बालमैत्री शासन र मेरो अनुभव

बैशाख ०४, २०८०


४ वैशाख २०८०

‘बालबालिकाहरू संसारको बहुमूल्य सम्पत्ति र भविष्यका लागि उत्तम आशा हुन्।’ तथ्यलाई हेर्दा सङ्घीयतापछि नेपालमा बालमैत्री शासनको प्रवृत्ति र महत्व क्रमशः बढ्दै गएको छ । बालमैत्री स्थानीय शासनमा बालबालिकालाई स्थानीय सरकारमा सहभागी हुने अधिकार हुन्छ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि यस प्रकारको शासन योजना बनाइएको हो । भीरकोट नगरपालिकाले पनि बालमैत्री शासन अवलम्बन गरेको भए पनि सो व्यवस्थाको कमजोर कार्यान्वयनले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र आत्मिक विकासमा गम्भीर असर परेको छ ।

भीरकोट ६ सुन्दरबजारमा रहेको बालमैत्री सूचना सहितको फ्लेक्स बोर्ड

बालमैत्री शासन घोषणा गर्ने प्रावधानमा पूर्ण तथा आंशिक उपलब्धि हासिल गरेका कारण २०७७ फागुन २२ गते भीरकोट नगरपालिकालाई बालमैत्री स्थानीय सरकार घोषणा गरिएको थियो । घोषणा हुनुभन्दा अघि अभियानका दौरान बालमैत्री गतिविधि व्यापक रूपमा संचालन गरिएको थियो। तर, वर्तमान स्थानीय सरकारको स्थानीय शासन व्यवस्थाको सकारात्मक प्रभाव भीरकोट नगरपालिकाका बालबालिकाले अनुभव गर्न सकेका छैनन् ।

वडा नं ५ बाँझाबारीमा रहेर बालमैत्री पार्क अलपत्र अवस्थामा

बालअधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले बजेटको १५ प्रतिशत विनियोजन गर्नुपर्ने व्यवस्था छ ।तर, भीरकोटमा यो यो व्यवस्था कार्यान्वयन भएको छैन । बालबालिकाको विकासका लागि छुट्याइएको बजेटको सही सदुपयोग हुन नसकेको आभास बालबालिकाले गरेका छ्न्। “बालबालिकाका लागि छुट्याएको बजेट स्थानीय सरकारले कहाँ खर्च गर्छ ? स्थानीय सरकारबाट बालबालिकाले कुनै विशेष आधारभूत सुविधा पाउँछन् ? स्थानीय सरकारले बालबालिकाको व्यक्तित्व विकासका लागि कुनै कार्यक्रम ल्याएको छ ? साँच्चिकै बालमैत्री स्थानीय शासन भनेको के हो?” आदि भीरकोट नगरपालिकाका हरेक बालबालिकाको मनमा उठ्ने प्रश्न हुन् ।

बालमैत्री स्थानीय शासन र बाल अधिकारसँग सम्बन्धित फ्लेक्स बोर्ड र पूर्वाधारहरू उपयुक्त र उपयोगी अवस्थामा छैनन्। बालबालिकाका लागि बनाइएका पार्कको उचित व्यवस्थापन हुन सकेको छैन । बालबालिकाको विचार र सुझावलाई समाजमा सम्बोधन गरिएको छैन अर्थात् बालबालिकालाई समाजमा त्यति महत्त्व दिइएको पाइँदैन। बालमैत्री वातावरण कायम गर्न स्थानीय सरकारले गरेका प्रयासहरू पर्याप्त छैनन्। मेरो अनुभवमा स्थानीय तहमा योजना तर्जुमा र नीति निर्माणमा बालबालिकाको दृष्टिकोण समावेश गरिएको छैन्।

विज्ञापन


‘स्थानीय विकासमा बालबालिकाको संलग्नता’ को विषयमा स्थानीय सरकार अन्धो र बहिररो बनेको देखिन्छ ।
स्थानीय सरकारले बालबालिकालाई सामाजिक कार्यमा अगुवाइ गर्नुपर्छ । बालबालिकाहरू सामाजिक विकृति, बालश्रम, उत्पीडन र घरेलु हिंसाको सिकार भइरहेका छन् वा छैनन्, त्यसको नियमित निरीक्षण गरिनुपर्छ। बालबालिकाको निम्ति भयरहित , सुरक्षित र शान्त वातावरण कायम राख्नका लागि अभिभावकहरू पनि जिम्मेवार हुन्छन्। स्थानीय सरकारले बालबालिकाको उत्थानका लागि नयाँ योजना र नीति ल्याए पनि कागजी काम गर्ने प्रवृत्तिले योजना र नीति कार्यान्वयनमा समस्या भएको छ ।

बिज्ञापन

बालमैत्री गतिविधि बाल दिवस र बालमैत्री घोषणा दिवसको अवसरमा मात्र होइन , हरेक समयमा बालबालिकाले अनुभूति गर्ने गरी संचालन गरिनुपर्छ ।बालमैत्री वातावरण बनाउन आमा समूह, युवा क्लब र स्थानीय प्रतिनिधिहरूको ठूलो भूमिका हुन्छ। उनीहरूले बालबालिकालाई आफ्नो अधिकार र दायित्वबारे सचेत गराउनुपर्छ। स्थानीय सरकारले बालबालिकाको शैक्षिक र व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापहरू गतिविधिहरू सञ्चालन गरिरहेको छ तर त्यी प्रर्याप्त र अनुभुति गर्न सकिने खालका छैनन् । पर्याप्त बालमैत्री गतिविधिका साथै सीपमा आधारित र व्यवहारिक ज्ञानलाई स्थानीय सरकारले उच्च प्राथमिकता दिनुपर्छ ।

मलाई आशा छ कि सम्बन्धित अधिकारी र आम जनताले बालमैत्री शासनको मुद्दालाई ध्यानमा राख्नेछ र यसलाई प्रभावकारी बनाउन उपयुक्त कदम खोज्नेछ।

 

(लेखक वडा नं ६ का बाल संजालका अध्यक्ष समेत हुन्।)