सान्दाजु

भदौ २४, २०७९


धुर्व शर्मा पंगेनी
भदौ २४ २०७९

सान्दाजु आज भाद्र २४ गते, तपाइंले यस धर्तिमा पाइला टेकेको पुन्य दिन तर आज तपाईको भौतिक उपस्थिती छैन र पनि तपाइंको कालजयी आदर्श जिबित छ त्यसैले त्यही आदर्शको अनुयायी हुनुको नाताले, तपाईं प्रती उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्द छु । बिराटनगरको मध्यम परिवारमा जन्मनु भएका तपाइलाइ खान लाउन केटा केटिलाइ शिक्षा दिन र ओखती मुलो गर्न खास समस्या थिएन तर आफ्नो लागि होइन नेपाल र नेपाली जनताको मुक्ति को लागि कष्ट पुर्ण आन्दोलन्को अगुवाइ गर्नु भो। त्यति बेला तपाइका अगाडि दुई वटा चुनौतिहरु थिए एकातिर जनताको राजनितिक स्वतन्त्रता को लागि प्रजातन्त्र स्थापना गर्नु थियो भने अर्को तिर आर्थिक न्याय र आर्थिक स्वतन्त्रता को लागि समाजबाद स्थापना गर्नु थियो जस्को नेतृत्व हजुर्ले गर्नु भएको थियो। धेरै ठूलो त्याग संघर्ष र बलिदानले २००७ मा प्रजातन्त्र आयो । प्रजातन्त्र पछि पनि सोचे जस्तो हुन सकेन संविधान सभाको मुद्दा लाई थाती राखेर २०१५ मा संसदिय आम चुनाब भयो, नेपाली कांग्रेस ले अत्यधिक सिट्मा जित निकाल्यो तपाईं प्रधानमन्त्री बन्नु भो। तपाइको लक्ष्य रोग भोक गरिबी र अशिक्षाले आक्रान्त नेपालिको मुक्ति तर्फ अगाडि बढ्यो। भुमीसुधार, प्रगतिशील कर प्रणाली, वितरणमा सामाजिक न्याय, सिमान्तकृत बर्ग उत्थानमा राज्यको लगानी जस्ता जनमुखी कार्यक्रमहरुले नै तपाइलाइ अगाडि जान दिइएन । तपाईं संग एकतन्त्रीय शासन चलाएका राणाहरु रिसाएका थिए, चतुर र जनसमर्थन भएको प्रधानमन्त्री भएपछी आफू ओझेल पर्ने डरले राजा रिसाएक थिए, अकुत सम्पत्तिका मालिक प्रगतिशील कर को कारण रिसाएका थिए, भुमी सुधार नितिले भुमीपतिहरु रिसाएका थिए, निर्वाचनमा थोरै सिट ल्याउने दलहरु रिसाएका थिए ।

अब तपाईं जस्ता क्रान्तिकारी युगपुरुस ती घरानिया हरुलाइ कांडा जस्तै भएको थियो त्यही मौका छोपेर राजाले विभिन्न निहु निकाले रिसाएका हरुको नेतृत्व गरे, २०१७ साल पौष १ गते तपाइलाइ र संसद्लाइ अपदस्त गरे पार्टीहरुलाइ प्रतिबन्धा लगाए । तपाईं जेल पर्नु भो, निर्वासित हुनु भो, मृत्युदणड को सजाय सुनाइयो तर तपाईं आफ्नो मुद्दामा अडिग हुनु भो । प्रजातन्त्र र समाजबादको मुद्दा छाडेर कुनै सम्झौता गर्नु भएन। मुद्दा छाडेर प्रधानमन्त्री बन्न पटक पटक अग्रह हुंदा ठाडै अस्वीकार गर्नु भो । निरंकुस पंचायतले तपाइलाइ खुबै लखेट्न र फकाउन खोज्यो तर उ असफल भयो । तपाइको अन्तिम सास सम्म घाटिको क्यान्सर ले लल्कारी रहंदा पनि निरंकुशता बादिहरुलाइ लल्कारी रहनु भयो । त्यसैले सान्दाजु तपाईं प्रती उच्च सम्मान छ । सान्दाजु आज तपाइको जन्म दिनमा देशभर जन्मजयन्ति सभाहरु भएका छन, बिचार गोस्ठी आयोजनामा कन्जुस्याइँ छैन, फोटो र शालिकमा फुलमाला चढाउने हरुको घुइचो छ। तपाइले प्रतिपादन गर्नु भएको प्रजातान्त्रिक समाजबाद्को खुब ओकालत भएको छ। तपाइँ को जीवन गाथा र संघर्ष का कुराले गोष्ठी मंत्रमुग्ध छ । धुलो लागेको तपाइको शालिक पुछेर चिटिक्क पारिएको छ। बि पि कोइला अमर रहुन, बि पि वाद जिन्दाबाद जस्ता नारा लगाउदै प्रभात फेरिहरु भैरहेका छन । प्रमुख अतिथी, बिशिस्ट अतिथिहरु मंचको सोफामा बसेर धुले चौरमा बसेका जनता सामु तपाइको गाथा गाउन भ्याइ नभ्याइ छ । तर सान्दाजु तपाइको त्याग, निष्ठा र समर्पण को अनुसरण गर्नेहरुको संख्या हराउदै गएको छ । तपाइले प्रतिपादन गर्नु भएको प्रजातान्त्रिक समाजबादको न प्रयोग छ न बिश्लेशण यो केबल तपाइको स्मृति को दिन सबैको मुख बाट खुल्छ र त्यसपछि बन्द हुन्छ । तपाइलेनै भन्नू भएको होइन आन्दोलन को सफलता पछि सुकिला मुकिलाको हाबी हुन्छ भनेर तपाइको भबिस्यबाणी सत्त्य साबित भएको छ । तपाइले जुन मुद्दा स्थापित गर्न जिवनभर संघर्ष गर्नु भो ती मुद्दा ज्युं का तिउं छ्न । आज जन्म दिवसमा जम्मा भएका मानिसहरुमा तपाइलाइ नचिन्ने, तपाइको बिचार नबुझ्ने, तपाइको आदर्श आत्मसात नगर्ने र तपाइले स्थापना गर्न खोज्नु भएको मुल्य मान्यतालाइ बेवास्ता गर्नेहरुको संख्या ठूलो छ । तपाईंको कल्पनाको संसारमा सजिएको सुन्दर सुसंस्कृत नेपालको चित्रमा माकुराको जालो लागेको छ । त्यसैले माफ गर्नुहोला सान्दाजु आजको दिन किन किन खल्लो लागेको छ । जयनेपाल