आचारसंहिता विपरीत बिजुलीका पोलमा काँग्रेसका झण्डा
१५ बैशाख २०७९,स्याङ्जा
स्थानीय निर्वाचन नजिकिदै जाँदा राजनीतिक दलहरू चुनावी प्रचारप्रसार अभियानमा जुटिरहेका छ्न्। प्रचारप्रसार गर्दा राजनीतिक दलहरूले आचारसंहिता विपरीत गतिविधि गरिरहेका छ्न् तर निर्वाचन आयोग भने मुकदर्शक बनीरहेको छ।आचारसंहिता विपरीत भीरकोट नगरपालिकाको मुख्य बजार क्षेत्र बयरघारीका अधिकांश बिजुलीका पोलमा नेपाली काङ्ग्रेसले पार्टीका झण्डा र व्यानर राखेको छ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार घर तथा जग्गा धनीको अनुमति नलिइ कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान , सार्वजनिक सडकका पोल वा कुनैपनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह टाँस्न पाइदैन।यस विषयमा भीरकोट निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ऋषिराम आचार्यसँग सम्पर्क गर्दा सार्वजनिक स्थानमा पार्टीको झण्डा एवं चुनाव चिन्ह राख्ने काम निर्वाचन आचारसंहिता विपरीत रहेकाले तत्काल हटाउन निर्देशन दिइने बताउनुभयो।