जाली अन्जान – कविता

चैत ०२, २०७८


“जाली अन्जान

म रित्तोले तिमी रित्तोलाई भर्न सँधै मरिरहँदा, तिमी चुहिदियौ, जानाजान पोखिइदियौ,
बिस्तारै सबै देख्दै गएँ, बुझ्दै गएँ।

तैपनी,
आगोले पोलिदिँदा नचिच्याई हात हटाईदिएँ,
काँडामा टेकाईदिदा हाँसेरै खुट्टा हटाईदिएँ।

वस्त्रविहिन बनाई हिँउमा फालिदिँदा
म न्यानो मानिरहेँ,
अन्धकार बाटोमा दौडाउँदा बेजोडले अन्धाधुन्ध दौडिरहेँ।

पिडाको शैयामा बजारिदिँदा म निदाईदिएँ,
विश्वासघातको महलमा कोचीदिँदा म मुस्कुराईदिएँ।

चुँडाएर रुखमा अड्काएको चङ्गाको धागो थमाईदिँदा म रमाईदिँए

आँखाको सँघारबाट हुत्तिनै लागेका आँशुलाई बाँध ठोकी विश्वासको नजर जन्माईदिएँ।



किनकि,
कहिलेकाहीँ जिन्दगिलाई आफ्नै गतिमा स्वतन्त्र  छोड्न,
सबै जानेर पनि अन्जान बनिदिँदा निकै सहज हुनेरैछ।

©️कुशल पोख्रेल