भीरकोटमा विशेष योग प्रशिक्षण शिविर संचालन हुने

जेठ १२, २०७९


१२ जेठ २०७९
स्मार्ट अखबार संवाददाता

स्याङ्जाको बालमैत्री नगर भीरकोटमा विशेष योग प्रशिक्षण शिविर संचालन हुने भएको छ । यही जेठ १८ गतेदेखि २२ गतेसम्म आँधीखोला सिटी हल कृषिमा योग शिविर संचालन हुने भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो । “योग गरौं, निरोगी रहौं” भन्ने नाराका साथ संचालन गर्न लागिएको योग शिविरमा पतञ्जली योगपिठ हरिद्वारका योग साधिका पूज्य साधवी देवादितीले प्रशिक्षण दिनुहुनेछ । पतञ्जली योग समिति स्याङ्जाको संयुक्त आयोजनामा संचालन हुने योग शिविरको व्यवस्थापन भीरकोट नगरपालिकाले गर्ने जनाइएको छ ।

निशुल्क संचालन हुने योग शिविरमा सहभागी हुन इच्छुक व्यक्तिहरूले योग शिविर संयोजक आनन्द चिलुवाललाई वा नगरपालिकामा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ। बिहान ५ -७ बजेसम्म संचालन हुने योग शिविरमा आयुर्वेदिक औषधिको महत्त्व तथा प्रयोगको विषयमा समेत प्रशिक्षण दिइने शिविर संयोजक चिलुवालले जानकारी दिनुभयो ।