उद्यमशीलता प्रवर्धनमा जोड दिंदै भीरकोट

माघ २४, २०७९


स्मार्ट संवाददाता, भीरकोट
२४ माघ २०७९

स्याङ्जाको भीरकोट नगरपालिकाले कृषि र पर्यटनको विकासलाई प्राथमिकतामा राखेर उद्यमशीलता प्रवर्द्धन गर्न थालेको छ। विषेशगरी कृषि र पर्यटनको क्षेत्रमा नवीन सोच भएका व्यक्ति ,संघ तथा संस्थाको क्षमता विकास गर्न एवं नयाँ व्यवसाय सुरू गर्न चाहने ५० जनालाई EBIC ले नगद सहयोग गर्ने कोभिड १९ प्रतिकार्य परियोजना भीरकोटका प्रमुख हरि रेग्मीले जानकारी दिए। नयाँ सोच भएका २५ जनालाई १२ हजार २ सय र व्यवसाय गरिरहेकाको क्षमता विकासका लागि २५ जनालाई जनालाई १२ हजार रूपैयाँ आर्थिक सहयोग गर्ने उनले बताए। EBIC केन्द्रले प्रस्तावाना मागे अनुरुप स्थलगत अवलोकन गरि ५० जना छनाेट गरिएको बताइएको छ।

उद्यमशीलताको विषयमा थप जानकारी दिन एवं उद्यमीका माग र आवश्यकता बारेमा जानकारी लिन छानिएका ५० जना उद्यमीहरू UNDP Nepal का गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख इन्जिनियर सुदिप अर्यालबिच अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ। अर्यालले दिगो विकासको लक्ष्य अनुरुप र वातावरणमैत्री योजना तथा व्यावसाय गर्न उद्यमीहरूलाई आग्रह गरेका थिए।

वडा नं ७ का अध्यक्ष एवं सुन्तला सुपरजोनका अध्यक्ष तारा अर्यालले कृषिलाई व्यवसायिकरण गर्न आवश्यक रहेको बताउँदै सबै उद्यमीले बजारको माग अनुरूप कृषि उत्पादन गर्न सके उत्पादन बिक्रीवितरणमा कुनै समस्या नहुने बताए। भीरकोट सुन्तलामा आत्मनिर्भर भैसकेको बताउँदै उनले सुन्तला राम्रो नगदेबाली भएकाले सुन्तला उत्पादन हुने ठाउँ खाली नराख्न कृषकहरूलाई आग्रह गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले कृषि र पर्यटनको विकास नै भीरकोटको समृद्धिको आधार भएकाले नगरपालिकाले यी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए। केही गर्न चाहने नवीन सोच भएका उद्यमीहरूले जुनसुकै समयमा नगरको सम्पर्कमा आएमा नगरपालिकाले सक्दो सहयोग गर्ने उनको भनाई छ।