महसुल वृद्धि गर्न सेवाग्राही नै नभएको बिपिसीको सार्वजनिक सुनुवाई

बैशाख १५, २०८१


१५ वैशाख २०८१, शनिबार

बुटबल पावर कम्पनी लिमिटेड (विपिसि) ले आँधिखोलाबाट उत्पादन गरिएको विजुलीको विद्युत महशुल वृद्धि गर्न शुक्रवार जिल्ला सदरमुकाम स्याङ्जामा सार्वजनिक सुनुवाइ गरेको छ।  ९.४ मेघावाट क्षमताको आँधिखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको मूल्य वृद्धि गर्न सेवाग्राही नै नभएको ठाउँमा सार्वजनिक सुनुवाइ गरिएको हो। भीरकोट, वालिङ , गल्याङ र पाल्पाका केही सिमित ठाउँमा सबैभन्दा धेरै उपभोक्ता रहेको बिपिसिले ग्राहक भएको क्षेत्रभन्दा बाहिर सार्वजनिक सुनुवाई  गर्दै महसुल वृद्धिको  प्रक्रिया अगाडी बढाएपछि विपिसिको विद्युत उपभोग गर्दै आएका उपभोक्ताहरु आक्रोसित भएका छन् ।

शुक्रबार जिल्ला सदरमुकाम पुतलीबजारमा विद्युत नियमन आयोगले विद्युत महशुलको वृद्धिका बारेमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले बुटबल पावर कम्पनी लिमिटेडलाई विद्युत महशुल वृद्धिको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आफुहरुलाई महशुल वृद्धि मान्य नहुने चेतावनी दिएका छन् । बुटबल पावर कम्पनी लिमिटेडले आँधिखोला जलविद्युत उत्पादन केन्द्रमा घाटा भएको भन्दै विद्युत महशुल बृद्धिका लागि विद्युत नियमन आयोगमा महशुल वृद्धिको लागि प्रस्ताव गरेपछि उपभोक्ताहरु आक्रोसित भएका हुन्।

अहिले प्रति युनिट ६ रुपैँया ५० पैशामा बिक्रि  गर्दै आएको विद्युतलाई ७५ प्रतिशत वृद्धि गरेर ११ रुपैँया प्रति युनिट महशुल निर्धारण गर्न विपिसिले माग गरेको छ भने उपभोक्ताहरु यो कुरा मान्न तयार छैनन् । विपिसिले राम्रो सेवा नदिएको तार रुखमा राख्दा दुर्घटनाको जोखिम बढेको बताउँदै विद्युत महशुलको वृद्धि भन्दा पनि विद्युत वितरण गरिएका क्षेत्रहरुमा व्यवस्थीत गर्न समेत उपभोक्ताहरुले माग गरेका छन् । विद्युत उपभोक्ताहरु नै नभएको ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्नु दु:खद भएको बताउदै धेरै भन्दा धेरै उपभोक्ताहरुलाई सहभागी गराउनको लागि पुनः विद्युत उपभोक्ताहरु भएको स्थानमा सार्वजनिक सुनुवाई गर्न समेत माग गरिएको छ ।कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको अवस्थामा विपिसिले प्रस्ताव गरेको शुल्क तिर्न नसकिने बताउदै यसलाई पुर्नविचार गर्न समेत माग गरेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका निर्वतमान मन्त्री सरस्वती अर्याल, गण्डकी प्रदेश सभासदस्य कल्पना तिवारी, नेपाली कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले, नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल, एमाले जिल्ला कमिटी सदस्य दिलिप कुमार बगाले, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, वालिङ नगरपालिकाका उपप्रमुख कवित तिवारी, नेपाली कांग्रेस वालिङका नगर सभापति नेत्र पाण्डे, वालिङ उद्योग वाणिज्य संघका सचिव पिताम्बर खनाल (सुुसिल) गल्याङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दल बहादुर सिंजाली लगायतले बोलेका थिए।

उद्यमी एवं वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शोभाकान्त पौडेलले ग्रामीण विद्युतीकरणलाई प्राथमिकता दिन स्थापना भएको बिपिसीले सेवालाई गुणस्तरीय बनाउनुको सट्टा नाफा आर्जनलाई महटिभी दिनु दु:खद भएको बताए।

आँधिखोलाबाट उत्पादित विद्युतका उपभोक्ता करिब ४० हजार माथि रहेपनि सार्वजनिक कार्यक्रममा भने निकै कम मात्रामा उपस्थिती रहेको थियो । उपभोक्तालाई पायक नपर्ने ठाउँमा कार्यक्रमको आयोजना गरिएको भन्दै सहभागीहरुले विरोध जनाउदै यसलाई स्वीकार गर्न नसकिने बताएका थिए ।

बुटबल पावर कम्पनीका कार्यकारी प्रमुख उत्तर कुमार श्रेष्ठले कम्पनीले धेरै नै घाटा बेहोर्नु परेकोले बाध्य भएर मुल्य वृद्धिको प्रस्ताव गरिएको बताउदै नेपाल विद्युत प्रधिकरण संग महगोंमा किनेर ग्राहकहरुलाई सस्तो मुल्यमा दिन नसकिने बताए । पिक आवरमा आँधिखोलाबाट उत्पादन भएको विद्युतले नपुग्ने र ग्राहकहरुलाई प्रधिकरण संँग लिएर भएपनि सेवा दिदै आएको विपिसिको भनाइ रहेको छ ।

आँधिखोलाबाट उत्पादन भएको विद्युत वितरण कार्यमा कम्पनिलाई घाटा भएको विपिसिले दावी गर्दै आएको छ भने उपभोक्ताहरु यो भनाइ मान्न तयार छैनन् । विपिसिले घाटामा गएको भन्ने बाहानामा मुल्य वृद्धि गर्न लागेको बताएका छन् ।

विद्युत नियमन आयोगकी वरिष्ठ सदस्य भागिरथी भट्टराईले आफुहरु उपभोक्ताहरुको गुनासो सुन्नकै लागि कार्यक्रम गरेको बताउदै विपिसिबाट  मुल्य वृद्धिको प्रस्ताव आउदैमा यो कार्यान्वयन नहुने बताउदै यसको अध्ययन गरेर प्रतिवेदन पेश गर्ने भएकोले सोही अनुसार बुझ्न समेत आग्रह गरेकी थिइन् । आयोगले सबै पक्षको कुरालाई सुन्ने र सोही आधारमा काम गर्ने बताइन् । सार्वजनिक सुनुवाई एउटा प्रक्रियाको सुरुवात भएकोले यसलाई सोही रुपमा बुझिदिन समेत उनको आग्रह छ।

बुटबल पावर कम्पनीले आँधिखोलाबाट उत्पादन भएको विद्युत वितरण कार्यमा घाटा भएको बताउँदै आएको छ भने उत्पादनका क्षेत्रमा भएको नाफा वा हिसाब भने बताउन चाहदैन। एउटै मात्र जवाफ दिनेगरेको छ कम्पनिले विद्युत लाइनको वितरणमा घाटा बेहोर्दै आएको छ । उपभोक्ताहरुले कम्पनीले अडिट रिपोट सार्वजनिक गर्ने माग गर्दै आएका छन् । बुटबल पावर कम्पनिले आफुले प्रस्ताव गरेको मुल्यमा विद्युत उपभोग नगरेमा विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने र प्राधिकरणको महगों शुल्क तिर्नुपर्ने अवस्था आउने भन्दै तर्साएको समेत उपभोक्ताहरुले गुनासो गरेकाछन् ।

यसै बिच जिल्ला स्थित उद्योग वाणिज्य संघहरुले विद्युत महशुल वृद्धि नर्गन आग्रह गर्दै मूल्य वृद्धि स्विकार गर्न नसकिने भन्दै संयुक्त  विज्ञप्ती जारी गरेका छन्।muktinath krishi