पाँच स्वास्थ्य संस्थाको भवन निर्माण हुँदै, जगतभञ्ज्याङमा शिलान्यास

चैत २३, २०७८


स्मार्ट अखबार संवाददाता,
वालिङ, २३ चैत ।

स्याङ्जाको वालिङ नगरपालिकामा पाँच वटा स्वास्थ्य संस्थाको भवन निर्माण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वालिङ नगरपालिकाको साझेदारीमा वालिङका पाँच वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुने भएको हो ।
वालिङ वडा नं. ५ मा जगतभञ्ज्याङ स्वास्थ्यचौकी, वडा नं. १२ मा सिर्सेकोट स्वास्थ्यचौकी, वडा नं. ९ मा डुडखोला शहरी स्वास्थ्य केन्द्र, वडा नं. ११ मा कागतीभञ्ज्याङ शहरी स्वास्थ्य केन्द्र र वडा नं. १४ को डुम्रेभञ्ज्याङमा शहरी स्वास्थ्य केन्द्रकालागि बजेट बिनियोजन भई बोलपत्र आब्हान गरिसकिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वडा नं. ५ र १२ मा स्वास्थ्यचौकीको दुई वटा भवन निर्माणकालागि रु. ६४/६४ लाख, तीन वटा शहरी स्वास्थ्य केन्द्रकालागि रु. ३८ लाखका दरले रकम विनियोजन भएको हो ।

“दुई वटा स्वास्थ्यचौकी र तीन वटा शहरी स्वास्थ्य केन्द्रकालागि बोलपत्र आब्हान गरिसकेका छौं” उहाँले भन्नुभयो, “अब केही दिनमा निर्माण कम्पनी छनोट भई तोकिएको समयावधिभित्रै भवन निर्माण सम्पन्न हुने छ ।” दुई वर्ष पहिलेदेखि रोकिएको कार्य अहिले शुरु भएको उहाँले बताउनुभयो । नगरका १४ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन, स्वास्थ्यकर्मीहरुमार्फत नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँच पु¥याईने उहाँले बताउनुभयो । नगरपालिकाका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालसहित, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्रहरु स्थापना भईसकेका छन् । वालिङका नागरिकको स्वास्थ्यप्रति नगरपालिका सचेत रहेकाले यहाँका कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर हुनुनपर्ने उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । स्वास्थ्य संस्थाको भवन निर्माणकालागि बजेट विनियोजन भएका स्थानहरुमा जग्गा प्राप्ति भईसकेकाले भवन निर्माण पनि थालिने स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । बुधबार वालिङ ५ स्थित जगतभञ्ज्याङ स्वास्थ्यचौकीको नगर प्रमुख दिलीपप्रताप खाँणले शिलान्यास गर्नुभएको छ ।