जनचेतनामूलक कार्यक्रमबाट २ हजार ७ सय लाभान्वित 

असार १३, २०८१     स्मार्ट संवाददाता


स्याङ्जामा लागू औषध दुरुपयोग एवं ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सप्ताहव्यापी रूपमा जनचेतनामूलक कार्यक्रम गरी लागू औषध दुरुपयोग विरूद्धको दिवस   मनाएको हो। “The evidence is clear, Invest in Prevention” भन्ने मूल नाराका साथ मनाईएको लागू औषध दुरूपयोग एवं ओसारपसार विरूद्धको अन्तराष्ट्रिय दिवस असार ६ गतेदेखी १२ गतेसम्म मनाइएको हो।



६ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रतिनिधी सभा सदस्य  राजु थापाको प्रमुख आतिथ्यतामा र मातहत कार्यालयहरू वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट, चिसापानीले प्रभातफेरी तथा समुद्‌घाटन कार्यक्रम संचालन गरि साप्ताहिक लागुऔषध बिरूद्धको सचेतनामूलक कार्यक्रम सुरूवात गरिएको थियो।



१२ गते बुधबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सभाहलमा योग प्रशिक्षण समेत गरी लागुऔषध विरूद्धको अन्तराष्ट्रिय दिवसको कार्यक्रम समापन गरिएको हो।

सप्ताहव्यापी चेतनामूलक कार्यक्रमबाट करिब २ हजार ७ सय जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय  स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए। यो अवधिमा  जिल्लाका विभिन्न विद्यालयहरूमा १९ पटक र समुदायमा  २९ पटक गरी जम्मा ४८ वटा लागुऔषध विरूद्धको सचेतनामूलक कार्यक्रम संचालन गरिएको  थियो। सचेतामूलक कार्यक्रमबाट स्याङ्जा जिल्लामा लागुऔषध ओसार-पसार तथा सेवनलाई नियन्त्रण तथा न्यूनिकरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।बालबालिका तथा युवाहरूलाई     उत्पादनशील र श्रृजनशील बनाउन र युवा जनशक्ति लागुऔषधको दलदलमा नफसी  समाज तथा देश निर्माण कार्यमा तल्लिन हुनेछन् भन्ने अपेक्षाका साथ कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक शालिग्राम शर्माको भनाई छ।