वालिङ नगरपालिकाद्वारा बृहत निशुल्क स्वास्थ्य शिविर

असार ०४, २०७९


कला राना,वालिङ
४ असार २०७९

वालिङ नगरपालिकाले बृहत् निशुल्क प्रजनन स्वास्थ्य शिविरको आयोजना गरी गाउँघरमै स्वास्थ्य सेवा प्रवाह गरेको छ । आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका महिलाहरु टाढा टाढा अस्पतालमा गई स्वास्थ्य जाँच गराउँन नसकिरहेका बेला नगरपालिकाले ग्रामीण स्तरमै प्रजनन स्वास्थ्य शिविर तथा महिलाहरुको पाठेघरको क्यान्सर स्क्रिनिङ, आङ खस्ने समस्या, यौन रोग तथा आँखा जाँच शिविरको आयोजना गरेको हो ।

वालिङ १० मा आयोजित शिविरको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा मन्त्री अधिकारीले महिलाहरु आफनो स्वास्थ्यमा सचेत हुनुपर्ने बताउनुभयो । दुरदराजमा रहनुभएको महिलाहरुमा अझै पनि रोग लुकाएर बस्ने समस्या रहेकाले महिलाहरुमा स्वास्थ्य सचेतनाको विकास हुनुपर्ने मन्त्री अधिकारीले जोड दिनुभयो । साथै मन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकाले सहज स्वास्थ्यको पहँचुमा पुर्‍याउन सरकार लागी परेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख कविता तिवारीले महिलाहरु स्वस्थ भए परिवार नै स्वस्थ हुने भन्दै शिविरको आयोजना गरी महिलाहरुलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउने प्रयास गरेको बताउनुभयो ।




शिविरमा ११० जनाले आँखा जाँच गराएका छन भने १३० जनाले पाठेघर सम्बन्धी सेवा लिएका छन । आँखा जाँच गरिएका ११० जना मध्ये ४ जनाको मधुमेहको शल्यक्रिया गर्नुपर्ने भएकाले निशुल्क हिमालयन अस्पताल पोखरामा लगिने जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । त्यस्तै पाठेघर सम्बन्धी जाँच गराएका महिलाहरु मध्ये ८ जनामा यौनरोग देखिएको छ ।


शिविरमा निशुल्क, औषधी, चस्मा वितरण गरिएको थियो । नगर स्वास्थ्य साखा अन्र्तगतका स्वास्थ्यकर्मीहरुले सेवा दिएको शिविरमा डा. दिपक सुवेदीको नेतृत्वमा सेवा दिईएको हो । त्यस्तै आँखा शिविरमा डिस्ट्रिक आई सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।