कर सचेतनालाई  प्राथमिकता

जेठ ०८, २०८१     एनपी कोइराला


करदाता सेवा कार्यालय ,पुतलीबजारले कर सचेतनालाई प्राथमिकता दिएको छ। कार्यालयले स्थानीय बैंक , वित्तीय संस्था, विद्यालय लगायतका महत्त्वपूर्ण संस्थाहरूसँग समन्वय र सहकार्य गर्दै सचेतनाका कार्यक्रमहरूलाई प्राथमिकता दिएको हो।

मंगलबार जिल्ला सदरमुकाममा आयोजित वित्तीय साक्षरता एवं कर सचेतनामूलक कार्यक्रममा गरिमा विकास बैंक , स्याङ्जा चेम्बर अफ कमर्श र त्रिभुवन आदर्श नमुना मा.वि. को सहभागिता रहेको थियो।

शहिदचोकबाट सुरु भएको प्रभातफेरी हुलाकरोड, ट्राफिकचोक, अभियानपथ, ठाडोलाइन, बैंक रोड हुँदै शहिदचोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो।कार्यक्रममा सचेतनामूलक प्लेकार्ड , व्यानर र नृत्य समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। सदरमुकाम र पालिकास्तरमा मात्रै नभएर विद्यालय, समुदाय र बस्ती बस्तीमा कर सचेतनाका कार्यक्रमहरू नियमित रूपमा संचालन गर्न आवश्यक रहेको उनको भनाई छ। कर कसले , किन र कसरी तिर्ने भन्ने विषयमा सबै नागरिक जानकार रहनुपर्ने पौडेलको धारणा थियो।

करदाता सेवा कार्यालय स्याङजाका प्रमुख विजय भुसालले व्यवसायी र उपभोक्ता दुवै सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए। कर कार्यालय व्यवसायीलाई लुट्न नभै वैधानिकता प्रदान गर्न आएको बताउँदै भुसालले  व्यवसायीलाई वैधानिक कारोबार गर्न र  उपभोक्ताले समान वा सेवा खरिद गर्दा पसल/ व्यवसाय दर्ता भए नभएको, सामानको उपभोग्य मिति भए नभएको  पसलमा एक्सपाइरी जोन भए नभएको ख्याल गर्नुपर्ने बताए। नागरिकले जिम्मेवार भएर कर तिरे मात्र देश विकास र समृद्धि  सम्भव हुने भएकाले सबै व्यवसायीहरूले इमानदार भएर कर तिर्न आग्रह गरेका थिए।  करदाता सेवा कार्यालयले ६८ करोड राजस्व उठाउने लक्ष्य राखेको बताउँदै  असार मसान्तसम्म उक्त लक्ष्य पूरा हुने भुसालको अपेक्षा छ।



कार्यक्रममा चेम्बर अफ कमर्श स्याङजाका अध्यक्ष लोकनाथ रेग्मी, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, गरिमा विकास बैंक क्षेत्रीय कार्यालय वालिङका प्रमुख लेखनाथ भट्टराई र जिल्ला उपभोक्ता मन्चका अध्यक्ष राजेन्द्र मरासिनी लगायतले मन्तव्य राखेका थिए ।