हामीले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्यौं
स्थानीय निकायको चुनावले गाउँ र नगरको माहोल तताइरहेको छ।केन्द्रदेखि स्थानीय तहका नेता कार्यकर्ताहरू आफ्नो सरकार र पार्टीले गरेका राम्रा कामका विषयमा केन्द्रित रहेर जनमत आफ्नो पोल्टामा पार्न लागिपरेका छ्न्।यसै सन्दर्भमा स्याङ्जा जिल्लाको पहिलो बालमैत्री नगरपालिका भीरकोट नगरपालिकाको पाँच वर्षका उपलब्धि, अवसर र चुनौतीमा केन्द्रीत रहेर हामीले नगर प्रमुख छायाराम खनालसँग कुराकानी गरेका छौं। प्रस्तुत छ स्मार्ट अखबारका प्रधान सम्पादक नारायण प्रसाद कोइरालाले आगामी स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट नगर प्रमुख पदका एक मुख्य दाबेदार एवं वर्तमान नगर प्रमुख खनालसँग गरेको कुराकानीको सम्पादित अंश :
१) भीरकोट नगरपलिकाको मेयर भएर पाँच वर्ष काम गर्नुभयो । आफ्नो कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सामाजिक क्षेत्रको काम, विकासको काम र नयाँ संरचनामा गर्ने काममा पूर्ण रुपमा सन्तुष्ट छु भनेर भन्न त मिल्दैन तर दुई तीन वटा आधारले मैले सन्तुष्टीको अनुभव गरेको छु । पहिलो, हामीले योजनावद्ध रुपले विकास निर्माणका काम गर्यौं। दोश्रो, दीगो विकासका राष्ट्रिय र अन्तर्राष्ट्रिय लक्ष्यमा केन्द्रित रहेर काम गर्यौं । विधी र प्रक्रियालाई समातेर काम गरेको हुनाले विकास निर्माणका आयोजनाहरु पूर्ण रुपमा सफल भएका छन् । तेश्रो, हामीसंँग भएका श्रोत र साधनको पूर्ण सदुपयोग गरेका छौं। यसर्थ म आफ्नो कार्यकाल प्रति सन्तुष्ट छु ।
२) तपाईको कार्यकालको पाँच वर्ष सकिन पनि लाग्यो। तपाईंले भीरकोटको विकासका लागि पाँच वर्षमा गरेका ५ महत्त्वपूर्ण कामहरू केके हुन्?
प्रथमतः हामीले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्यौं। विधी र प्रक्रियासम्मत तरिकाले विकास आयोजनाहरु कार्यान्वयन गर्यौं । दोश्रो, आवधिक, अल्पकालिन र दीर्घकालिन योजना बनाएर योजनावद्ध तरिकाले काम गर्यौं । तेश्रो, हामीले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्यौं । चौथो, हामीले आधारभूत तह १ देखि कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरेर विद्यार्थीलाई निःशुल्क प्रदान गर्यौं। पाँचौ, संसारकै अनौठो प्रकृतिको ऐतिहासिक एवम् भौगर्भिक महत्व बोकेको गडहरे गुफाको प्रथम चरणको अध्ययन, अन्वेषण गर्न सफल भयौं। दोश्रो चरणको अध्ययन अन्वेषणको क्रममा छौं। यसलाई भौगर्भिक अध्ययन र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने काम भैरहेको छ। जनताको गुनासो कम हुने गरी हाम्रा सबै योजना तथा कार्यक्रमहरु विवादरहित तरिकाले सफलतापूर्वक सम्पन्न भएका छन् ।
३) तपाईंले २०७४ को निर्वाचनमा आफूले तयार पारेको घोषणापत्र र जनतालाई बाडेको आश्वासनको कति प्रतिशत काम सम्पन्न गर्नुभयो ?
चुनावका बेला तयार गरेको घोषणापत्र र बाँडेका आश्वासन भन्दा बढी काम भएका छन् । मुख्य आश्वासन सुशासनको थियो । प्रभावकारी रुपमा प्रशासनिक सेवा प्रवाह गर्न सबै वडामा दक्ष जनशक्ति नियुक्ति गर्यौं । वडाका जनप्रतिनिधिहरुलाई सवारी साधन र अन्य सुविधा प्रदान गरेर तोकेकै समय र स्थानमा जनताको सेवा गर्न सक्षम बनायौं । विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न पनि पहल गर्यौं ।सेवा प्रवाहको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु नगरपालिकाको प्रशासकीय भवन, वडा कार्यालयहरु र स्वास्थ्य चौकी निर्माणको काम पूरा गर्यौं । हामीले धेरै हदसम्म सुशासनको अनुभूति गरेका छौं । यद्यपी केही कमिकमजोरी हुन सक्छन् । कोरोना महामारीका बाबजुद हामीले जनतालाई बाँडेका सपना र आश्वासन पूरा गरेका छौं । सिटी हल निर्माण भयो, बयरघारी बजारका भित्री सडक कालोपत्रे गर्यौं। बयरघारी बजारको खानेपानी योजना सम्पन्न हुने चरणमा छ।हामीले चुनावमा देखाएको सपना, लक्ष्य र आश्वासन भन्दा बढी काम गरेका छौं।
४) उपलब्धि त धेरै सुनाउनु भयो।तर भीरकोट नगरपालिकाको बसपार्क किन उपयोगमा आउन सकेन? अनि भीरकोट नगर अस्पताल किन शिलान्यासमै सिमित भयो?
बसपार्कको सन्दर्भमा बजारबासी, उद्योग वाणिज्य संघ र व्यवसायीहरुले असहयोग गरे ।बसपार्क निर्माणको योजना गलत थिएन, आवश्यकता थियो तर सरोकारवालाहरुको असहयोगका कारण बसपार्कमा असफल भयौं। भीरकोटको केन्द्र बयरघारीमा सवारी साधनको व्यवस्थापन र दुर्घटना न्यूनीकरणको उद्देश्यले बसपार्क बनाएका थियौं । बसपार्कका उपभोक्ता नै भाग्ने प्रयास गरे। कोरोनाका कारण पनि हामीले बसपार्कलाई प्रयोगमा ल्याउन असफल भयौं ।नगर अस्पताल निर्माणका लागि केन्द्रीय सरकारले १८ करोड सहित योजना कार्यान्वयनको अख्तियारी दिएको थियो। त्यसको डिपिआर तयार भएको छ । १५ शैयाको अस्पताल निर्माण गर्न ३७ करोड भन्दा बढी लागत निस्कियो। अनि हामीले स्वास्थ्य मन्त्रालयलाई सोध्यौं, १८ करोड भन्दा माथिको लगानी केन्द्रले नै गर्छ कि हामीले गर्नुपर्ने हो भनेर । मन्त्रालयले १८ करोड भन्दा थप रकम नदिने भनेपछि थप करिव २० करोड लगानी गर्ने क्षमता नभएर अस्पताल अहिलेसम्म शिलान्यासमै सिमित भयो। २० करोड भनेको हाम्रो तीन वर्षको विकास बजेट हो । केन्द्रीय सरकारले डिपिआर अनुसारको रकम छुट्याउनु पर्छ भन्ने हाम्रो माग हो । यो आर्थिक वर्ष भित्रै टेण्डर गर्ने गरी हामी स्वास्थ्य मन्त्रालयसंँग अन्तिम छलफलको तयारीमा छौं ।
५) विगतमा कर्मचारीले गर्ने काम र तपाईंले पाँच वर्षमा गरेको काममा कुनै भिन्नता भएन र पार्टी भित्रै र अन्य दलसँग पनि सहकार्य नगरेको आरोप छ।नयाँ योजना र भिजनका साथ काम गर्न किन सक्नुभएन ?
भिन्नता छ, हजुरले थाहा पाउनुभएन छ। जनप्रतिनिधी नहुँदा पहिलो कुरा कर्मचारीहरुले योजना कार्यान्वयन गर्दा उपभोक्ताबाट अनुचित लाभ लिने कार्य गर्थे । अहिले त्यो कँही कतै पनि हुन पाएको छैन, शुन्यमा झरेको छ । योजना मूल्यांकन गर्दा उपभोक्तालाई अनावश्यक दुःख दिने र आर्थिक लाभ लिने प्रकृति जिरो भएको छ । कर्मचारीहरु नतिजामूखी भन्दा पनि प्रक्रियामूखी र समय काट्ने तरिकाले आलटाल गरी काम गर्थे भने हामीले नतिजामूखी भएर योजना कार्यान्वयन गरेका छौं । जनप्रतिनिधी हुनुभन्दा अघि पूँजीगत रकम खर्च हुन नसकेर बाँकी रहन्थ्यो । म आउँदा चार करोड बाँकी थियो । अहिले हामीलाई पूँजीगत खर्च अपुग भैरहेको अवस्था छ । योजनामा शतप्रतिशत सफलता हाँसिल गरेका छौं ।हाम्रो मुख्य मिसन र भिजन नै सुशासन र सेवा प्रवाहका लागि आधारभूत भौतिक पूर्वाधारको विकास गर्ने थियो र यसमा हामी सफल भएका छौँ ।
यसैगरी हामीले सेवाग्राहीमैत्री भएर जनतालाई सेवा दिइरहेका छौं । हिजोको भन्दा आज ठूलो अन्तर छ । स्थानीय विकास र वित्तीय समानीकरणका योजना कार्यान्वयनमा हामी अगाडी छौं। बजेट, नीति निर्माण र कार्यान्वयमा कर्मचारीहरुले पनि तदारुकताका साथ सहयोग गरेका छन् । विकासमा चासो दिने र सहकार्य गर्न खोज्ने सबैसंग सहकार्य गरेका छौं। व्यवसायिक र नाफामूखी सोच भएका मान्छेहरुसंग सहकार्य नभएको कुरा साँचो हो । सिमित श्रोत र साधनका बाबजुद असिमित आवश्यकता पूरा गर्दा असन्तुष्टी भएपनि नगरपालिकाको विकासमा सहकार्य गर्नुहुने सबैप्रति आभारी छु ।
६) आँधिखोलाको तटबन्धन कमजोर ठाउँमा भन्दा पनि पहुँचका आधारमा भएजस्तो देखिन्छ नि ? अनि सिमलचौर फाँटमा हजुरकै कार्यकालमा सिंचाईको व्यवस्था होला त ?
आँधीखोलाको तटबन्धनका लागि सिंचाई डिभिजन कार्यालयबाट ५ करोड विनियोजन भएकोमा ६० प्रतिशत बजेट हाम्रो क्षेत्रको तटबन्धनमा खर्च हुँदैछ । अहिले पक्की पुलमुनी मात्रै काम गरेजस्तो देखिए पनि तटबन्धन कमजोर भएका सबै ठाउँमा व्यवस्थित तटबन्धन हुन्छ । सिमलचौरको सिंचाईको काम चाँही यही चैत्रभित्रै सुरु हुन्छ । यो वैकल्पिक र परीक्षणकालिन योजना भएकाले लागेको सबै खर्च नगरपालिकाले बेहोर्छ।डिप बोरिङ्ग गरेर पानी निकाल्ने भएकाले यो योजना सफल भयो भने नगरका अन्य क्षेत्रमा पनि यस्तै खाले योजना कार्यान्वयन गर्ने हाम्रो योजना छ ।
७) भीरकोट नगरपालिकाका लागि मेयरमा धेरैले आकांक्षा देखाउनुभएको छ । पार्टीभित्र समान अवसरको कुरा पनि हुन्छ । काँग्रेसले तपाईं बाहेकलाई उम्मेदवार अगाडि सार्दा मान्न तयार हुनुहुन्छ?
मेयरमा कसलाई उठाउने भन्ने कुरा पार्टीले निर्णय गर्ने कुरा हो।भीरकोट नगरपालिकाको संस्थापक मेयर हुने पहिलो अवसर पाएकोमा खुसी छु। विकास निर्माणको मार्गचित्र कोर्ने प्रयत्न गरें । कमसेकम अर्को पाँच वर्षका लागि काम गर्ने अवसर पाउने हो भने अहिलेको अनुभवका आधारमा थप नतिजामूखी काम गर्न र नमूना नगरपालिका बनाउन सकिन्छ भन्ने अठोट र आत्मविश्वास मैले लिएको छु । म नगर प्रमुखको दाबेदार हो, अन्तिमसम्म दाबी गरिरहन्छु।तर पार्टीले नगर प्रमुखको जिम्मेवारी अरु कसैलाई दियो भने मैले मन दुखाउने भन्दा पनि आफ्ना अनुभवका आधारमा अझ बढी सक्रिय भएर सक्दो सहयोग गर्नेछु ।
८) अधिवेशनको अस्वस्थ प्रतिस्पर्धीले कार्यकर्तामा मन फाटेको देखिन्छ । स्थानीय तहको निर्वाचनमा चुनौती कत्तिको छ ?
प्रथमतः म जनप्रतिनिधी भएकाले नगर प्रमुखको हैसियतमा गर्नुपर्ने कामप्रति जिम्मेवार तरिकाले लागि परेको हुँदा हजुरलाई त्यस्तो लागेको होला । अधिवेशन आन्तरिक प्रजातन्त्र सुदृढीकरणका लागि थियो। अहिले चुनावी माहोल सुरु भैसकेको छ । चुनावी अभियानमा हामी सबै प्रतिबद्ध भएर लागेका छौं । नयाँ निर्वाचित साथीहरु र नयाँ कार्यकर्ताहरुमा परिपक्वताको कमीले गर्दा कार्यकर्ता बाँडिएको वा पार्टी भित्र पक्ष र प्रतिपक्ष भएजस्तो देखिएको हो। म कहिल्यै हस्तक्षेपकारी काम गर्दिन। समन्वय, सहकार्य र सहजीकरण मेरो प्राथमिकता हो। पार्टीको जीत सुनिश्चित हुने तरिकाले हामी अगाडि बढेका छौं । नगर सभापति र नवनिर्वाचित साथीहरुसंग म नियमित र प्रत्यक्ष सम्पर्कमा छु।कार्य विभाजन र जिम्मेवारीले टाढा भएजस्तो देखिएको हो ।
९) अन्त्यमा स्मार्ट अखबार मार्फत भीरकोटबासी जनतालाई के भन्न चाहनुहुन्छ ?
हजुरको मिडिया मार्फत् सबै भीरकोटवासीलाई धन्यवाद दिन चाहन्छु। हाम्रो प्रगति र सफलताको पहिलो श्रेय म भीरकोटवासीलाई दिन चाहन्छु। भीरकोटको विकास जनप्रतिनिधिको कारणले मात्र भएको हैन, सम्पूर्ण भीरकोटवासीको सहकार्य र सहयोगले भएको हो।सबै विकास योजनाहरु विवादरहित रुपमा कार्यान्वय भएका छन् ।सबै योजनामा व्यापक जनसहभागिता जुट्यो। भोट सबैले दिनुभएन तर कार्यकाल सफल बनाउन सबैले सहयोग गर्नुभयो। विपक्षी पार्टीलाई पनि धन्यवाद दिन चाहन्छु।कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।