकाजी अधिकारी, प्रकाशमानसिंह थापा, जगन्नाथ अर्याल, हर्क बहादुर गुरूङ लगायतका मुलतः राजनीतिक पृष्ठभुमिका व्यक्तिहरूको बाहुल्यता रहेको छ। क्याम्पसको प्राङ्गणको अवस्थाबाट नै क्याम्पसको शैक्षिक र व्यवस्थापकीय अवस्था छर्लङ्ग हुन्छ।क्याम्पसको प्राङ्गण न समथर छ न तारबार छ ।२०६६ सालमा स्थापना भएको क्याम्पसले क्याम्पसको नाम प्रष्ट देखिने गरि एउटा बोर्ड पनि राख्न सकेको छैन। न त क्याम्पसले वार्षिकोत्सब मनाउँछ न त विद्यार्थीहरू क्याम्पस पोशाकमा क्याम्पस आउँछ। अनौपचारिक शिक्षालय जस्तो देखिने क्याम्पसलाई स्याङ्जाको अब्बल क्याम्पस बनाउन न व्यवस्थापन लागि परेको छ नत स्थानीय सरकार नै। स्नातक प्रथम वर्षमा निशुल्क भर्नाको विज्ञापन गरिएको भएपनि विद्यार्थीको आकर्षण भने फिटिक्कै बढेको छैन।
![](https://smartakhabar.com/wp-content/uploads/2023/03/wlink_ad.gif)
क्याम्पसको संचालनार्थ २०६८ सालमा गरिएको महायज्ञको रकम क्याम्पस संचालक र व्यवस्थापन समितिले अहिले सम्म उठाउन सकेको छैन। क्याम्पस प्रशासनका अनुसार करिब आधा करोड रकम उठ्न बांँकी नै छ। महायज्ञ उद्घाटन गर्न आएका प्रमुख अतिथी उमेश श्रेष्ठले उधारो दान गरेको १२ वर्ष भैसक्यो। देशको स्वास्थ्य राज्यमन्त्री भैसक्दा समेत उनले आफूले कबोल गरेको दान रकम क्याम्पसलाई दिएका छैनन् । एमालेका सचिव एवं पूर्व मन्त्री पद्मा अर्याल र मेडिकल व्यवसायी एवं नेपाली काँग्रेसका नेता खुमा अर्यालले पनि उधारो दान रकम भुक्तानी गर्न बाँकी नै छ। दहथुम माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक तोयनाथ कोइराला लगायतका शिक्षकहरूले १२ वर्षसम्म दान रकम तिरेका छैनन् । भीरकोटकै बालोज्योती मा.वि., भू.पू. सैनिक मा.वि. जस्ता महत्त्वपूर्ण शैक्षिक संस्थाले पनि दान रकम तिरेका छैनन् । उधारो दान नतिर्नेहरूमा समाजका लब्धप्रतिष्ठित सामाजिक, राजनीतिक र शैक्षिक व्यक्तित्वहरूको सूचीमा करिब ८० जना छन्। ८० जनाबाट ४७ लाख ३९ हजार ३ सय १० रूपैयाँ उठ्न बाँकी छ।मानसम्मान लिएर उधारो दान दिएर खोलो फर्कने बेलासम्म दान रकम नतिर्ने व्यक्तिहरूसँग लाज पनि लजाउने बेला भैसकेको छ।
यहि भाद्र २२ गते शुक्रबार क्याम्पसको साधारणसभा तथा अधिवेशन हुँदैछ । संचालक समितिमा तिनै असफल राजनीतिक नेतृत्व कर्मकाण्डी रूपमा निर्वाचित भएर आउनेछ्न्। तर विद्यार्थी आकर्षण गर्नेगरी स्याङ्जाको स्थापित क्याम्पस बनाउन १५ वर्ष सम्म केही नगरेका झुटको राजनीति गर्ने राजनीतिक व्यक्तिहरूले अब केही गरिहाल्छ्न भन्न सकिने अवस्था भने छैन। २० जना विद्यार्थी आफ्नै खुशीले आउँदासम्म को अध्यक्ष हुने र संचालक समितिमा को को बस्ने भन्ने कुरा नै उनीहरूका लागि प्रधान हुने प्रष्ट छ।
![](https://smartakhabar.com/wp-content/uploads/2024/05/smart_link_80081.gif)
स्थानीय निकाय हुनको लागि पनि कम्तिमा एउटा क्याम्पस हुनु अनिवार्य छ। दहथुम बहुमुखी क्याम्पसमा १० कोठे पक्की भवन छ। शान्त वातावरण छ । १४ जना प्रध्यापकहरू पनि छन् तर क्याम्पस प्रमुख नेत्रनारायण रेग्मी,लेखापाल कृष्ण बहादुर अधिकारी र कार्यालय सहयोगी बाहेक अरू कोही पनि पूर्णकालिन प्राध्यापक / कर्मचारी छैनन् । न त क्याम्पसको बृहत् हितका लागि खटेर काम गर्ने संचालक समिती छ न त प्राध्यापकहरू नै। सबै पद र जागिरका लागि क्याम्पसमा जोडिएका व्यक्तिबाट न शैक्षिक गुणस्तर वृद्धिको आस गर्न सकिन्छ न त क्याम्पसको सुदृढ भविष्यको। खोक्रो भाषण र राजनीतिको दहमा फसेको क्याम्पसलाई स्थापित शैक्षिक धरोहर बनाउन अब सरोकारवाला सबै लाग्नुपर्ने बेला भएको छ ।