निर्वाचन प्रजातन्त्रको मेरुदण्ड हो : प्रधानमन्त्री देउवा

चैत १०, २०७८


कला राना, चैत्र १०
स्याङ्जा ।



प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड रहेको बताउनु भएको छ । आज चापाकोटको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै उहाँले देश निर्वाचनको सँघारमा रहेको बताउनु भयो ।



प्रधानमन्त्री देउवाले भन्नुभयो,‘हामी अहिले निर्वाचनको सँघारमा छौँ । निर्वाचनको पूर्व तयारीमा अगाडि बढेका छौँ । समयमै निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्छ ।’ निर्वाचन स्वतन्त्र, भएरहित रूपमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने प्रधानमन्त्री देउवाको जोड थियो ।

तीन तहको सङ्घीय प्रणालीमा स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा हुने सरकार भएको बताउनु प्रधानमन्त्री देउवाले स्थानीय सरकार पारदर्शी र जन उत्तरदायी हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्याङ्जाको चापाकोट र पाल्पाको रामपुर नगरपालिकालाई समेटेर विकास निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले कालीगण्डकी नदीको दायाँबायाँ ठूलो सहर बस्न सक्ने भएकाले कालीगण्डकी नदीमाथि आफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा पुल निर्माण गरेको र अरु पुल अहिले पनि निर्माणको क्रममा रहेको बताउनुभयो ।

ढिलै भए पनि एमसिसी पास भएको छ, यसले नेपालमा समृद्धि ल्याउन र विकास निर्माणमा सहयोगी हुने विश्वास उहाँको छ । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनसम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो । उहाँले देशलाई प्रतिगमनकारीबाट बचाउनका लागि पाँच दलीय गठबन्धन जरुरी रहेको बताउनुभयो ।

गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले धार्मिक, पर्यटकीय एवं कृषिका क्षेत्रमा चापाकोटमा प्रचुर सम्भावना रहेकाले अलपत्र परेको कृषि क्याम्पस सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सिँचाइका क्षेत्रमा पनि नयाँ योजनाहरुसहित अगाडि बढेर उर्वरायुक्त भूमिलाई सिञ्चित गर्नुपर्ने बताउनुभयो ।

अघिल्लो सरकारले कालीगण्डकी डाइभर्सनको योजना अगाडि सारेर यहाँका नागरिकलाई तर्साएको नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले बताउनुभयो ।

चापाकोट नगरपालिका समथर र निकै सम्भावना बोकेको स्थल भएको बताउँदै विमानस्थल, कालीगण्डकी नदीमाथि पक्की पुल, यहाँसम्म पुग्नका लागि सडक निर्माणलाई जोड दिन उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

चापाकोट नगरपालिका धेरै सम्भावना बोकेको पालिका भएकाले पनि यसको विकासका लागि स्थानीय सरकार लागिपरेको नगरप्रमुख शिवकुमार गिरीले बताउनुभयो । स्थानीय सरकारले प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य, समन्वय गर्दै विकास निर्माण गर्दै अघि बढ्ने नगरप्रमुख गिरीले बताउनुभयो ।