भीरकोट पार्क स्तरोन्नतिका लागि २० लाख बजेट

असार ०९, २०८०


स्मार्ट संवाददाता, भीरकोट
९ असार २०८०

भीरकोट नगरपालिकाको पर्यटकीय गन्तव्य भीरकोट पार्क स्तरोन्नतिका लागि आ.व. २०८०/८१ मा नगरपालिकाले  २० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। भीरकोट पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। भीरकोट, वालिङ, पुतलीबजार नगरपालिकाका स्थानीयहरू घुमफिर, वनभोज , फोटो भिडियो सुटका लागि आउने गर्दछ्न् । जिल्ला बाहिरका पालिकाबाट समेत सरसफाइ केन्द्र र पार्कको अवलोकनका लागि पर्यटकहरू आउने गरेको पार्क व्यवस्थापक कृष्ण प्रसाद अर्यालले बताए।

पार्कमा वनभोजमा रमाउन चाहनेहरूका लागि ग्यास सहितको भाँडाकुडाको समेत प्रवन्ध गरिएको पार्क व्यवस्थापक कृष्ण अर्यालले बताए। उनले भने, ” करिब १ सय जना व्यक्तिहरूलाई पुग्नेगरी भाडाँकुडाको व्यवस्था गरिएको छ।”

नयाँ आर्थिक वर्षदेखी लागू हुनेगरी पार्क प्रवेश शुल्क रू ५० कायम गरिएको छ। पार्कमा वनभोजमा रमाउन चाहनेको लागि भाँडा वर्तन, ग्यासको सुविधा सहित ४ हजार शुल्क तोकिएको छ। यसैगरी पार्कभित्र भिडियो , ड्रोन तथा फोटो सुट गर्नका लागि २ हजार रूपैयाँ र सभा गोष्ठी र सेमिनार गर्न समेत प्रती दिन २ हजार तोकिएको छ।१२ औं नगर सभाले पारित गरेको बजेट र भीरकोट नगरपालिकाको आर्थिक ऐन २०८० मा पार्कको स्तरोन्नति तथा शुल्कको विषयमा उल्लेख गरिएको छ।

पालिकाको वडा नं ४ मा आँधीखोलाको किनारमा अवस्थित पार्क एकदमै शान्त र रमणीय छ। दहथुम मा.वि. चोकबाट जान सकिने पार्कमा सानो ठूलो जस्तैसुकै सवारी साधन पनि जान सक्छ। अध्ययन अवलोकनमा आउने विद्यार्थीहरूका लागि ५० प्रतिशत छुट छ भने ५ वर्ष मुनिका बालबालिका र जेष्ठ नागरिकहरूका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । शनिवार र विदाको दिन घुमफिर र वनभोजका लागि सयौं आन्तरिक पर्यटक आउने गरेको व्यवस्थापक अर्यालले बताए। संस्थापक नगर प्रमुख छायाराम खनालको सपना र योजनामा स्थापना भएको भीरकोट पार्क तथा सरसफाइ व्यवस्थापन केन्द्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। पार्कमा ईन्टरनेट , खानेपानी, व्यवस्थित शौचालयको समेत सुविधा छ। नगर क्षेत्रभित्रको एक प्रमुख पर्यटकीय गन्तव्य भएकाले पर्यटकको   आवश्यकता र माग अनुसार स्तरोन्नति गरिने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताए।