भीरकोटका व्यवसायीलाई कर शिक्षा एवं वित्तीय साक्षरता

पुष १३, २०८०


नारायण प्रसाद कोइराला

१३ पुस २०८०, शुक्रबार

भीरकोटका व्यवसायीहरूलाई कर शिक्षा र वित्तीय साक्षरता प्रदान गरिएको छ। भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा करदाता सेवा कार्यालय स्याङ्जा र गरिमा विकास बैंक सँगको सहकार्यमा कर शिक्षा एवं वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्यालले जानकारी दिए। कार्यक्रममा भीरकोट नगरपालिकाका उद्योगी, व्यवसायी, विद्यालयका लेखापालहरूलाई वित्तीय साक्षरता र कर शिक्षा प्रदान गरिएको हो।

बैंकको तर्फबाट प्रमुख प्रशिक्षक बैंकका जोखिम तथा कानुन विभाग प्रमुख दिपकराज भण्डारीले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षक भण्डारीले देशको विद्यमान आर्थिक परिदृश्य, वैदेशिक व्यापार , बैंक तथा वित्तीय संस्थाका प्रकार ,नेपाल राष्ट्र बैंकका कार्यहरू र वाणिज्य तथा विकास बैंकका सेवा सुविधाका , बैंकिङ कसुरका विषयमा प्रशिक्षण दिएका थिए।

करदाता सेवा कार्यालय पुतलीबजारका कर अधिकृत विजय भुसालले सहभागीहरूलाई कर शिक्षा प्रदान गरेका थिए। उनले विद्यमान कर प्रणाली, करको दायरा, कानुनी जटीलताका विषयमा प्रष्ट पार्दै सहभागिका जिज्ञासाहरूको समाधान गरेका थिए। कर राष्ट्र निर्माणको आधार भएको बताउँदै उनले व्यवसायीलाई समयमा कर तिर्न र बेलाबखत आइपर्ने कर सम्बन्धि समस्याको समाधान गर्न कर कार्यालय प्रतिबद्ध रहेको प्रष्ट पारेका थिए।शुक्रबार पालिकामा कर सहायता कक्ष समेत स्थापना गरिएको कर अधिकृत भुसालले जानकारी दिए।

आँधिखोला सिटीहल , बयरघारीमा आयोजना गरिएको कार्यक्रममा १ सय ५० जना व्यवसायी , सर्वसाधारण र विद्यालयका लेखापालहरूको सहभागिता रहेको थियो।भीरकोट उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा बोल्दै अध्यक्ष जगदिश प्रसाद कोइरालाले उद्योगी व्यवसायीहरूलाई लक्षित गरेर वित्तीय साक्षरता र कर शिक्षा कार्यक्रम संचालन गरिएको प्रष्ट पार्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

वित्तीय साक्षरता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल, क्षेत्रीय प्रमुख लेखनाथ भट्टराई, बयरघारी शाखा प्रमुख अर्विन अर्याल र बयरघारी शाखामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले वित्तीय साक्षरता कार्यक्रम सक्रिय सहभागिता जनाएकोमा भीरकोट उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्य र शिक्षकहरूलाई धन्यवाद एवं आभार व्यक्त गरेका थिए। गरिमा बैंक जनताको बैंक भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले जनता, उद्योगी व्यवसायी र बैंकबिच सुमधुर सम्बन्ध कायम गर्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताए। गरिमा विकास बैंक ग्राहकको हितमा सदैव केन्द्रीत रहने प्रतिबद्धता जनाउँदै उनले सर्वसाधारण, उद्योगी , व्यवसायी सबैबाट सद्भावपूर्ण सहयोगको अपेक्षा व्यक्त गरेका थिए।