स्मार्ट संवाददाता, गल्याङ
१ असोज २०८०
कालीगण्डकी गुरूकुललाई स्याङ्जा सहयोग समाजले प्राविधिक सहयोग गरेको छ। पाल्पाको रम्भा गाउँपालिका वडा नं १ असेर्दीमा अवस्थित गुरूकुललाई सहयोगी संस्थाले बुधबार अत्याधुनिक प्रविधिको २ वटा पानी छान्ने फिल्टर उपलब्ध गराएको हो।
कालीगण्डकी नदी किनारमा रहेको गुरूकुलमा शुद्ध खानेपानीको समस्या रहेको कुरालाई मध्येनजर गरी प्रतिघण्टा ३५ लिटर पानी छान्ने क्षमता भएका फिल्टरहरू प्रदान गरिएको सहयोगी संस्थाका अध्यक्ष प्रकाश परियारले जानकारी दिए। फिल्टरबाट आवश्यकता अनुसार तातो चिसो पानी समेत प्रयोग गर्न सकिने बताइएको छ।
रम्भा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष इश्वर काफ्ले र गल्याङ नगरपालिका वडा नं १ वडा अध्यक्ष मणि प्रसाद बस्याल लगायतका जनप्रतिनिधिहरूको रोहबरमा गुरूकुललाई फिल्टर प्रदान गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल,स्याङ्जा सहयोग समाज कतारका प्रकाश परियार,स्याङ्जा सहयोग समाजका कार्यालय प्रमुख चिरञ्जीवी ढकाल, स्याङ्जा सहयोग समाज कतारका पूर्व सदस्य बिदुर कोइराला र गुरूकुल व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले पूण्य भूमिमा रहेको पवित्र संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए। उनले गुरूकुलको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियारले संस्थाले विशुद्ध सामाजिक भावनाले गुरूकुललाई सहयोग गरेको बताए।अध्यक्ष परियारले संस्थाले स्थापना कालदेखी नै विशुद्ध सामाजिक भावनाले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग गरेको जानकारी दिए।
कालीगण्डकी गुरूकुलका अध्यक्ष चैतन्य कृष्णले पवित्र मनले गरिएको सहयोगप्रती आभार व्यक्त गरे। स्थानीय जनप्रतिनिधि र गुरूकुलका पदाधिकारीले पनि सहयोगी संस्थालाई आभार एवं कृतज्ञता प्रदान गरेका थिए। रम्भा गाउँपालिका वडा नं १ का अध्यक्ष इश्वर काफ्लेले संस्थाले देखाएको सदासयता र सहयोगका लागि आभार व्यक्त गर्दै स्याङ्जा सहयोग समाजले गरेको सामाजिक र मानवीय सेवाको प्रशंसा समेत गरेका थिए।

