वालिङ क्याम्पसको संस्थागत प्रणालीमा बेथिती, पारदर्शितामा उठ्यो प्रश्न

भदौ १३, २०७९


१३ भाद्र २०७९

आर्थिक संकटको मारमा परेको वालिङ बहुमुखी क्याम्पसमा संस्थागत प्रणालीलाई अवलम्वन नगर्दा समस्याका चाङ् बढ्दै जान थालेका छन् । विधान विपरीतका कार्यहरुमा संचालक समिति र प्रध्यापकहरु लाग्दा समस्यै समस्याका चाङ् बढ्दै जान थालेको हो । संचालक र प्रध्यापकले आ—आफ्नो भुमिका क्याम्पस भित्र नबुझेको देखिन्छ । नीति बनाउने र कार्यन्वयन गर्ने पक्ष विचनै तालमेल नमिल्दा क्याम्पसले ठुलो आर्थिक व्यायभार मात्रै होइन शैक्षिक गुणस्तरमा समेत ओरालो लाग्ने देखिन्छ । प्रध्यापक—प्रध्यापक विचको आन्तरिक असमझदारी, संचालक समितिले आफु अनुकुल प्रध्यापक चलाउने र प्रध्यापकले पनि आफु अनुकुल संचालक समिति चलाउने अभियानको शुरुवात क्याम्पसमा देखिएको छ । जसले समग्र क्याम्पसको भविष्य नै अन्योलग्रस्त बनाएको छ ।

शैक्षिक गुणस्तरलाई बढवा दिन क्याम्पस संचालक र प्रध्यापकले क्युएए कार्यक्रम अगाडी सारेपनि यसको गरिमा र महत्व दुवै पक्षले नबुझेको एक प्रध्यापकले नाम नवताउने शर्तमा पब्लिक आवाजलाई बताए । क्याम्पसको आयमा ओरालो लाग्ने पक्ष सबैभन्दा बढी राजनीति नै भएको ति प्रध्यापकले दावी गरे । उनका अनुसार आफु अनुकुल संचालकले प्रध्यापक नियुक्ती देखि सेवा सुविधालाई साथ दिदा क्याम्पसमा दिनानुदिन यस्ता समस्या बल्झिरहने बताए । दिर्घकालिन विधान नबन्नु, साधरणसभामा विधानमाथी राम्रो छलफल नहुनु, क्याम्पसको हितमा भन्दा पनि आफु अनुकुल विधान निर्माण गर्नु, शैक्षिक गुणस्तर भन्दा पनि राजनीतिक आडमा प्रध्यापकको भर्ति केन्द्र निर्माण गरिनु लगायतका काम विगतदेखि गरिदै आएकाले क्याम्पसमा शैक्षिक गुणस्तर र आर्थिक संकट परेको ति प्रध्यापकको भनाई छ ।

पछिल्लो पटक कोरोना संक्रमणले पनि क्याम्पसलाई आर्थिक संकटग्रस्त बनाउन मद्यत पुगेको देखिन्छ । क्याम्पसको मुख्य आर्थिक स्रोत भनेको विद्यार्थी नै भएकाले संक्रमणका बेला पठनपाठन बन्द हुदा विद्यार्थीबाट शुल्क लिन कठिनाई र प्रध्यापकलाई तलब दिनुपर्ने निर्णय संचालक समितिले गरेपछि यो समस्या झनै गहिरो गरी आएको क्याम्पस प्रशासनको भनाई छ ।

क्याम्पसमा आर्थिक संकट देखापरेपछि संचालक समितिले चासो देखाएको पनि देखिएको छ । गएको असार मसान्त भित्र संचालक समिति र प्रध्यापक विच सुझाव संकलन कार्य गरिएको दस्तावेजले देखाएको छ । संचालक समिति र प्रध्यापकले पेश गरेका दस्तावेजले खासै समस्या समाधान हुने गरी सुझावहरु आएको देखिदैन । क्याम्पसको आर्थिक अवस्था सुधार्न संचालक समिति र प्रध्यापकहरु विच नै समझदारी कायम हुनु नै उत्तम उपाय रहेको क्याम्पस प्रमुख सचिदानन्द यादवको भनाई छ । प्रध्यापकले संचालक उचाल्ने, संचालकले प्रध्यापक उचाल्ने परीपाटी बलियो हुदै जादा क्याम्पसको प्रशासनीक पक्ष नै कमजोर बनेको तर्क प्रमुख यादवको छ ।

विधान विपरीत संचालक समितिले प्रध्यापकहरुलाई करार, आशिंक र पुर्णकालिन बनाएको पनि तथ्य बाहिर आएको छ । १० बर्ष अध्यापन गराउने प्रध्यापक र ३ बर्ष अध्यापन गराउने प्रध्यापकलाई एकै चोटी पुर्णकालिन र बढुवा गर्दा संचालक समितिले विधान विपरीत गरेको निर्णयमा पनि प्रध्यापकहरु रुष्ट बनेका छन् । कतिपय प्रध्यापक नियुक्ति गर्दा प्रतिस्पर्धा नगराई आस्थाको आधारमा प्रध्यापक नियुक्ति गरिएको पनि खुल्न आएको छ । यस बिषयमा क्याम्पस संचालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले यो बिषय आफुलाई थाहा नभएको दावी गरे । म अध्यक्ष नहुदा के भयो मलाई थाहा छैन अध्यक्ष कोइरालाले भने,‘मेरो पालामा यस्तो भएको छैन ।’ यस बिषयमा पब्लिक आवाजले अनुसन्धान जारी राखेको छ । क्याम्पसलाई स्वतन्त्ररुपले संचालकले काम गर्ने र स्वतन्त्ररुपले क्याम्पस प्रशासन, प्रध्यापकले काम गर्ने हो भने क्याम्पसको समस्या खासै ठुलो नरहेको विद्यार्थी नेताहरु बताउछन् । पुर्णकालिनको पारिश्रमिक र आंशिकको पारिश्रमिकको भिन्नतामा नै ठुलो अन्तराल देखिन्छ । अहिले क्याम्पसमा तिन किसिमबाट प्रध्यापकहरुको नियूक्ति व्यवस्थापन गरेको छ । पुर्णकालिन, करार र आंशिक गरी प्रध्यापकहरुलाई पारिश्रमिक निर्धारण गरेको आर्थिक प्रतिवेदनमा देखिएको छ । पुर्णकालिनले १ पिरियडको १४ हजार, करारको ११ हजार ३ सय ३३ र आशिंकको ६ हजार ५ सय पारिश्रमिक निर्धारण गरेको छ । यो पारिश्रमिक बैज्ञानीक नभएको तर्क ति प्रध्यापकले दिए ।



अहिले सम्म क्याम्पसमा ४७ जना प्रध्यापक रहेको बताइएको छ । प्रध्यापकको तलब बढ्दै जानु र विद्यार्थीको संख्या घट्दै जानु क्याम्पसको आर्थिक संकटको ठुलो माध्यम बनेको छ । प्रायः सबैजसो संकायमा स्नातक तथा स्नातकोत्तर तहमा अध्यापन हुने विषयहरुमा ऐच्छिक विषय छनौट गर्न पाउने सुबिधा रहेकै छ । तर कुन विषयमा कतिजना विद्यार्थी हुँदा कतिवटा सम्म ऐच्छिक विषय छनौटका लागि व्यवस्था गर्ने भन्ने सम्बन्धमा लागत (लाभ विश्लेषण सहितको स्पष्ट व्यवस्थापन गर्ने जिम्मेवारी बोध) संचालक तथा क्याम्पस वा निकाय प्रमुखहरुले नगर्दा पनि अनावश्यकरुपमा आंशिक शिक्षकहरुको संख्या थपिन गएको देखिन्छ । यो पनि क्याम्पसको आर्थिक व्ययभारमा परिणत भएको छ । वालिङ क्याम्पसको आर्थिक सवलीकरणका लागि सरोकारवालाहरु विच राम्रो समिक्षा हुनु जरुरी देखिन्छ । राजनीतिलाई बाहिर राखेर शैक्षिक सुधारमा ध्यान दिन पनि आवश्यक छ ।
( पब्लिक आवाज साप्ताहिक )