इश्वरको रहर: आधारभूत सुविधासहितको सहर

साउन १७, २०८०


नारायणप्रसाद कोइराला, स्याङ्जा
१७ साउन २०८०, बुधबार

स्थानीय सरकार  संचालन ऐन – २०७४ बमोजिम नगरपालिका हुनका लागि नगरपालिकामा सडक, सडक पेटी, विद्युत, खानेपानी, सञ्चार र लगायतका अन्य  न्यूनतम शहरी सुविधा भएको हुनुपर्दछ l फोहोरमैलाको व्यवस्थापन गर्न  ल्याण्डफिल साइटको उचित प्रबन्ध भएको हुनु पर्दछ l प्रत्येक वडामा पर्याप्त खुल्ला क्षेत्र तथा पार्क, कम्तीमा पच्चीस शैयाको अस्पताल, यात्रु विश्रामस्थल तथा सार्वजनिक शौचालय सहितको बसपार्क, खानेपानी तथा सरसफाईको उचित व्यवस्था, बैङ्क तथा वित्तीय संस्थाको सेवा, सभाहल, खेलमैदान, नगर गुरूयोजना तयार भएको हुनुपर्दछ l तर न्युनतम शहरी सुविधाविना नै संघीयताको कार्यान्वयन र स्थानीय तहको गठन भएका कारण अधिकांश स्थानीय तहमा न्युनतम शहरी सुविधा समेत छैन l

अरू स्थानीय तहका नगर प्रमुखहरूले ठूलाठूला सपना बाँडिरहेका बेला चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (इश्वर) ले भने आधारभूत सुविधा सहितको शहर बनाउन लागि परेको बताएका छन् l स्मार्ट अखबारसँग कुरा गर्दै नगर प्रमुख खाँणले भने, “म ठूलाठूला सपना बाँडेर नागरिकलाई दिगभ्रमित पार्न चाहन्न l मेरो कार्यकालभरी चापाकोटलाई आधारभूत सुविधासहितको शहर बनाउन लागि पर्नेछु l गाउँ र बजारका सबै जनताले स्थानीय सरकारको अनुभूति गर्न पाउने छन् l”

भौगोलिक रुपले सुन्दर  चापाकोट नगरपालिकाको क्षेत्रफल १२०.५९ वर्ग कि. मि. र जनसंख्या २६,०४२ रहेको छ । यस नगरपालिकामा हाल १० वडा रहेका छन् l  चापाकोट नगरपालिकाको पुर्वमा तनहुँ जिल्ला, पश्चिममा गल्याङ नगरपालिका, उत्तरमा हरिनाश गाउँपालिका र विरुवा गाउपालिका  र दक्षिणमा पाल्पा जिल्ला रहेको छ ।

विद्युत, खानेपानी, यातायात, शैक्षिक संघसंस्था र संचारको विकास क्रमिक रुपमा भैरहेको  यस चापाकोट नगरपालिकाको केन्द्र साविक चापाकोट नगरपालिकाको गा.वि.स. केन्द्रमा रहेको छ । विश्वको एकमात्र शालिग्राम पाईने कालिगण्डकी नदि नगरपालिकाको दक्षिणी बाटो भएर बग्दछ उत्तर तर्फ ज्याग्दी खोला कलकल बगेको छ जसमा ज्याग्दीको सभ्यता लुकेको छ।

कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको चापाकोटमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म पालिकामा १७०.३ किलोमिटर  मोटरबाटो निर्माण भैसकेको छ l जसमध्ये  ३३ किलोमिटर पक्कि सडक, ७.३ किमी सडक ढलान सडक र १३० किमी कच्ची सडक रहेको छ l नगर प्रमुख  खाँणले सबै नागरिकले अनुभूति गर्नेगरी सडकहरू पक्कि वा ढलान गरिने बताएका छन् l अन्य सबै पूर्वाधारको पनि पूर्वाधार  सडक भएकाले पालिकाले सडकलाई विशेष प्राथमिकता दिएको र संघ, प्रदेश र स्थानीय तह सबैको सहयोग र समन्वयमा सडकलाई दिगो र व्यवस्थित गर्ने प्रयास भैरहेको खाँणको भनाइ छ l अधिकांश भुभाग तराई जस्तो समथर रहेको यस क्षेत्रमा २ हजार ६ सय ४६ हेक्टर जमिन खेतीयोग्य रहेको छ l जसमध्ये १८९ हेक्टर क्षेत्रफल फलफुल खेतीका लागि योग्य छ l धान, आँप र लिचिको प्रचुर सम्भावना रहेकाले पालिकामा आँप र लिची जोन निर्माण गरी व्यवसायिक फलफूल उत्पादन कार्यलाई प्राथमिकता दिइएको छ l पालिकामा १ हजार २ सय ४३ हेक्टर क्षेत्रफलमा खेतीपाती भैरहेको छ l ७ सय ५७ हेक्टर क्षेत्रफलमा मात्रै सिन्चाइको सुविधा उपलब्ध छ l

८० प्रतिशत नागरिकले खानेपानी र इन्टरनेटको सुविधा पाएका छन् l ९५ प्रतिशत नागरिकले संचारको सुविधा पाएको चापाकोटमा विद्युत सुविधा भने शतप्रतिशत नागरिकले पाएको नगरपालिकाका सूचना अधिकारी विन्दु कोइरालाले जानकारी दिए l

बिज्ञापन


न्युनतम शहरी सुविधा प्रदान गर्न खेलमैदान, बसपार्क र ल्याण्डफिल साइट निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ l बसपार्क निर्माणाधीन  रहेको छ भने ल्याण्डफिल साइट ठेक्का प्रक्रियाबाट प्रथम चरणको काम सम्पन्न भैसकेको छ l नगर विकास योजना निर्माण भैसकेको पालिकामा १६ वटा माध्यामिक, २९ वटा आधारभूत र २ वटा क्याम्पस गरी ४७ वटा शैक्षिक संस्था रहेका छन् l एउटा अस्पताल, ५ वटा स्वास्थ्य चौकी र ५ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेको चापाकोटमा नगर अस्पताल भने छैन् l ३२ वटा सहकारी संस्था रहेको पालिकामा २/२  वटा वाणिज्य बैंक, विकास बैंक र लघुवित्तीय संस्था रहेका छन् l स्मार्ट अखबारसँग कुरा गर्दै नगर प्रमुख खाँणले स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भएबमोजिमका न्युनतम सेवा सुविधाको विस्तार र विकासमा आफ्नो सम्पूर्ण कार्यकाल खर्चिने बताएका छन् l

विज्ञापन