खै दीगो विकास?
आश्विन १९, भीरकोट खबर डेस्क,
भीरकोट नगरपालिकाको मुख्य बजार बयरघारीका बासीन्दालाई व्यवस्थित खानेपानी सुविधा प्रदान गर्ने उद्देश्यले संचालित बयरघारी सरसफाइ तथा खानेपानी आयोजना दीगो विकासको मर्म र भावना विपरीत संचालन भैरहेको छ।भीरकोट नगरपालिकाको वडा नं १,२ र ४ का करिब १००० घरधुरीका ५००० बासिन्दालाई व्यवस्थित खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य राखेको खानेपानी योजनाको बजार क्षेत्रमा वितरण प्रणालीको कार्य भैरहेको छ। पाइप लाइन पुर्नको लागि सिद्धार्थ राजमार्ग र बजार क्षेत्रका पक्की सडक /सडक पेटी धमाधम भत्काइएको छ। यसै पनि मूल सडकमा खाल्डाखुल्डी अनगिन्ती छ्न्। त्यस माथि खानेपानी आयोजनाले सडक मार्गको दायाँबायाँ दुबैतिर पाइपलाइन पुर्न निरन्तर खनिरहेको छ।
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्माण तथा उपयोग लगभग अन्तिम चरणमा छ। अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भैसकेपछि सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा लेन विस्तारको काम हुने निश्चित नै छ। सडक विस्तार र स्तरोन्नति हुँदा अहिले निर्माण गरिएको खानेपानी योजनाको बजार क्षेत्रको मुख्य वितरण प्रणाली ध्वस्त हुने निश्चित छ। यसैगरी सहायक मार्गको पाइपलाइन मर्मत गर्न पनि पक्की सडक पटकपटक भत्काउनु पर्ने बाध्यता कायमै रहने छ। तथापि यो विषयमा स्थानीय सरकार र सरोकारवाला निकाय मौन छ्न्।खानेपानी योजनाको काम धमाधम भैरहेको छ।
खानेपानी योजना सम्पन्न गर्नकै लागि दीगो विकास मर्म र भावना विपरीत काम भैरहेको छ। कूल नौ करोड ९९ लाख ५४ हजार ५२६ लागतमा निर्माण हुने खानेपानी योजनामा नेपाल सरकारको सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको एक करोड र बाँँकी रकम श्रमदान स्वरुप भीरकोट नगरपालिकाको लागत सहभागितामा रहेको बुझिएको छ।