वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा, ३ सय जना लाभान्वित

बैशाख १४, २०८१


१४ वैशाख २०८१, वालिङ

स्याङ्जाको वालिङ नगरपालिकाले छोरी जन्माउनेलाई गर्दै आएको निःशुल्क स्वास्थ्य बीमा प्रभावकारी बनेको छ । नगरपालिकाले यो आर्थिक वर्षदेखि छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमाको सुरु गरेको हो ।

छोरीहरुलाई समाजले दोस्रो दर्जाकारुपमा हेर्ने गरेको अवस्थामा नगरपालिकाले उक्त कार्यक्रम लागु गरेको नगर प्रमुख कृष्ण खाँणले बताए  । छोरीहरुलाई  प्रोत्साहन गर्नुपर्ने नगर प्रमुख खाँणको धारणा छ।

“आधा हिस्सा ओगटेका नारीहरुको सम्मानका साथै उनीहरुको मनोबल उच्च राख्न आवश्यक छ । जहाँ नारीको सम्मान हुन्छ, त्यो समाज सुसंस्कृत र समुन्नत हुन्छ।” नगर प्रमुख खाँणले भने   “घर र समाजमा नारीहरुको महत्वपूर्ण भूमिका रहँदा रहँदै पनि समानरुपमा सम्मान दिन सकिएको छैन ।” यसमा टेवा पुगोस भन्ने नगरपालिकाको उद्देश्य रहेको नगर प्रमुख खाँणले बताए।

यसैगरी नगर उपप्रमुख कविता तिवारी गैह्रेले  निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले नारी उत्थानमा भूमिका खेल्ने बताइन् । उनले  नगरबासी आमा दिदी बहिनीले यो कार्यक्रममा सहभागी भई लाभ लिन आग्रह गरेकी छन्। नागरिकको स्वास्थ्य ठूलो कुरा भएको उल्लेख गर्दै नगर उप प्रमुख तिवारीले नारी सम्मानसँगै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको बताइन्।

वालिङ नगरपालिकामा यो आर्थिक वर्षमा मात्र करिव ३०० जना नागरिकको निशुल्क स्वास्थ्य  बीमा गरिएको नगरपालिकाले जानकारी दिएको छ ।