संघीय सरकार र प्रदेश सरकारको तर्फबाट स्थानीय तहका सरकारहरुलाई हेर्ने र सम्बन्ध कायम गर्ने विषयमा राजनीतिक दृष्टिकोणका कारणले समतामुलक व्यवहार कायम नभएको धेरै स्थानीय तहका जनप्रतिनिधिहरुको गुनासो छ । जसका कारणले स्थानीय तहहरुमा सम्भाव्यताको आधारमा समतामुलक विकासको आधार तयार हुन नसकेको यथार्थ नतिजा नै सचित्र रूपमा देख्न सकिन्छ ।
भौगोलिक विविधता, असमान पहुँच र निराशामुखी राजनीतिका बीच सयौं मध्ये केही स्थानीय तहहरुले भने उपलब्ध स्रोत र जनशक्तिको परिचालन गरि दिगो एवं द्रुत विकास र व्यवस्थापनको आधार तयार गरेको देख्न सकिन्छ । जसमध्ये स्याङ्जाको वालिङ नगरपालिकाले पनि आफुलाई योजना निर्माण, शहरी व्यवस्थापन र सुशासनमा अब्बल साबित गर्दै आर्थिक वर्ष ०७७/०७८ मा नेपाल नगरपालिका संघबाट पूरस्कृत हुन सफल भएको छ । स्मार्ट सिटी निर्माणको अवधारणामा अगाडि बढिरहेको वालिङले साँच्चिकै जनप्रतिनिधिले नेतृत्व गरेको ४ वर्षमा के–कस्तो काम गरेको छ ? जसको आधारमा वालिङ नगरपालिका देशकै उत्कृष्ट नगरपालिका ठहरिन सक्छ ? यहाँ यिनै विषयमा केही चर्चा गरिएको छ ।
जनप्रतिनिधिल नेतृत्व गर्नुपूर्वको अवस्था
वालिङ नगरपालिका नेपालको संविधान २०७२ मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको औपचारिक रूपमा शुरुवात गर्नुपूर्व नेपालको संविधान २०४७ अनुसार नगरपालिकाको रूपमा वालिङ, धनुबाँसे र पेखुबाघखोर गाविसलाई मिलाएर २०५३ सालमा सालमा स्थापना भएको थियो । नयाँ संविधान निर्माण पश्चात संघीयताको ढाँचाअनुरूप २०७३ सालमा साविकको वालिङ नगरपालिका, साविक गा।वि।सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै भूगोल र छाङछाङ्दी, मल्याङकोटको तिनदोबाटे, कालिकाकोट, पेलाकोट, स्वरेक गाविसका केही भूगोलहरुलाई समेटेर वालिङ नगरपालिका स्थापना गरिएको थियो ।
स्याङ्जा जिल्लाभित्रका शहरी केन्द्रहरुमध्ये भौगोलिक अनुकुलताको कारण वालिङ बजारले आफुलाई एउटा व्यापारिक केन्द्रको रूपमा उभ्याउँदै आएको थियो । आँधिखोला, मिर्दिखोला, अर्मादी खोला, सिद्धार्थ राजमार्ग, गह्रौंसुर मन्दिर र रत्नेदेखि भकुण्डेसम्म फैलिएको समथर बस्तीयोग्य तथा खेतीयोग्य भूगोल वालिङ नगरको लागि बरदानको रूपमा रहँदै आएका छन् ।
०७४ को नगर निर्वाचन पूर्वको अवस्थामा विशेषगरि बजार क्षेत्रमा सबैको व्यक्तिगत र सामूहिक पहलमा शैक्षिक क्षेत्र र संस्थागत क्षेत्रको विकास गर्ने प्रयास र केही विकास गरेको भएतापनि भौतिक, सुचना प्रविधि, संस्थागत विकास, व्यवस्थापनलगायत क्षेत्रको विकासमा वालिङले धेरै फड्को मारिसकेको थिएन ।
समन्वयकारी, सिर्जनशिल एवं जाँगरिला मेयर खाँण
बुवा यामबहादुर र आमा फुलकुमारीको सन्तानको रूपमा वि.सं. २०२४ सालमा मेयर खाँणको जन्म भएको हो । खाँण जन्मिएको परिवार राजनैतिक एवं सामाजिक गतिविधिमा सक्रिय थियो । बुवा यामबहादुर वि.सं. २०१५ सालमा भएको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । राजनैतिक परिवारमा जन्मिएका कारण मेयर खाँण पनि सानै उमेरदेखि नै राजनीतिबाट प्रभावित एवं सो क्षेत्रमा आकर्षित भएका थिए ।
‘सायद मैले ४/५ कक्षा पढ्दै थिएँ, त्यतिबेला स्कुलमा नेबिसंघको सदस्यता रसिद काट्ने चलन थियो । नेबिसंघमा आवद्ध नेतृत्वहरुले मलाई तिम्रो बुवा कांग्रेसको नेता हो, यो नेबिसंघ कांग्रेसकै विद्यार्थी संगठन हो । तिमी यसमा संगठित हुनुपर्छ भने । म त्यतिबेलादेखि नै नेबिसंघमा जोडिदै आएँ ।’
खाँणको अनुभवअनुसार उनी ०३७ सालदेखि नै राजनीतिमा जोडिँदै आए । ०३६ सालको राजनीतिक हड्तालको सन्दर्भमा उनी रोचकपूर्ण अनुभव सुनाउँछन् । ‘हामी कक्षा ४ मा पढ्दै थियौं । एकदिन अर्को कक्षामा पर्र डेस्क बजाएको आवाज आयो । ‘लौ हरिताल आयो’, भने साथिहरुले । ६/७ कक्षाका विद्यार्थीहरु बाहिर निस्के । हामी पनि लौ हरिताल आयो भनेर निस्केर घरतिर लाग्यौं । मैले सोंच्थे कि हरिताल भनेको गाइजात्रामा नाच्ने लाखे जस्तै डरलाग्दो कुनै चिज होला भनेर ।’
औपचारिक अध्ययनको रूपमा मेयर खाँणले विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह र मानविकी संकायबाट स्नातक तह उत्तिर्ण गरेका छन् । स्नातक तहको अध्ययनपश्चात उनले वालिङ भकुण्डेमा रहेको पूर्णामृत विद्यालयमा ५ वर्ष अस्थायी शिक्षकको रूपमा अध्यापन पनि गराए । अध्यापनकै शिलशिलामा ०५४ सालमा स्थानीय निकायको निर्वाचनमा वालिङ नगरपालिकाको निर्वाचनमा उपमेयर पदमा खाँणले उम्मेदवारी दिएर बिजयी भए । सँगै अन्य व्यवसाय एवं उद्यमका बाबजुद उनले राजनीतिक क्रियाकलापलाई पनि आफ्नो जीवनको प्राथमिक कार्यका साथ अगाडि बढाए ।
राजनीतिक एवं सामाजिक कामको शिलशिलामै खाँणले अगुवाई गरेर गरिमा विकास बैंकको स्थापना गरि झण्डै १२ वर्ष सो बैंकको सञ्चालक समितिको अध्यक्ष रूपमा काम गरे । यस्तै वालिङ क्षेत्रमा रहेका सहकारी र अन्य धेरै सामुदायिक एवं संस्थागत क्षेत्रको स्थापना र सञ्चालनमा खाँणको सहभागिता रहेको छ । २०७४ वैशाखमा भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धीलाई १ हजार ८ सय ५१ मतले पछाडी पार्दै उनी बिजयी भएका थिए ।
मेयर खाँण आफ्नो जिम्मेवारीमा रहेको नियमित कामको अलावा जनतालाई आइपर्ने समस्या, सामाजिक समस्या, खेलकुदलगायतका काममा समय छुट्याएर लागिरहन्छन् । सबै राजनीतिक पक्ष र सबै क्षेत्रसँग समान तालमेल गरेर काम अगाडि बढाउने क्षमता मेयर खाँणमा भएको धेरैले टिप्पणी गरेको पाइन्छ । सोंच, योजना र कार्यान्वयनमा सिर्जनशिल भएकै कारण मेयर खाँणले धेरै विधामा पालिकालाई नमुनाको मार्गमा लैजान सफल भएको देखिन्छ ।
स्मार्ट नगरको दिशामा वालिङ
नयाँ संविधान सँगै बनेको नयाँ राज्यको ढाँचा अनुरूपको एउटा महत्पूर्ण अंग हो स्थानीय तह वा स्थानीय सरकार । संघीयताको मर्म र सिद्धान्त अनुसार हेर्दा स्थानीय तह भनेको अधिकार सम्पन्न एवं आम जनतासँग प्रत्यक्ष जोडिएको तहको सरकार पनि हो । अहिले हाम्रो देशमा ७ सय ५३ वटा स्थानीय तह र तिनलाई सञ्चालन गर्ने सरकार रहेका छन् । स्थानीय तहको निर्वाचन भएको झण्डै साढे ४ वर्षको समय बित्न लाग्दा सबै स्थानीय तहले भने उस्तै प्रकारको नतिजा दिन सकिरहेका छैनन् । तुलनात्मक रूपमा हेर्दा केही स्थानीय सरकार र त्यसका नेतृत्व मात्रै सबल, सिर्जनशिल र सफलताउन्मुख देखिएका छन् । त्यसमध्ये सिर्जनात्मक र परिणाममुखी कामहरुको शुरुवात गर्ने र नतिजा प्रदान गर्ने पालिकामध्ये वालिङ नगरपालिका बन्न सफल भएको देखिन्छ । जसमध्ये हामीले वालिङ नगरपालिकाले गरेका केही कामहरुलाई उदाहरणको रूपमा लिएर अध्ययन गर्न सक्छौं ।
सिर्जनशील
वालिङ नगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्ने विषयमा नेपाल सरकारले सुचिकृत गरेपछि त्यसलाई कार्यान्वयन गर्ने कामलाई पालिकाले तिव्र गतिमा अगाडि बढाएको छ । नगरपालिका स्मार्ट बन्नको लागि उसले तोकिएको १ सय ६ वटा इन्डिकेटरमा पास हुनुपर्छ । जसमा, फोहोर व्यवस्थापन, सुशासन, उत्पादन, रोजगार, सुचना प्रविधि, प्रयोगात्मक शिक्षा, स्वास्थ्यलगायतका धेरै विषयहरुलाई नगरपालिकाले व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।
स्मार्ट सिटी निर्माणको लागि नगरपालिकाले २० वर्षको समय अवधि राखेर तालिकावद्ध रूपमा काम गर्दै आएको छ । जसमध्ये फोहोर व्यवस्थापन, सुचना प्रविधि, सुशासन, योजना निर्माण आदि लगायतका विषयमा धेरै काम गरिसकेको देखिन्छ ।
फोहोरको दिगो एवं आधुनिक व्यवस्थापन
शहरीकरणको प्रक्रियामा फोहोरको दिगो एवं आधुनिक व्यवस्थापन नै पहिलो र चुनौतिपूर्ण शर्त हो । फोहोरमैलाको उचित व्यवस्थापन गर्न नसकिएमा सभ्य समाज वा शहरको विकास गर्न सकिँदैन् । अहिले नेपालका अधिकांश साना वा ठुला शहर वा शहर उन्मुख आवादी क्षेत्रहरुले भोगेको मुख्य समस्या नै फोहोरको दिगो व्यवस्थापन गर्न नसक्नु हो ।
वालिङ नगरपालिकाले पालिका भित्र पर्ने बजार क्षेत्रलाई सफा राख्ने हिसाबले फोहोरको दिगो एवं आधुनिक व्यवस्थापन कार्यक्रमलाई अगाडि बढाएको छ । डम्पिङ साईड र ल्यान्डफिल्ड साइड नबनाइकन नै फोहोरको व्यवस्थापन गर्ने विधि पालिकाले अपनाएको छ । जसलाई वेष्ट रिसोस्सेस मेनेजमेन्ट सेन्टर भनेर सञ्चालन गर्न खोजिएको छ । फोहोर व्यवस्थापनको सन्दर्भमा मेयर खाँण भन्छन्, ‘हामीले यसलाई फोहोर होइन स्रोतको रूपमा व्यवस्थापन गर्न खोजेका छौं । जहाँ फोहोरलाई बर्गिकरण गर्ने र पूनः प्रयोग गर्ने रूपमा विकास गरिन्छ । जस्तै : कुहिनेलाई मल बनाउने र त्यसबाट ग्याँस निकाल्ने काम गरिन्छ । रिसाइकल गरेर पूनः प्रयोगमा ल्याउन नमिल्ने प्लाष्टिक जन्य पदार्थलाई प्लाष्टिक अलकत्रको रूपमा निर्माण गर्ने । अलकत्र निर्माण गर्दा र ट्वाइलेटबाट निस्कने ग्याँसलाई इन्धनको रूपमा प्रयोग गर्न मिल्ने संरचना निर्माण गर्ने काम गरिरहेका छौं । यसै वर्षको मंशिर सम्ममा नै हामीले यो कामलाई सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।’
सुशासन र मोबाइल एप्लिकेशन सेवा
वालिङ नगरपालिकाले सेवाग्राहीलाई प्रदान गर्ने अधिकाश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवहार अबलम्बन गर्दै आएको छ । पालिकाले आफ्नो मातहतका वडा कार्यालयबाट झण्डै ७१ प्रकारका सेवा सुविधा सेवाग्राहीलाई एप्लिकेशन वा डिजिटल माध्यमबाट उपलब्ध गराउने गरेको छ । जसको लागि पालिकाले आफ्नो छुट्टै मोवाइल एप्लिकेशनको विकास गरेको छ । सुचना प्रविधिको प्रयोग गरेर सेवाग्राहीलाई सेवा दिनको लागि वालिङ नगरपालिकाले गरेको यो अत्यन्तै उत्कृष्ट र नमुना काम हो । जसले गर्दा सम्पूर्ण नगरवासी समुदायलाई प्रविधिमैत्री बनाउँदै समयको बचाउमा सहयोग पूर्याउने काम गर्छ । यस्तो प्रकारको काम देशका केही स्थानीय तहहरुले मात्रै प्रारम्भ गरेको देखिन्छ ।
जस्तै उदाहरणको रूपमा कुनै सेवाग्राहीलाई आफ्नो नागरिकता वा अन्य कुनै विषयमा सिफारिस आवश्यक पर्यो भने त्यसको लागि त्यो सेवाग्राही नगरपालिका वा वडा कार्यालयमा गइरहन पर्दैन् । पालिकाले सम्पूर्ण पालिकावासीसँग सम्बन्धित तथ्यांकलाई डिजीटल रूपमा सुरक्षित गरेको छ । सेवाग्राहीले आफ्नो मोवाइलमा गुगल प्ले स्टोरमार्फत स्मार्ट वालिङ एप्लिकेशन डाउनलोड गर्न सक्छ । जसको माध्यमबाट उसले सजिलैसँग आफुले चाहेको सेवाको लागि निवेदन र शुल्क भूक्तानी गरेर डिजिटल रूपमा नै सेवा लिन सक्ने व्यवस्था रहेको छ । नेपालको गर्भमेन्ट क्लाउडमा डाटा राख्ने पहिलो नगरपालिका पनि वालिङ नगरपालिका हो ।
पालिकाले योजना निर्माण एवं छनौटमा पनि भ्रष्टाचार एवं पहुँचको दुरूपयोग नहोस भन्ने हिसाबले उपयुक्त विधिको अबलम्बन गर्ने अभ्यास गरेको मेयर खाँण बताउँछन्, ‘हामीले यो वर्षबाट सम्पन्न गरिएका आयोजनाहरुमा ईन्जिनियर, ठेकेदार वा उपभोक्ता समितिको अध्यक्ष/सचिवको नाम लेख्ने कामको शुरुवात गर्दैछौं । जसले गर्दा राम्रो गरेका छन् भने पनि तिनले जस लिनेछन, भने नराम्रो गरेको भए तिनिहरुले गाली पाउनेछन् ।’
वालिङ नगरपालिकाले दैनिक रूपमा कार्यसम्पादन भएका कामहरु, आम्दानी तथा खर्चलाई डिजिटल रूपमा सुरक्षित गर्ने काम गर्छ । मेयर खाँणका अनुसार प्रत्येक आयोजनाहरुमा बिनियोजन भएको बजेट, भएको खर्च, प्रगति र बाँकी कामको विषयमा पालिकाले प्रत्येक १५/१५ आफ्नो वेबसाइटमा अपडेट गर्ने पद्धतीको अभ्यास गरेको छ । साथै नगरपालिकाले काम गर्दा मेयर र प्रशासकिय अधिकृत, प्रशासकिय अधिकृत र सम्बन्धित अन्य कर्मचारीको बीचमा कार्यसम्पादन सम्झौता गरेर मात्रै काम गर्ने परिपाटीको विकास गरेको छ । जसले गर्दा काम गर्ने विषयमा एकअर्काले आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण र अनिवार्यता निर्माण भएको मेयर खाँणको भनाई छ ।
नगरपालिकाले जनतासँगबाट उठाउने प्रत्यक्ष र अप्रत्यक्ष करलाई आम्दानी र खर्चको क्षेत्रमा पनि पारदर्शी बनाउने अभ्यासकोे शुरुवात गरेको छ । ‘कुन शिर्षकबाट आम्दानी भएको कर कति हो र त्यो कुन शिर्षकमा के कति खर्च भएको छ भन्ने कुरासमेत हामीले पारदर्शी हिसाबले आम जनताले थाहा पाउने गरि देखाउने विधि यो आर्थिक वर्षबाट अबलम्बन गरेका छौं,’ मेयर खाँणले बताए । वालिङ नगरपालिकाले आफ्नै अगुवाईमा व्यवसायी र बैंकिङ क्षेत्रसँग समन्वय गरि क्यासलेस बजार बनाउने अभियान पनि सञ्चालन गरेको छ । पालिकाका प्रशासकीय प्रमुख राजन भट्टरार्ईका अनुसार पालिकाले यहि आर्थिक वर्षदेखि सबै नागरिकले सुचना प्रविधिको प्रयोग गरि सेवा सुविधा लिन सकुन भन्ने उद्देश्यले टोल स्तरीय क्लबहरु निर्माण गरि सबैलाई प्रशिक्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
शहरी योजना
व्यवस्थित शहर तथा नगरको विकासका लागि नगरपालिकाले बृहत शहरी योजना २०७७ को निर्माण गरेको छ । जसमा आधुनिक समयमा नगर वा शहरको निर्माण गर्दा शमावेश गर्नुपर्ने सम्पूर्ण पक्षलाई समेटेर तयार पारिएको छ । सो योजनामा २० वर्षमा स्मार्ट सिटी बनाउने विषयलाई अगाडि सारिएको छ । पालिकाले निर्माण गरेको सोहि शहरी योजना देशकै उत्कृष्ट योजना हुन पूगेको हो ।
रेजिडेन्ट सिटी निर्माण गर्नको लागि पालिकाभित्रको १४ वटा ठाउँलाई लिएर कामलाई अगाडि बढाइएको छ । अहिले वालिङ सुर्कौदीमा ल्यान्ड पूलिङको सहायताले नमुनाको रूपमा काम गरिरहेको मेयर खाँण बताउँछन् । मेयर खाँणका अनुसार बाढी, पहिरोबाट सुरक्षित, ढल निकास, शुद्ध खानेपानी, सडकको व्यवस्था, समान प्रकृतिका घरलगायतका विषयलाई समेटेर १४ वटा रेजिडेन्ट सिटी निर्माण हुनेछन् । जसमा २ सय ५० देखि ६ सय रोपनीसम्मका क्षेत्रफलमा त्यस्ता बस्तीको निर्माण गरिनेछन् । सो क्षेत्रमा बनाइने घरमा सोलार प्यानलको छाना बनाइनेछ । प्रत्येक घरले दिउसोको समयमा बिजुली बेच्ने र रातिको समयमा किन्ने स्थितिको निर्माण हुनेछ, जसले गर्दा प्रत्येक घरले मासिक रूपमा बिजुली बेचेर केही पैसा समेत कमाई गर्नसक्नेछन् ।
प्रत्येक १०/१० घरमा एउटा सेफ्टी ट्याङकी बनाइने र सेफ्टी ट्याङ्कीबाट बायोग्याँस निकालेर प्रयोगमा ल्याइने संरचनाकोे निर्माण रेजिडेन्ट क्षेत्रमा बनाइनेछ । स्मार्ट रेजिडेन्ट सिटी निर्माण गर्ने विषयमा सर्वे गर्ने र ढाँचा निर्माण गर्ने काम सम्पन्न भइसकेको मेयर खाँणले बताउँछन् । उनका अनुसार यो विषयमा पहिलो चरणको काम सम्पन्न भइसकेको छ । दोस्रो चरण वा कामको शुरुवात गर्नको लागि बजेटको व्यवस्था गरेर अगाडि बढ्न बाँकी रहेको छ । स्मार्ट रेजिडेन्ट बनाउने विषयमा यसरी योजना निर्माण गरेर अगाडि बढेको नेपाल भरिकै पालिकामा वालिङ पहिलो भएको मेयर खाँणको भनाई छ । सर्वेलगायतका ढाँचा निर्माण गर्ने काममा शहरी तथा भवन निर्माण विभागले कन्सल्टेन्सी खरिद गरि काम गर्न सहयोग गरिरहेको छ ।
रेजिडेन्ट सिटी निर्माण गर्दा पालिकाभित्रको दुर्गम क्षेत्रमा छरिएर रहेका बस्तिलाई एकिकृत गर्नेगरि काम गरिनेछ । छरिएर रहेको जमिनलाई नगरपालिकाले चलनचल्तिको मुल्यमा खरिद गर्ने र रेजिडेन्ट क्षेत्रमा उनीहरुलाई आवास निर्माणको लागि सहभागी गराउने गरि काम गरिनेछ ।
उद्यमशिलता प्रवर्द्धन
वालिङ नगरपालिकाले उद्यमी प्रवद्र्धनको क्षेत्रमा तुलनात्मक रूपमा नमुना एवं व्यवहारिक कार्यक्रम गरेको देखिन्छ । विदेशबाट फर्केर आएका युवाहरु, कुनै उद्यम गर्न चाहने व्यक्तिहरु र सीपलाई उद्यममा परिवर्तन गर्न चाहने व्यक्तिहरुलाई उद्यमी बन्नको लागि पालिकाले समन्वय र सहयोग गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
उद्यमशीलता व्यवशाय प्रवर्द्धन तथा नवप्रवर्तन केन्द्र ईबिक पालिकाले युएनडिपी सँग सहकार्य गरेर सञ्चालनमा ल्याएको हो । विदेशमा गएर फर्केका वा उद्यमशिलता गर्न चाहने युवाहरुलाई आवश्यक जानकारी स्थानीय रेडियो र टेलिभिजनबाट पालिकाले सुचना गरिरहेको हुन्छ । जसमार्फत स्वरोजगार हुन चाहने वा व्यवसाय गर्न चाहने युवाहरु पालिकाको सम्बन्धित कार्यक्रम कार्यालयमा सम्पर्कमा आउन सक्छन् । उद्यमी हुन चाहने युवाहरुले गर्न चाहेको पेशा वा व्यवसाय, सम्भावना, लगानी, आदिको अवस्थालाई कार्यालयबाट बुझ्न सक्छन् । कुनै व्यवसायको विषयमा विज्ञकै स्तरमा परामर्श लिनको लागि पालिकाले १ सयभन्दा बढी परामर्शदातालाई सम्पर्कमा राखेको छ । सम्बन्धित कार्यालय र प्रतिनिधिमार्फत व्यवसायको विषयमा बुझिसकेपछि आवश्यक लगानीको व्यवस्थाको लागि पालिकाले बैंक तथा बित्तिय संस्थासँग पनि समन्वय गरिदिने काम गर्छ ।
कृषि, पशुपालन तथा फलफुल व्यवसाय गर्ने किसानहरुलाई लक्षित गरेर पालिकाले उनीहरुले उत्पादन गरेको वस्तुलाई बिक्रीको ग्यारेन्टी गर्ने कार्यक्रमको समेत व्यवस्था मिलाएको छ । जसको लागि पालिकाले केही सहकारीहरुसँग समन्वय गरेर उत्पादन प्रवद्र्धन र बजार व्यवस्थापनको लागि जिम्मेवारी दिएको छ । सो कार्यक्रममार्फत वालिङका सयौं किसानहरुले प्रत्यक्ष रूपमा सुविधा लिएको देखिन्छ ।
पालिका र युएनडिपीसँग सहकार्य गरि कृषि उद्यम विकास कार्यक्रम र कोभिड १९ सामाजिक आर्थिक प्रतिकार्य कार्ययोजनामापालिकाभित्रका झण्डै ५ हजार ३ सय मानिसहरुले विभिन्न किसिमको तालिम, सहयोग र समन्वयमुलक सहयोग प्राप्त गरेका छन् । वालिङ नगरपालिकाले अगाडि बढाएको उद्यमशिलता प्रवद्र्धन कार्यक्रमले स्वरोजगार र उद्यमीहरुको संख्या बढाउने अपेक्षा गरिएको छ ।
ईनोभेसन ल्याब
वालिङ नगरपालिकाले सञ्चालन गरेको ईनोभेसन ल्याब साँच्चिकै नमुना काम हो । जसमा स्मार्ट बिल्डिङहरु निर्माण गर्न सेन्सर, जिपिएस, बाँदर धपाउने मेशिन र ड्रोन लगाएतका सामाग्रीहरुको निर्माण गरिन्छ । ल्याबमा ४ कक्षा देखि १० कक्षा सम्मका विद्यार्थीहरुले सिक्ने र प्रविधिको निर्माण गर्ने अवसर प्राप्त गर्छन् । ल्याबमा इच्छुक व्यक्तिहरु शनिवार आएर सिक्दै अनुसन्धान सक्छन् । जसमा कसैले ईनोभेसन गरेर केही नयाँ आविस्कार गर्न सकेमा सम्बन्धित व्यक्तिको नाममा प्याटेन्ट दर्ता गर्ने कार्यमा नगरपालिका आँफैले सहयोग गर्ने नीति लिएको छ ।
वालिङ नगरपालिकाले तुलनात्मक रूपमा प्रारम्भ गरेका नमुना कामहरुले पालिकाले लिएको स्मार्ट सिटी निर्माण गर्ने उदेश्यलाई प्राप्ति गर्नको लागि सहयोगी भूमिका खेल्ने देखिन्छ । पालिकाले माथि उल्लेखित नमुना कामहरु बाहेक अन्य केही कामहरुलाई पनि विशेष ढंगले नतिजामुखी रूपमा गर्ने शुरुवात गरेको देखिन्छ ।
खरका छाना हटाउने कार्यक्रम
वालिङ नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ मा पालिकाभित्र रहेका खरका छानालाई बिस्थापित गरि जस्तापाताको छाना लगाउने निर्णय गर्यो । प्रति घरलाई ५० हजार रूपैयाँ सहयोग दिनेगरि पालिकाले आह्वान गर्दा ४ सय ३१ घरले पालिकामा खरको छाना बिस्थापित गर्नको लागि निवेदन दिएका थिए । चालु आर्थिक वर्षको शुरु अवधिसम्म २ सय ५६ घरका खरका छाना हटाउने काम भएको छ । अहिलेसम्म पालिकाले खरका छाना विस्थापित गर्ने कार्यक्रमको लागि १ करोड २७ लाख खर्च गरेको छ । आर्थिक असक्षमताका कारण आफ्नो घरमा जस्तापाता लगाउन नसक्ने सयौं परिवार सो कार्यक्रमबाट प्रत्यक्ष रूपमा लाभान्वित हुन पूगेका छन् । खरका छाना हटाउन बाँकी रहेका छानाहरुलाई चालु आर्थिक वर्षभित्रमा विस्थापित गरिसक्ने पालिकाले लक्ष्य लिएको छ । सो कार्यक्रम पालिकाले केन्द्र सरकारसँगको सहकार्यमा सञ्चालन गरिरहेको छ ।
एक पालिका एक रङ कार्यक्रम
वालिङ क्षेत्र प्रवेश गर्ने जो सुकै मानिसले पनि सजिलै अनुभव गर्न सक्ने खोज्न नपर्ने वालिङ नगरपालिकाले कार्यान्वयन गरेको एउटा महत्पूर्ण काम हो ‘एक रंग कार्यक्रम’ । स्थानीय तह निर्वाचनपश्चात पालिकाले अगाडि बढाएको कार्यक्रम अहिले करिब पूर्ण रूपमा कार्यान्वयन भइसकेको छ । वालिङ नगरपालिकाभित्रका सरकारी तथा निजी सबै भवनहरु अहिले करिब एउटै गुलाबी रंगले रंगिएका छन् । अन्य भूगोल र क्षेत्रको तुलनामा एउटै रंग पोतेर पालिकाले रंगको माध्यमबाट आफ्नो भिन्न पहिचान बनाउन सफल भएको छ ।
साँघुरो र घुम्तियुक्त भएको सिद्धार्थ राजमार्ग आफ्नो कार्यक्षेत्र नभएर पनि पालिकाले दुर्घटना न्युनिकरण र सहज यातायातको लागि ४ लेनको रूपमा विस्तार गर्ने कामको प्रारम्भ गर्यो । यो काम मेयर खाँणले आफु निर्वाचित भएको पहिलो वर्षमा नै शुरुवात गरेका थिए । तर राजमार्ग विस्तार गरेता पनि मेयर खाँणले हालसम्म कालोपत्रे भने गर्न सकेका छैनन् । सडक डिभिजनसँग लिखित रूपमा सहमति गरेर काम गरेको भएतापनि राजनीतिक अवरोधका कारण कालोपत्रे गर्ने काम रोकिएको मेयर खाँणको भनाई छ । सबै तहका सरकारसको राजनीतिक समिकरण परिवर्तन भएकाले अब आफुले राजमार्ग विस्तार गरेको ठाउँमा छिट्टै कालोपत्रे हुने आशा उनले राखेका छन् ।
आँधिखोलाले वर्षेनी रूपमा धार परिवर्तन गर्ने र कटान गर्ने समस्यालाई मध्यनजर राख्दै मेयर खाँणले आफ्नो कार्यकालमा सय प्रतिशत तटबन्धन गर्ने र जमिनलाई सुरक्षित गर्ने योजना अगाडि सारेका थिए । निर्वाचन भएको ४ वर्षमा पालिकाको आफ्नो लगानी र पहलमा पालिकाभित्र पर्ने झण्डै ७० प्रतिशत क्षेत्र तटबन्धन गर्ने काम सम्पन्न भएको छ । जसमा बाँकी रहेको क्षेत्रमा यहि चालु आर्थिक वर्षमा तटबन्धन गरिसक्ने मेयर खाँणको भनाई छ । आँधिखोलामा दुइतर्फी तटबन्धन निर्माण गर्ने क्रमसँगै खेतीयोग्य जमिन र नदिजन्य स्रोतसम्म पहुँचको लागि पालिकाले दुईतर्फी आँधिखोला करिडोर निर्माणको कामलाई पनि अगाडि बढाएको छ ।
पालिकाभित्र पर्यटन क्षेत्र विकास गर्ने उदेश्यले पालिकाले बाहुनथान, गह्रौंसुर र अकलादेवीलगायतका क्षेत्रलाई विशेष गुरुयोजनासहित विकासको प्रक्रियामा अगाडि बढाएको छ । त्यस्तै पालिकाले पालिकाभित्र एउटा बोटानिकल पार्क निर्माण गर्ने कामलाई अगाडि बढाएको छ । घ्वाङखोलामा निर्माण गर्न लागिएको उक्त पार्कको आधारभूत काम गरिसकिएको र झण्डै ४ करोड जति खर्च भएको छ ।
आन्तरिक आयमा वृद्धि
पालिकाले आफ्नो आन्तरिक आम्दानीमा वृद्धि गरेको छ । जननिर्वाचित जनप्रतिनिधि आउँदा झण्डै ३ करोड हाराहारीमा भएको आन्तरिक आय गत आर्थिक वर्षमा ५ करोड २४ लाख पूगेको पालिकाका लेखा प्रमुख ज्ञानप्रसाद अर्यालले बताए । लेखा प्रमुख अर्यालका अनुसार कर नबढाउने तर सबै क्षेत्रलाई समेट्ने नीति पालिकाले लिएको छ । घरभाडा कर लगायतका धेरै क्षेत्रलाई अझै करको दायरामा ल्याउन बाँकी रहेको लेखा प्रमुख अर्यालको भनाई छ ।
मेयर दिलिप खाँणलाई प्रश्न : आगामी निर्वाचन मार्फत नयाँ पूस्तालाई कस्तो अवस्थाको पालिका हस्तान्तरण गर्नुहुन्छ ?
हामीले छोडेर जाँदा, अथवा अबको ६/७ महिना पछिको अवस्थामा यो नगरपालिका आगामी यो दिशातर्फ जाँदैछ भनेर दिशा ग्रहण गरेको अवस्थामा हस्तान्तरण गरिएको हुनेछ । विदेशी दातृ संस्थाहरु जोडिएर सहकार्य गरिरहेको अवस्था हुनेछ । हामीकहाँ अहिले भएको बेरुजुको ठुलो हिस्सा नगरपालिका निर्माण गर्दा जोडिएर आएका गाविसहरु मार्फत आएको छ । हामीले यो आर्थिक वर्षमा बेरुजुलाई पनि सकेसम्म सुन्य अवस्थामा झार्ने प्रयत्न गर्नेछौं । त्यसको लागि हामीले समिति नै बनाएर काम गरिरहेका छौं ।
सुचना प्रविधिको पूर्ण रूपमा प्रयोग गरेर सुचना प्रविधिमैत्री पालिका निर्माण भएको हुनेछ । स्मार्ट आवासीय क्षेत्र र व्यवस्थित शहरको आधार तयार भएको हुनेछ । वालिङको २० वर्षे योजनामा सबैको सहभागिता रहेको हुनाले यसमा तोकिएका १ सय ६ वटा इन्डिकेटर पूरा गर्नको लागि आगामी पूस्ताले पनि सहजै ढंगले बाँकी रहेका कामहरुलाई अगाडि बढाउने अवस्था रहन्छ ।
प्रशासकीय प्रमुख राजन भट्टराईको मत
स्मार्ट नगरपालिका निर्माण गर्ने विषय २० वर्षे आवधिक योजनाअन्र्तगतको कार्यक्रम हो । अहिलेसम्म पालिकाले सम्पन्न गरेका र गर्दै गरेका कामहरुलाई मुल्यांकन गर्दा हामीले आवश्यक समय सीमाभित्र गर्नुपर्ने कामहरुलाई सम्पन्न गर्न सकिरहेका छौं । स्मार्ट नगरपालिका निर्माण गर्ने विषयसँग संघीय र प्रदेश सरकारको पनि उत्तिकै भूमिका हुने भएकाले पालिकाको तर्फबाट भएका कामहरुले सन्तोषजनक नतिजा दिइरहेको मान्नुपर्ने हुन्छ ।
शोभाकान्त पौडेलको फरक मत
नेकपा एमालेका नेता तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले भने वालिङ नगरपालिका क्षेत्रमा भएको विकासको तथ्यांकमा आफ्नो असहमति रहेको बताएका छन् । पौडेलका अनुसार स्मार्ट नगरपालिका निर्माण गर्ने कुरामा आवश्यक गतिमा पालिकाले कामको नेतृत्व गर्न सकेन्, त्यस्तै बितेका चार वर्षमा पालिका नेतृत्वले प्रदेश र संघ सरकार सँग समन्वय गरेर काम गर्न सकेन । वालिङ नगरपालिकालाई स्मार्ट बनाउने कार्यक्रम संघीय सरकारको भएको र पालिका एक्लैको पहलमा त्यो काम सम्भव पनि नहुने भएकाले संघीय सरकारसँग समन्वय गरेर काम गर्ने क्षमतामा पालिका चुकेको उनको भनाई छ ।
सुचना प्रविधिलगायत केही क्षेत्रमा कामको प्रगति भएको देखिएता पनि जनताले अनुभूती गर्ने स्तरमा काम नभएको पौडेलको गुनासो छ । वालिङ क्षेत्रको विकासमा निर्वाचन अगाडिको अवस्थामा सबै राजनीतिक दल र सम्बन्धित क्षेत्रका सबै मानिसहरु मिलेर काम गर्ने वातावरण र भावना भएकोमा अहिले त्यस्तो अवस्थालाई स्थानीय सरकारले कायम राख्न सकेको छैन् । जनप्रतिनिधिहरु सानो–सानो काममा भूल्ने तर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, आदिलगायतको क्षेत्रमा अपेक्षा गरिए अनुरूप काम गर्न नसकेको पौडेलको भनाई छ । उनका अनुसार उद्योगको स्थापना, अस्पताल निर्माण, औद्योगिक क्षेत्र निर्माण, सडक निर्माणलगायत धेरै क्षेत्रमा आवश्यक वातावरण भएतापनि नगर सरकारले समयमा नै सबै क्षेत्रसँग समन्वय गरि नतिजामुखी ढंगले काम गर्न सकेको छैन् । तथ्यांकमा भनिएजस्तो व्यवहारमा काम नभएकाले नगर सरकारसँग जनता निराश भएको पौडेलको मत छ।