हामी चुक्यौ र निरन्तर चुकीरहेका छौँ

भदौ ०९, २०८०


९ भाद्र २०८०

देशमै उद्यम गर्नेलाई हामीले गन्नै छोड्यौँ,केही गर्न नसकेर देशमै हल्लिरहेको ‘ट्याग’ भिराईदियौँ । उसले त बिबाह गर्न कसैकी छोरी नै नपाउने वातावरण सिर्जना गर्‍यौँ । हो , यहीँ हामी फेरि चुक्यौँ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

अस्ति भर्खरै झैँं लाग्छ जब म दहथुम मा. वि. मा कक्षा आठमा पढ्दै थिएँ। हाम्रा गाउँमा एकआध बाहेक हाम्रा र त्यो भन्दा अघिल्लो पुस्तालाई अशिक्षित भनिन्थ्यो तर गाउँका बारीमा मकै थियो। मकै भित्र कोदो रोपिन्थ्यो कोदो संँगै मास र गहत छरिन्थ्यो ।अनि मकै पाकेर छाडेका डाँठमा मकै बोडि र कात्तिके बोडि लहलह हुन्थ्यो भने बारिका डिलमा उस्तै मस्याम(सिलटुम) फल्थ्यो।

सबैका गोठमा एक दुई देखि आधा दर्जन भैंसी थिए। गाई थियो, हलगोरु हुन्थ्यो । कसै नभएपनि परेली गर्न एउटा भएपनि गोरु पालिन्थ्यो। अनि खोर भरी बाख्रा आहा!

समग्रमा भन्नुपर्दा हामी अशिक्षितको ट्यागमा थियौँ। तर गाउँगाउँ बस्तीबस्तीमा मनग्ये कृषि थियो र मनग्ये उत्पादन पनि थियो।जब हामीले शिक्षितको ट्याग भिर्न थाल्यौ बिहान बेलुका घरैको खाएर घासको भारी पछारेर बल्ल स्कुल जाने पद्धतिको विरुद्ध निजी स्कुल (बोर्डिङ) खोल्यौ। बिहान आठ बजे तात्तातो खाएर स्कुल जाने साँझ पाँच छ घर आएर भएपनि एउटो कोदाको रोटो टोक्दै डोको बोक्न छाड्यौ , अनि के भो हेरौं त?



छोराछोरीलाई काम र उत्पादन बाट पुरै बिमुख बनायौँ। अलीअली पढेपछि कृषि र उत्पादनसित पुरै साइनो तोड्यौँ। कि जागिर खान शहर पस्यौँ कि वैदेशिक रोजगार भनेर विदेश कुद्न थाल्यौँं। अनि हाम्रा गाउँ खाली भए। उत्पादन हुन छोड्यो । हामी आफैँले आफैँलाइ आत्मनिर्भरता बाट परनिर्भरता तर्फ धकेल्न पुग्यौँ।

आज म झन्डै पाच दशकको हुन पुगेँ। मेरो पुस्ता देखि हामीले जानेर वा नजानेर शिक्षाका दुई मान्यता स्थापित गर्‍यौं , यो ध्रुव सत्य हो।पहिलो मान्यता पढेकाले गाउँ बस्ने होइन भन्दै धमाधम शहर कुद्न थाल्यौँ। अनि दोश्रो मान्यता पढेकाले खेत बारी दाउरा घाँस अर्थात कृषि गर्ने होइन बरु बिदेश जाने हो र जानै पर्छ।

हो, यहीँबाट हामी देश लाई आत्मनिर्भर बनाउनबाट पुरै चुक्यौँ ? शिक्षाको अर्को पाटो पनि छ त्यो हो हाम्रो शिक्षाको सफलता सरकारी जागिर पाउनु, अथवा युरोप, अमेरिका, अस्ट्रेलिया पुग्नुमा देख्न थाल्यौं।

देशमै उद्यम गर्नेलाई हामीले गन्नै छोड्यौं,केही गर्न नसकेर देशमै हल्लिरहेको ‘ट्याग’ भिराईदियौँ । उसले त बिबाह गर्न कसैकी छोरि नै नपाउने वातावरण सिर्जना गर्‍यौँ । हो , यहीँ हामी फेरि चुक्यौँ।

हामीसँग देशलाई समृद्ध बनाउने दुई आधार थिए र छन् ।त्यो हो कृषि र उद्धम तर परम्परागत रुपमा कृषि गर्दा त हामी आत्मनिर्भर थियौ भने त्यसलाइ व्यवसायिकरण गर्दा कहाँ पुग्छौ अथवा कहाँ पुग्थ्यौँ होला?
तर अफसोच आज नेपालमा कृषि र उद्धम दुवै उपेक्षित छन्।

( स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नं ७ निवासी कोइराला एक कृषि उद्यमी र नेकपा माओवादीका स्थानीय नेता पनि हुन्।)