भीरकोटमा खुल्यो साबुन उद्योग

कार्तिक ०५, २०७८


भीरकोट खबर डेस्क, ५ कार्तिक २०७८

भीरकोट नगरपालिकामा भीरकोट साबुन उद्योग संचालनमा आएको छ।३२ लाख लगानीमा खुलेको साबुन उद्योग नगरपालिकाकै पहिलो साबुन उद्योग हो।भीरकोट १ बयरघारीमा नगरपालिकाले संचालन गरेको नदिजन्य निर्माण सामग्री प्रशोधन केन्द्रको नजिकै रहेको उद्योगमा विष्णु गोदार र सोनु खड्काले संयुक्त लगानी गर्नुभएको छ।

गोदार र खड्का दुबै जनाले वैदेशिक रोजगारीका क्रममा सिकेका सीप र हाँसिल गरेको अनुभवका आधार उद्योग स्थापना गर्नुभएको हो।कच्चा पदार्थ र मेसिन दुबै भारतबाट आयात गरेर गुणस्तरीय लुगा धुने साबुन उत्पादन गर्न थालेको उद्योगले “भीरकोट” ब्राण्डका साबुनहरू उत्पादन गर्दै आएको छ।लकडाउन र अन्य प्राविधिक कारणले गर्दा उद्योग संचालन गर्न केही लामो प्रतीक्षा गर्नुपरेको उद्योगका संचालक सोनु खड्काले जानकारी दिनुभयो।

उद्योगले उत्पादन गरेका साबुन प्रयोग गर्नुभएका ग्राहकहरूले पनि साबुन गुणस्तरीय रहेको बताउनुभएको छ।उद्योगले उत्पादन गरेको पहिलो लटकै साबुन खरिद गर्नुभएकी सुष्मा गोदारले साबुन सस्तो र गुणस्तरीय भएकोले अरूलाई पनि प्रयोग गर्न सुझाव दिनुभएको छ।
स्थानीय स्तरमै गुणस्तरीय साबुन उत्पादन हुन थालेपछि स्थानीयहरू हर्षित छ्न्।