दोस्रो स्याङ्जा आँधीखोला महोत्सव बिहिवारदेखि मालेबगरमा शुरु

पुष २०, २०८०


राम बहादुर रोकाहा, स्याङ्गजा
पौष २०, २०८० शुक्रबार

दोस्रो स्याङ्जा आँधीखोला महोत्सव बिहिबारदेखि स्याङ्जाको मालेबगरमा शुरु भएको छ । `कृषि, पर्यटन, उद्योग र व्यवसाय हाम्रो सान, दोस्रो स्याङ्जा आँधीखोला महोत्सवको अभियान´ भन्ने मुल नारासहित स्याङ्जा चेम्बर अफ कमर्सको आयोजनामा पुतलीबजार नगरपालिका स्थित मालेबगरमा बिहिबारदेखी माघ २ गतेसम्मका लागि महोत्सव हुने भएको हो ।

स्थानीय तथा स्वदेशी कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन एवं संस्कृतिको जगेर्ना गर्न, कृषिको व्यवसायीकरण गर्ने उद्देश्यका साथ आयोजित मेलाको बाजागाजा तथा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन सहित बिहिबार भव्यताका साथ समुद्घाटन गरिएको हो । माघ २ गतेसम्म सञ्चालन हुने महोत्सवको समुद्घाटन पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले गरेका हुन् ।

महोत्सवको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रेग्मीले यस्ता मेला महोत्सवले जिल्लाको पहिचान बढाउने हुँदा जिल्लाका कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने साथै संस्कृतिको जगेर्ना गर्दै आन्तरिक बजार सवलीकरणमा सहयोग पुग्ने बताए । उनले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै जिल्लामा उत्पादित सुन्तला, कफि, अदुवा, आलु लगायतका उत्पादनलाई बजारीकरण गरी आयआर्जनको स्रोत बनाउन जोड दिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख खड्कराज सुवेदी, नगर उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य किसन सुनुवार, पुर्व नगर प्रमुख सीमा क्षेत्री, नेकपा एमाले उपसचिव तारा शर्मा, नेपाली काङ्ग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष नारायण लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष बसन्त पङ्गेनी, आन्तरिक लेखा कार्यालयका प्रमुख शिव शर्मा लगायतले कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने गरि यस्ता मेला महोत्सवको आयोजना गरि निरंतरता दिनुपर्ने बताए ।

विज्ञापन

चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न महोत्सवको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्री गुरुङले स्वागत मन्तव्य तथा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र श्रेष्ठको धन्यवाद मन्तव्य राखेका थिए भने महासचिव रिखिराम पौडेलले संचालन गरेका थिए ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

करिब २ हप्तासम्म संचालन हुने उक्त महोत्सवमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, पन्चेबाजा प्रतियोगिता लगायत विभिन्न सास्कृतिक कार्यक्रमहरुको प्रतियोगिता हुने बताइएको छ ।
महोत्सवमा राखिएका करिब २०० स्टलहरुबाट दैनिक जिवनमा उपयोग हुने अत्यावश्यक सामाग्रीहरुको किनबेच हुने तथा बाल उद्यानमा मनोरञ्जन गर्ने, फोटो खिच्ने बनाउने, हस्तकलाहरु एवं विभिन्न किसिमका प्रदर्शनीहरु हुने बताइएको छ ।