पर्यापर्यटनका ( इकोटुरिजम) लागि होमस्टे संचालकलाई तालिम

मङि्सर १९, २०७९


स्मार्ट संवाददाता ,१९ मंसिर २०७९

विज्ञापन
बिज्ञापन

स्याङ्जाको भीरकोट नगरपालिकामा पर्यापर्यटनको प्रबर्द्धन गर्न होमस्टे संचालकहरूलाई अतिथी सत्कार तथा भान्सा व्यवस्थापन तालिम प्रदान गरिएको छ।नगरपालिका र युएनडिपीको आर्थिक सहयोग तथा अन्धाअन्धी सामुदायिक केन्द्रको व्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत १८ जना होमस्टे संचालक र पर्यटन व्यवसायीहरूलाई तालिम प्रदान गरिएको हो। बिहिबार देखि ओकादी होमस्टेमा सुरू भएको तालिम ५ दिन सम्म संचालन भएको परियोजना प्रमुख रेग्मीले बताउनुभयो।रैथाने उत्पादनको प्रयोग गरि इकोटुरिजमको विकास गर्न र आन्तरिक उत्पादनको प्रयोगलाई बढवा दिन तालीम संचालन गरिएको हो।

पाकशास्त्री सन्दिप कुमार केसी र निधिका सुनारले प्रशिक्षण दिनुभएको तालिममा खिलुङ, ओकादी र केघा गरि तीन वटा होमस्टे बाट ५ जनाका दरले १५, परम्परागत खाजा घर १ जना, आधुनिक क्याफे २ जना गरि १८ जनाको सहभागिता रहेको थियो।तालिममा स्थानीय रूपमा उपलब्ध कोदो, मकै, भटमास, इसकुस, फापर लगायतका रथाने बालीका उत्पादन बाट बनाउन सकिने परिकार बनाउन सिकाइएको थियो । होमस्टेको मेनुमा सिकाइएका परिकारलाई अनिवार्य रूपमा समावेश गरिने बताइएको छ।प्रशिक्षक के.सी का अनुसार कोदोको चटामरी, इसकुसको कवाफ,करेसो आलुको तरूवा, ग्रेभी , भटमासको दुधको चिया, होममेड कनफेलेक्स, भरूवा रोटी, सयत्री फुल र फर्सीको केचप , सुन्तला झानेको साँधेको, रैथाने बालीको मम, चिप्स, सयपत्री फुलको हलुवा, हाते नुडल्स लगायतका परिकार बनाउन सिकाइएको थियो।

सोमबार भएको तालिम समापन समारोहमा बोल्दै नगरप्रमुख गोबिन्द कुमार कर्माचार्यले तालिममा सिकेका पाककलालाई व्यवहारमा प्रयोग गरि आयआर्जन वृद्धि गर्न सहभागीहरूलाई आग्रह गर्नुभएको थियो। पर्यटनको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउँदै उहाँले पर्यटकीय क्षेत्रमा सडक पूर्वाधारको विकासका लागि समेत नगरपालिकाले काम गरिरहेको बताउनुभयो।समापन समारोहमा वडा अध्यक्षहरू श्यामकाजी अधिकारी, नन्दलाल खनाल, तारा प्रसाद अर्याल, सहभागी मनमाया गुरुङ , दान बहादुर गुरूङ, प्रशिक्षक सन्दिप कुमार के.सी. ले तालिमको आवश्यकता, महत्त्व र उपयोगिताको बारेमा मन्तव्य दिनुभएको थियो।भीरकोटमा युएनडिपीको १ करोड र नगरपालिकाको २ करोड लगानीमा परियोजना संचालन भैरहेको छ।