अनेरास्ववियुद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध

कार्तिक २६, २०७८


कार्तिक २६, भीरकोट

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्याङ्जा र वालिङले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध प्रदर्शन गरेको छ। अनेरास्ववियु जिल्ला कमिटी संयोजक सगुन रानाको संयोजकत्वमा विरोध सभा सम्पन्न भएको हो। वालिङ बहुमुखी क्याम्पसबाट सुरू भएको विरोध प्रदर्शन भकुण्डेको होटल भेनसमा गएर कोण सभामा परिणत भएको थियो। विभिन्न राजनैतिक दलका नेता, अनेरास्ववियु वालिङका अध्यक्ष, सचिब लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको बिरोध प्रदर्शनमा सबैले र्याली, नाराले सरकारको ध्यानाकर्षण गराएका थिए । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आम जनता, किसान, लगायत विद्यार्थीहरुको ढाड सेक्ने काम गरेकोमा छिटोभन्दा छिटो मूल्य वृद्धि फिर्ता गर्न संयोजक सगुन रानाले माग गर्नुभएको छ।

विरोध कार्यक्रममा सबैले प्लेकार्ड र ब्यानर सहित नारा लगाउदै बजार परिक्रमा गरेका थिए। कोरोनाको महामारीका कारण आम सर्वसाधारणको जन जीवन कष्टकर बनिरहेको बेला रोजगार र आयस्रोत गुमिरहेको बेला सरकारले जनताको ढाड सेक्न र जनतालाइ दुख दिनको लागि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै संयोजक सगुन रानाले तुरुन्तै मूल्य वृद्धि फिर्ता लिन माग गरेका थिए। निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।