काङ्ग्रेस विकास विरोधी पार्टी: पूर्व मन्त्री अर्याल

असोज २३, २०७८


आश्विन २३, भीरकोट खबर डेस्क

नेकपा एमालेको भीरकोट नगर सम्मेलनमा बोल्दै नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य एवं पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नेपाली काङ्ग्रेस विकास विरोधी पार्टी भएको आरोप लगाउनुभएको हो।तत्कालिन नेकपा एमालेकोको सरकारले शिलान्यास गरेका १४०० भन्दा बढी रणनीतिक महत्वका सडकहरूको बजेट कटौती /खारेजी गरेकोमा आक्रोश व्यक्त गर्दै उहाँले भीरकोटका सडकहरूको पनि बजेट खारेजी/कटौती भएकोमा दु: ख व्यक्त गर्नुभएको थियो ।समृद्धिको यात्रामा अगाडि बढ्दा बढ्दै पार्टी भित्र बाटै अन्तर्घात भएको र माओवादी काङ्ग्रेस त्यसको मतियार बनेकोले एमाले बाहेकका पार्टीले सत्ताका लागि मात्रै राजनिती गरेको आरोप पनि लगाउनुभएको थियो।उहाँका अनुसार देउवा नेतृत्वको सरकारले बयरघारी सुन्दरबजार मोहनडाँडा पर्बत सडक ,बयरघारी बिरुवा सडक ,आँधिखोला करिडोर लगायतका स्याङ्जाका ३१ वटा सडकहरूको बजेट कटौती /खारेजी गरेको छ।

आज नेकपा एमाले प्रवेश गरेका १५० जनालाई स्वागत गर्दै अर्यालले भीरकोटमा नेकपा एस शून्य रहेकोमा खुसी व्यक्त गर्दै आत्मबल बलियो बनाएर अगाडि बढ्न भीरकोटका नेतृत्व तथा कार्यकर्ता पङ्क्तिलाई आग्रह गर्नुभएको थियो।२०४८ देखि २०७४ सम्मको निर्वाचन परिणाम केलाउँदा भीरकोटमा एमालेको जनाधार बलियो बन्दै गएको बताउँदै उहाँले भीरकोटमा अब विजयको यात्रा सुरू भएको विश्वास व्यक्त गर्नुभएको थियो।

नेकपा नगर कमिटी अध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बोल्दै जिल्ला तथा केन्द्रका नेताहरूले वैचारिक विचलनका कारण पार्टी परिवर्तन गरेका नेता कार्यकर्तालाई समृद्धि र समाजवादको यात्रा जारी राख्न नेकपा एमालेमै फर्कन समेत आग्रह गरेका थिए।सम्मेलनमा बोल्दै जिल्ला कमिटी अध्यक्ष सूर्य कुमार गैह्रे पारशले विधान महाधिवेशन सँगै पार्टी शुद्धीकरण एवं गतिशील भएको र एकीकृत सोचका साथ अगाडि बढेको भन्दै अबको चुनाबमा एमालेले अझ बलियो पार्टी हुने समेत दाबी गर्नुभएको थियो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय महासचिव रमेश आर्चायले एमाले एकदमै शक्तिशाली पार्टी भएको हुँदा अन्य दलहरूले गठबन्धन बनाएर एक्ल्याउन खोजे पनि  एमाले अझ बलियो  बन्दै गएको र अबको निर्वाचन पछि एमालेकै नेतृत्वमा सरकार बन्ने पनि दाबी गर्नुभएको थियो  । तमु समाजमा भएको कार्यक्रममा भीरकोटका करीब ५०० नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो।