स्थानीय तह निर्वाचनको परिणाम र जनअपेक्षा

जेठ १०, २०७९


ढाकाराम खनाल
१० वैशाख २०७९

स्थानीय तह निर्वाचन २०७९ को परिणाम केलाउँदा राजनीतिक दलहरुले कसैलाई उमेदवार बनाउँदैमा खुरुखुरु मत हाल्ने विगतको परम्परालाई मतदाताहरुले केही हद सम्म तोडेको जस्तो देखिन्छ । नेपालका राजनीतिक दलहरुले राजनीतिक विचारधारा र जनअपेक्षा अनुसार काम नगर्नाले आज राज्य संचालनका मूल शक्ति भनिएकाहरु भन्दा स्वतन्त्र व्यक्तिहरुप्रति जनताको आकर्षण बढ्दै गएको देखिन्छ । जसको उदाहरणमा राजधानीबासीको वितृष्णाको परिणाम जन्मेका स्वतन्त्र उमेदवार वालेन शाह, धनगढिका गोपाल हमाल, धरानका हर्क साम्पाङ्गलाई लिन सकिन्छ । यसले के देखाउंँछ भने पब्लिक अडिटको रहेछ । सामाजिक संजालको व्यापकताले गर्दा अनि दलका नेता तथा कार्यकर्ता दलीय अनुशासनमा रही दलका आफ्ना विचारधारा अनुसार काम नगर्नाले र उमेदवारको राम्रो नराम्रो तुरुन्तै थाहा पाउने भएर पनि होला अधिकांश ठाउंँमा पुराना अनुहारको हार र नयांँको जीत देखियो । लोकतन्त्रमा त महङ्गी, गरिबी बेरोजगारी, दु:ख सबै हट्छ, भ्रष्ट्राचारको अन्त्य हुन्छ, शुसासनको प्रत्याभूति हुन्छ भन्ने थियो तर यतिका समयमा पनि उपलब्धि शून्य देखियो । त्यसैले होला जनताले चुनाव मार्फत देशको राजनीतिक स्वास्थ्य जांँच्ने परिपाटिको थालनी गरे जस्तो लाग्यो ।

आदरणीय जनप्रतिनिधिहरु तपाईंहरुले राज्यले दिएको सबै सेवा सुविधाहरु लिनु होस् तर हामी जनतालाई सुशासन दिने र भ्रष्ट्राचारको अन्त्य गर्ने आंँट गर्नुहोस् । सेवा सुविधा लिन्न भन्ने तर आंँफुले पनि नीतिगत भ्रष्ट्राचार गर्न नछोड्ने र अरुलाई रोक्न समेत आंँट नगर्ने परिपाटीले पनि आदर्श समृद्धिको व्यवहार मुलुक डुबाउने भैरहेको छ । तपाईंहरुले पालिकावासी र यहांँका संघसंस्थाहरुलाई अनुरोध गर्नुहोस र भन्नुहोसकी अति आवश्यक काम बाहेक उद्घाटन, सभा, समारोह, स्वागत, सम्मान कार्यक्रम आदिमा हामीलाई नअल्झाइ दिनुहोस् । जनताको काम गर्ने वातावरण बनाईदिनुहोस् । जनताका सामु उत्पादन, रोजगार र विकासका ठोस योजनाहरु लिएर जाने कुराको प्रतिबद्धता व्यक्त गर्नुहोस् । नेता तथा कार्यकर्ताहरुलाई मञ्चभोगी, भाषणमा मात्र सिमित हुन नदिनुहोस्।

जनप्रतिनिधिहरूले प्रतिज्ञा गर्नुहोस्, ” महोत्सव, चाडपर्व, बढाई, खुसीयाली, भोज भतेर, यज्ञ र महायज्ञ गरिरहनेहरु संँग रमाईरहनु भन्दा भोकाजनहरुका गनगन र भनाभन, रोगीजनहरुका वेदना र क्रन्दन, अकाल कालग्रस्त तन्नमहरुका आर्तनाद र चित्कारलाई केलाउने छौं । संयोजनकारी भूमिकामा रहने छौं । आफ्नो ठाउंँ बनाउन नीति बनाउने छौं, थीति बसाल्ने छौं । माला, ब्याच, खादा र खाजा मा रमाउने छैनौं र यसमा लाग्ने खर्च पालिकाका अति विपन्न वर्गलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सनको लागी खर्चिने छौं ।”



नीति बनाउनुस, थीति बसाल्नुस । सक्नुहुन्छ भने जग्गा र घर समेत नहुने अति विपन्न परिवारलाई पहिचान गरी उनीहरुलाई एकिकृत बस्ति मार्फत आवासको व्यवस्थाको शुरुवात गर्नुहोस । किसानलाई विभिन्न सेक्टरमा वर्गिकरण गरी किसान कार्डको व्यवस्था गर्नुहोस । भुमिहिन कृषकलाई भुमिसहित, अन्यलाई तालिम, अनुदान, बिउ बिजन, कृषि औजार उपलब्ध गराउनु होस । आ–आफ्नो पालिकामा कृषि औजार कारखाना, कृषि औजार लाईब्रेरीको व्यवस्था गर्नुहोस ।

आफ्ना नागरिकहरुलाई तोकिएको मापदण्ड पुरा हुने गरी न्यूनतम स्वास्थ्य बीमाको व्यवस्था गर्नुहोस् ।वृद्ध तथा अशक्तहरुलाई घर घरमा नियमित स्वास्थ्य जांँच गराउने व्यवस्था मिलाउनुहोस् ।अति विपन्न वर्ग र असाहय अनि जेष्ठ नागरिकको लागी क्लोथ बैंकको स्थापना गर्नुहोस । गर्भवति एवं सुत्केरी महिलाहरुको लागी अण्डा वितरण गर्नु भन्दा कुखुराका चल्ला वितरण गरौं ताकी उनीहरुको आय आर्जन पनि होस सुत्केरी अवस्थामा मासु अण्डा पनि पाउन।

ग्रामीण सडकहरू निर्माण गर्दै गर्दा सके सम्म कच्चि भए पनि नालि सहितको बाटो बनाउने गरौं, नसके बिचबिचबाट पानी कटाउने व्यवस्था गरौं। यसको लागी हरेक टोल विकास समितिलाई सक्रिय बनाउँ। बेरोजगार युवाहरुलाई टोल विकास समिति मार्फत डाटा संकलन गरी स्वरोजगार कार्यक्रममा सहभागी गराउँ। प्रणाली जोगाउने नाममा चुनावमा होमिएका दलहरुले काठमाण्डौं, धरान ,धनगढी या कहिँबाट पनि जितेका स्वतन्त्र उमेदवारहरुलाई आत्मसात गर्नुहोस्। कसरी काम गर्लान ? जस्ता प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुहोस् । याद रहोस् तपाईहरुको अरुलाई गर्ने व्यवहार मूलुकको सिङ्गो प्रणाली संँग जोडिएको हुन्छ । राम्रो व्यवहारले राजनीतिक दलका विचारधारा अनुसार जनता हिड्न सक्ने वातावरण बनोस् । प्रमूख राजनीतिक दलहरुले जनअपेक्षा अनुरुप काम गर्न नसक्दा आम मतदाताहरुको रोजाई गैरराजनीतिक व्यक्ति माथि परेको छ । यो दलहरुका लागी सच्चिने मौका पनि हो । यदि दलहरु सच्चिएनन भने यसले सिस्टमलाई नै धरासायी बनाउन सक्छ । दलहरु बेलैमा सच्चिन जरुरी छ । समृद्ध नेपालको सपना साकार पार्न हामी सबै मिलेर लाग्नु पर्ने देखिन्छ ।