छाँयाक्षेत्र मन्दिर : एक पवित्र शिवधाम

माघ ०८, २०८०


८ माघ २०८०, सोमबार

No photo description available.छाँयाक्षेत्र धाम नेपालको पवित्र तीर्थस्थलमध्ये एक हो । यो स्थान गण्डकी प्रदेशअर्न्तरत स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं. ४ मा अवस्थित छ । यो धाम सिद्धार्थ राजमार्गको स्याङ्जा बजारबाट २१ किलोमिटर दक्षिणपश्चिम तथा वालिङ बजारबाट ५ किलोमिटर उत्तरपूर्वमा रहेको छ ।

छाडछाड्दी दक्षिणपश्चिम फर्किएको भिरालो पाखामा अवस्थित छ । सिद्धार्थ राजमार्गको आडैमा विशाल द्वार निर्माण गरिएको छ । त्यहाँ गौमुखे धाराहरू, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता, राधाकृष्ण र गणेशका मन्दिरहरू निर्माण गरिएका छन् । मन्दिर परिसरमै १०८ वटा पिपलका बोटहरू लगाइएका छन् । विशाल पहराको तल ओडारभित्रबाट छङ्छङ् गर्दै मुहानबाट अविरल जल प्रस्फुटित भइरहेको दृश्यले मनलाई तरङ्गित बनाउँछ । यहाँको प्राकृतिक शिलामा गौथुनहरू, गणेशका मूर्तिहरू र नागहरूका आकृतिहरू देखिन्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा यहाँको गुफा भित्र भगवान् शिव विभिन्न स्वरूपहरूमा विराजमान भएको र आफूले साक्षात्कार गरेको भक्तजनहरू बताउँछन् ।

स्थानीय स्तरमा छाङ्छाङ्दीका नामले   परिचित यो  शिवधाम नेपालकै प्रसिद्ध धार्मिक क्षेत्र अन्तर्गत पर्दछ । यहाँको सबैभन्दा ठुलो मेला महाशिवरात्री हो । यस दिन स्वदेश र विदेशका हजारौं श्रद्धालु दर्शनार्थीहरूको भिड लाग्दछ । मानिसहरू भगवान् शिवको पूजाआराधना गर्छन् । यसरी पूजा गर्दा उनीहरू आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वास गर्छन् ।

श्री स्वस्थानी व्रत कथामा सतीदेवीको मृत्यु भएपछि विह्वल भएका शिवजीले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वीको परिक्रमा गर्दा शरीर गली झर्ने क्रममा बाँकी रहेको अवशेष छाँयाक्षेत्र धाममा पतन भएको भन्ने वर्णन पाइन्छ ।

यो स्थानमा आएर आफूले आँटेको कुरा भाकल गरेमा भगवान् शिवले पूरा गरिदिने जनविश्वास छ । यसैका कारण तीर्थालुहरू महाशिवरात्रीमा यहाँ आएर व्रत बसी आत्मैदेखि आफूलाई भगवान् शिवप्रति समर्पित गर्दछन् । महाशिवरात्री प्रायः फागुन महिनामा पर्दछ ।

दैनिक पूजाआराधनाबाहेक यहाँ हरेक महिनाजसो मेला लाग्दछ । यहाँ वैशाखेसङ्क्रान्तिका दिन धूमधामसँग पूजाआजा गरिन्छ । यो दिन विक्रम संवतको नयाँ वर्षको आरम्भ हुने दिन पनि हो । यसैगरी वैशाख महिनामै पर्ने मातातीर्थ औंसीका दिन विशेषगरी आफ्ना दिवङ्गत मातापिताको स्मरणमा सन्तानहरूले यहाँ  भगवान् शिवलाई पूजा गर्दछन् । प्रायः असार महिनामा पर्ने हरिशयनी एकादशीका दिन श्रद्धालुहरू आएर भगवान् शिवप्रति आफ्नो आस्था प्रकट गर्दछन्

साउन महिना आरम्भ भएपछि छाँयाक्षेत्रमामा थप रौनकता बढ्दै जान्छ । साउनलाई भगवान् शिवको पवित्र महिना मानिन्छ । साउने सङ्क्रान्तिका दिनबाटै यहाँ हजारौं भक्तहरू पूजाका निम्ति आउँछन् । यस महिनाका हरेक सोमबारका दिनलाई विशेष मानिन्छ । कुनै वर्षहरूमा पाँचओटासम्म सोमबारहरू पर्दछन् । साउनका यी सोमबारका दिनहरूमा मानिसहरू व्रत बस्नुका साथै १०८ पिपलमा जलधारा गर्दै स्नान गरी आफूलाई पवित्र, शान्त र सद्गुणी अनुभव गर्दछन् ।

भदौ महिनामा पर्ने कृष्णजन्माष्टमीका दिन यहाँ मेला लाग्दछ । यहाँको मन्दिर परिसरमा अवस्थित राधाकृष्णको मन्दिरमा घुइँचो लाग्दछ । भदौ महिनामै पर्ने तीजलाई विशेष दिनका

रूपमा लिइन्छ । यो दिन हजारौं सङ्ख्यामा नारीहरू निराहार व्रत बसी आफ्नो आकाङ्क्षा पूरा गर्न यहाँ आउँछन् । धेरैजसो कार्त्तिक महिनामा पर्ने हरिबोधनी एकादशीमा यहाँ भव्य मेला लाग्दछ, यो दिन श्रद्धालु भक्तजनहरूले यहाँ पूजाआजा गर्दछन् ।

विज्ञापन

छाँयाक्षेत्रमामा लाग्ने मेलाहरूमध्ये शिवरात्रिपछिको दोस्रो महत्त्वपूर्ण मेला बालाचतुर्दशी हो । यो धार्मिक उत्सवको दिन प्रायः मङ्सिर महिनामा पर्दछ । यो दिन स्वदेश र विदेशवाट भक्तजनहरूको ओइरो लाग्दछ । आफ्ना पितृहरूको उद्धारका निम्ति सतबीज छर्ने परम्परा रहेको छ । मानिसहरूले यहाँको मन्दिर क्षेत्रभित्र सत्वीज छरी पितृद्धार मोचन गर्दछन् ।

माघ महिनाको पहिलो दिन लाग्ने माघेसङ्क्रान्ति मेला यस धामको अर्को विशेषता हो । यो दिन यहांँ भव्यरूपमा मेला लाग्दछ । टाढा टाढाबाट मानिसहरू आएर भजनकीर्तन, पूजाआजा गर्दछन् ।

छाँयाक्षेत्रमा हरेक एकादशीका दिन श्रद्धालु भक्तजनहरू आएर पूजाआराधना गर्दछन् । यसैगरी ग्रहण लागेको बेला यहाँ आएर नुहाउने, दान गर्ने तथा आफूलाई पवित्र र पुण्य बनाउने चलन छ। विवाह तथा व्रतबन्धजस्ता संस्कारहरू पनि यहाँ गरिन्छन् ।

No photo description available.

छाँयाक्षेत्र एक पवित्र तीर्थस्थल हो, जहाँ भगवान् शिवका अनेक स्वरूपहरूमध्ये शान्त स्वरूप विराजमान भएको विश्वास गरिन्छ । नेपालका धार्मिक क्षेत्रहरूमध्ये यो पनि एउटा मुख्य स्थलका रूपमा पर्दछ ।

(साभार : साभ नेपालको सहजीकरणमा भीरकोट नगरपालिकाले तयार गरेको कक्षा ८ को स्थानीय पाठ्य पुस्तक हाम्रो भीरकोट)