बोधराजका चुनावी बाचा : विपन्न वर्गका लागि रासन कार्ड

कार्तिक ०८, २०७९


स्मार्ट अखबार संवाददाता
८ कार्तिक २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधराज रेग्मीले आफ्नो चुनावी बाचाहरू सार्वजनिक गर्नुभएको छ । स्याङ्जा क्षेत्र १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका रेग्मीले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, कृषि, रोजगारी, भ्रष्टाचार न्यूनीकरण, सुशासन, पर्यटनलाई प्राथमिकतामा राख्नुभएको छ। उहाँले अति विपन्न वर्गको लागि रासन कार्डको व्यवस्था गर्ने र विपन्न परिवारलाई पानी, विजुली र इन्टरनेटमा विशेष सहुलियतको व्यवस्था गर्ने बाचालाई उच्च प्राथमिकता दिनुभएको छ।यसैगरी २०४७ सालदेखि उच्च ओहोदामा रहेका राजनीतिज्ञ र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिनको मुद्दाले पनि प्राथमिकता पाएको छ।

सुशासन र झन्झटरहित सार्वजनिक सेवा, ज्येष्ठ नागरिकहरुको लागि विशेष स्वास्थ्य कार्डको व्यवस्था, मालपोत, यातायात तथा अन्य सरकारी कार्यालयहरुमा देखिएका भ्रष्टाचार उन्मूलन , मोबाइल तथा एप मार्फत् फिराद र उजुरी दर्ता गर्ने व्यवस्थालाई रेग्मीले उच्च प्राथमिकता दिनुभएको छ।आफ्नो हस्ताक्षर सहित बाचापत्र सार्वजनिक गर्नुभएका रेग्मीले विदेशबाट सीप आर्जन गरी नेपाल फर्किएका युवाहरुलाई उनीहरुको अनुभवका आधारमा नेपालमै व्यवसाय तथा उद्यम गर्ने प्रबन्ध मिलाउने बाचा गर्नुभएको छ।

विज्ञापन

वर्षौं पहिलेदेखि योजनामा परेका तर काम थालनी नभएका क्षेत्रीय योजनाहरुको काम द्रुतगतिमा पुरा गर्ने, स्याङ्जा जिल्ला अस्पताललाई अत्याधुनिक अस्पतालको रूपमा विकास गर्ने तथा स्वास्थ्य चौकीहरूमा क्षमतावान जनशक्तिको व्यवस्था गर्ने, सिद्धार्थ राजमार्ग र शाखा बाटोहरूलाई द्रुतगतिमा स्तरोन्नती गर्ने, जिल्लाको शैक्षिक स्तरलाई गुणस्तरीय बनाउने र प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्रोत्साहन गर्ने, साहसिक खेल प्याराग्लाइडिङलाई स्याङ्जामा स्थापित गर्न सम्भावित ठाउँहरूको अध्ययन गर्ने, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्दै ठुला उद्योगहरूलाई निर्धक्क लगानीका सहज वातावरण निर्माण गर्ने बाचापत्रमा उल्लेख छ।

स्याङ्जाको कृषी पेशालाई निर्वाहमुखीबाट व्यवसायिक रूपमा विकास गर्न कृषी विज्ञहरूसँग परामर्श गरी वास्तविक कृषकहरूलाई सहज र सुलभ आधुनिक कृषी प्रशिक्षण, प्रविधी, समयमै मल , बीउ वितरण, विशेषत सुन्तला, अदुवा, कफी, अलैचीलाई उच्च प्राथमिकता दिँदै शित भण्डार (कोल्ड स्टोर) को व्यवस्था मिलाइने, आँधिखोला, फेदिखोला, बाइखोला, दरौंखोला लगायत अन्य खोलाहरूको सम्भाव्यता अध्ययन गरी उन्नत जातको माछापालन र उक्त क्षेत्रको कृषक र युवाहरूलाई व्यवसाय तथा रोजगारको अवसर सिर्जना गर्ने बाचा पनि गरिएको छ।

सार्वजनिक यातायातलाई बालबालिका, महिला, जेष्ठ नागरिक तथा अपाङ्ग मैत्री बनाउने, प्राचिन कालदेखि प्रचलनमा आइरहेको घरेलु मदिरा (लोकल रक्सी) को ब्राण्डिङ गर्ने, कृषी तथा जडिबुटीको अध्ययन तथा अनुसन्धान गर्ने, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि सम्भाव्यता गर्ने , स्याङ्जामा रहेका प्रसिद्ध धार्मिक स्थलहरू र प्रचुर सम्भावना बोकेका पर्यटकिय स्थलहरूको प्रवर्द्धन गर्ने, हरेक ६ / ६ महिनामा स्याङ्जा क्षेत्र नं. १ मा सार्वजनिक भेला गरी प्रगति प्रतिवेदन प्रस्तुत गर्ने लगायतका जनमुखी र लोकप्रिय योजनाहरूलाई उम्मेदवार रेग्मीले बाचापत्रमा उल्लेख गर्नुभएको छ।