राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाद्वारा वृक्षारोपण

भदौ ०५, २०८०


स्मार्ट संवाददाता, स्याङ्जा
५ भाद्र २०८०
जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले वृक्षारोपण गरेको छ । युवा संघको देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको हो । “एक युवा ५ फलफुलका विरुवा सामुदायिक विद्यालय परिसरमा” भन्ने अभिप्रायका साथ मंगलबार बिहान सिद्धार्थ बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रम नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य तथा प्रदेश सांसद सुधिर कुमार पौडेलको समेत उपस्थिति थियो।

कार्यक्रममा सांसद पौडेलले युवा संघले राम्रो कार्यको शुरुवात गरेको भन्दै विद्यार्थीलाई व्यवहारिक ज्ञानमा समेत अग्रसर बनाउनुपर्ने बताए । विद्यार्थीलाई व्यवसायिक रुपमा समेत फलफुल खेतिमा अगाडि बढाउन मद्दत गर्ने भन्दै युवा संघले युवाहरुको विकासको लागी यस्तै रचनात्मक कार्य गर्नुपर्नेमा सांसद पौडेलको जोड दिए।

कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष पिताम्बर खनाल शुसिलले जिल्लाका हरेक सामुदायिक क्याम्पस तथा विद्यालयहरुमा यो अभियान सञ्चालन गरिने बताए। आँप, लिचि, रुख कटहर, नास्पती, अम्बा, अमला, एभोकाडोलगायतका विरुवा रोपण गरिएको युवा संघका सचिव राधाकृष्ण शर्माले जानकारी दिए।