गठबन्धन सरकार सत्ता मोहमा लिप्त : एमाले सचिब अर्याल

भदौ ०१, २०७९


स्मार्ट अखबार संवाददाता
१ भाद्र २०७९

नेकपा एमाले केन्द्रिय कमिटि सचिव तथा पुर्व मन्त्री एवं सांसद पद्मा अर्यालले  गठबन्धन सरकार सत्ता मोहमा लिप्त भएको बताउनुभएको छ ।  मंगलबार वालिङमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एमाले सचिव अर्यालले परमादेशबाट बनेको गठबन्धन  सरकार सत्ता मोहमा लिप्त भएका कारण देशमा बढिरहेको महंगी र बेथितिलाई नियन्त्रण गर्न नसकेको बताउनुभएको हो ।
एमाले जिल्ला कमिटिको निर्देशन तथा वालिङ नगरकमिटिको आयोजनामा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमका अवसरमा सचिव अर्यालले गठबन्धनले नेकपा एमालेलाई कुनै असर गर्न नसक्ने भन्दै अहिलेको पार्टीको कार्यभार बुझेर अगाडि बढेमा आगामी प्रदेश र संघिय निर्वाचनमा दुईतिहाई मत ल्याउने दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘गठबन्धनको सरकार आफ्नो दलिय स्वार्थमा मात्रै लिप्त भए । आम नागरिकको समस्या र गुनासो बुझ्न र आवश्यक कदम चाल्न सकेन । तसर्थ आगामी निर्वाचनमा जनताले एमालेलाई नै चुन्नेछन् ।’
कार्यक्रममा एमाले केन्द्रिय कमिटि सदस्य किशोरविक्राम मल्लले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले सचिव अर्यालले वर्तमान राजनितिक परिस्थिति र एमालेले अगाडि सारेको कार्यभारका विषयमा प्रशिक्षण दिनुभएको थियो भने गण्डकी प्रदेशका उपाध्यक्ष एवं सांसद मोहन रेग्मीले पार्टी र जनप्रतिनिधि बीचको सम्बन्ध र आगामी निर्वाचनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले जनताको बहुदलीय जनवादको मान्यताका आधारमा पार्टी संग्ठन निर्माण र परिचालनका विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम नगरकमिटि अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सहसचिव पिताम्बर खनाल र संचालन सचिव यमकान्त खनालले गर्नुभएको थियो । कार्यक्रममा वालिङ ६ धनुबाँसका पुर्णबहादुर थापाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ ।