स्याङ्जाको राजनीतिले स्याङ्जालाई खण्डहर बनाउँदै छ : प्रदेश सांसद अर्याल
नारायण प्रसाद कोइराला, स्याङ्जा
२५ चैत्र २०७९
गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले स्याङ्जाको राजनीतिले स्याङ्जालाई नै खण्डहर बनाउँदै लगेको बताएका छ्न्। स्याङ्जा जिल्लालाई नै बाइपास गरेर निर्माण भैरहेका कालीगण्डकी करिडोर र कोरला त्रिवेणी सडकका कारण स्याङ्जा जिल्ला विकासमा धेरै नै पछाडि परेको र समयमै सिद्धार्थ राजमार्गको यथोचित स्तरोन्नति नभए स्याङ्जा खण्डहर हुने उनको भनाइ छ।सिद्धार्थ राजमार्गको छेउछाउमा रहेका घरटहराको माया मान्ने प्रवृति र सोही प्रवृतिको वकालत गर्ने स्याङ्जाली नेताहरूको राजनीतिले स्याङ्जाको व्यापार व्यवसाय मात्र नभै भविष्य नै अप्ठ्यारोमा पर्दै गएको उनको ठ्म्याइ छ।भीरकोट उद्योग वाणिज्य संघको चौंथो साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य अर्यालले सो कुरा बताएका हुन्।
प्रदेश सभा सदस्य अर्यालले भीरकोट उद्योग वाणिज्य संघको भवन २ वर्ष भित्रै बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छ्न्।उनले वाणिज्य संघको भवन फगत कार्यालय प्रयोजनका लागि भन्दा पनि बहुउद्देश्यीय भवनको रूपमा विकास गरी व्यवसायिक दक्षता तथा अन्य सीप विकास गर्न तालिम केन्द्रको रूपमा विकास गर्नुपर्ने कुरामा जोड दिएका छ्न्।व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने खालको तालिम केन्द्रको रूपमा उद्योग वाणिज्यको भवन विकास गर्ने उनको चाहना छ।हरेक व्यवसायीलाई इमान्दार भएर व्यवसाय गर्न र राज्यलाई कर तिर्न अनुरोध गर्दै उनले नागरिकले इमान्दार भएर कर तिरे मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन्।