गठबन्धनको सपना पूरा हुँदैन: नेतृ अर्याल
१८ चैत्र २०७८, स्याङ्जा : नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री पद्मा कुमारी अर्यालले पाँच दलीय गठबन्धनले एमालेलाई घेराबन्दीमा पार्ने कोसिस गरिरहेको भएपनि त्यसलाई तोडेर अगाडी बढ्न पार्टी सक्षम भएकाले गठबन्धनको सपना पुरा नहुने बताउनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले भीरकोट नगरकमिटीद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ अर्यालले सो कुरा बताउनुभएको हो। चुनाव लक्षित कार्यकर्ता प्रशिक्षणको अवसर पारेर भीरकोट कांग्रेसका युवाहरू एमालेमा प्रवेश गरेका छन् ।
आँधीखोला सिटी हलमा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसमा आवद्ध युवा मोहमद इक्वाल मिया “टाइगर” सहित झण्डै १ सय ५० जना युवाहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो। प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले युवाहरुलाई एमालेमा स्वागत गर्नुभएको थियो ।
नेकपा एमालेले देश व्यापी रुपमा सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा एमाले प्रवेश गर्नेहरुको लहर नै चलेका बेला स्याङ्जामा पनि विभिन्न पालिकाहरुमा भएका कार्यक्रमहरुमा अन्य दल परित्याग गरेर एमाले प्रवेश गर्ने क्रम दिनप्रतिदिन बढ्दै गएको छ ।
एमाले सचिव अर्यालले युवा शक्तिले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने भन्दै एमालेलाई अब कसैले रोक्न नसक्ने बताउनुभयो । नेकपा एमालेको विजय सुनिश्चित रहेको बताउदै कार्यकर्ताहरूलाई उत्साहका साथ एक ढिक्का भएर पार्टीको चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो ।