फोहोरबाट मोहर कमाउँदै वालिङ नगरपालिका

असार ०२, २०७९


स्मार्ट अखबार संवाददाता, स्याङ्जा
२ असार २०७९

देशभरका स्थानीय तहको फोहोर व्यवस्थापन गर्न एक प्रकारको चुनौति बनेको छ । मुख्य गरि देशको राजधानी काठमाडौंमा फोहोर व्यवस्थापनको एक किसिम्मको समस्या बनेको छ । यस्ता समस्याका बाबजुद पनि स्याङ्जाको वालिङ नगरपालिका फोहोर व्यवस्थापनमा नमुना नगरपालिकामा घोषित भएको छ । देशकै पहिलो फोहोर व्यवस्थापन प्लान्ट स्थापना गरेको वालिङ नगरपालिकाले अहिले वार्षिक २५ लाख अम्दानी गर्दै आएको निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणले बताउनुभएको छ ।खाँणले आफू नगरप्रमुख हुदाँ वालिङको फोहोर व्यवस्थापन गर्न निकै ठूलो भूमिका रहेको जानकारी दिनुभएको छ ।

कसरी सम्भव भयो सहज फोहोर व्यवस्थापन गर्न?

कुनैबेला वालिङ नगरपालिकामा फोहोरको विषय नगरवासीको टाउको दुखाईको विषय नै भएको थियो ।मानिसहरु फोहोरबाट आजित भएको बेला निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणले फोहोर व्यवस्थापनबारे अध्यान गर्दै गर्दा फोहोर व्यवस्थापन त्यति ठूलो समस्या नरहेको महसुस गर्नुभयो । त्यस पश्चात उहाँले वालिङ नगरपालिकाको फोहोर थोरै जग्गामा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर यो विषयमा अध्ययन गर्नुभयो । अध्ययन गर्ने क्रममा नगरपालिकाका कर्मचारीदेखि नगरवासीसँग यस विषयमा व्यापक छलफल पश्चात फोहोर व्यवस्थापनको लागि पहिला त जनताहरु नै सूचिकृत हुन जरुरी रहेको त्यस छलफलको निष्कर्ष भयो ।

छलफलको भोलिपल्टबाट नगरवासीहरुको सय घर मिलाएर एक टोलको निर्माण गरेर समिती गठन गरियो । त्यो समितीलाई तालिम प्रदान गर्न बाहिरबाट विज्ञहरुलाई बोलाएर फोहोर व्यावस्थापन कसरी गर्ने भनेर उनीहरुलाई तालिम प्रदान गर्न तिर लागियो । उक्त समितिले आफूहरुले सिकेको तालिम टोलमा गएर सिकाउन लागे ।

त्यसपछि नगरपालिका नगरवासीलाई बिहान एक घन्टा आफ्नो घरवरिपरि सरसफाई गर्न बानी बसाल्न सफल भयो । निर्वतमान मेयर दिलिप प्रताप खाँणले भन्नुभयो “जनताको मानसिकताबाट नगरपालिकाले मात्र फोहोरको सरसफाई गर्ने हो भन्ने चेतना नहट्ने बेलासम्म कुनै पनि स्थानीय तहमा फोहोरको विषय टाउको दुखाईको विषय बनिरहन्छ ।” घरमा जम्मा भएको फोहोरलाई वर्गीकरण गर्न नगरवासीलाई पालिकाले आह्वान गरेको थियो । त्यसपछि कुहिने र नकुहिनेलाई छुट्टाछुट्टै ठाउँमा छुट्टाइयो । नगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रलाई सुरुमा फोहोर व्यवस्थापन नामकरण दियो । तर नगारिकलाई बुझ्न असहज हुने भएकाले त्यसको नामकरण फेरेर फाहोर स्रोत व्यवस्थापन केन्द्र बनायो । फोहोर स्रोत व्यवस्थापन केन्द्रमा फोहोर लगेपछि प्लास्टिकलाई पनि वर्गीकरण गरियो । जस्तै चीनबाट आउने प्लास्टिकहरुलाई छुट्टाएर जोखेर पालिकाले त्यसको पुन प्रयोग हुनेगरि त्यसको बिक्री गर्यो ।



त्यतिबेला नयाँ नयाँ प्रवधिको प्रयोग गर्ने ज्ञान नभएर कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउनको लागि खाल्डो खनेर त्यसलाई किसानहरुलाई सहुलियत रकममा बेचियो । तर अहिले प्रविधिको पूर्ण प्रयोग गरेर प्लास्टिकलाई पेलेर त्यसको गमला बनाउने, दैनिक उपयोग हुने प्लास्टिकका सामान, डोरी जस्ता सामाग्री बनाउदैँ नगरपालिकाको आम्दानीको स्रोत बनाउदैँ आएको निर्वतमान नगरप्रमख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।

अर्को तिर नागरिकहरुले घर बनाइसकेपछि शौचालयको फोहोरलाई खोलानालामा फाल्दा विभिन्न सरुवा रोगहरु फैलने भएकाले त्यसलाई फाल्न पनि नगरपालिकाले बन्देज गरिदियो । शौचालयबाट निसक्ने फोहोरलाई पनि नगरपालिकाले व्यवस्थापनको लागि नगरपालिकाको गाडी र निजि गाडीबाट ४ हजार रुपियाँ लिएर त्यसलाई व्यावस्थापन गरेका थियो ।

थोरै बजेट, धेरै फाइदा

वालिङ नगरपालिकाले वडा नम्बर १ अर्मादी आँधिखोला किनारको बगरमा सरसफाइ केन्द्रको स्थापना गर्यो । नगरपालिकाले पूर्णामृत भवानी माध्यमिक विद्यालयको ३२ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । उक्त फोहोरमैला व्यवस्थापन केन्द्रमा दैनिक ४ जना कुचिकार र ५ जना कर्मचारीले फोहोर वर्गीकरण गर्दै आएका छन् ।

निवर्तमान नगरप्रमुख दिलिप प्रताप खाँणका अनुसार आफू नगरप्रमुखको पदमा रहँदा करिब ५० लाख बराबरको फोहोर व्यवस्थापन गर्ने मेसिन नगरले खरिद गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो, “नगरले मेसिनबाट फोहोरमैला वर्गीकरण गर्ने गरी तयारी थालेको छ । फोहोरमैला व्यवस्थापनमा नगरपालिका र विभिन्न निकायले सहयोग गर्दै आएको र सरसफाइका लागि आवश्यक भौतिक संरचना पनि बनाइएको छ ।” अहिले वार्षिक २५ लाखको आम्दानी भएको छ ।

छिमेकी पालिकाहरुबाट फोहोर किनेर आम्दानी

सुरुसुरुमा भीरकोट नगरपालिका, गल्याङ नगरपालिकाको फोहोर पनि वालिङ नगरपालिकाले व्यवस्थापन गर्दै आएको निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणले बताउनुभयो । छिमेकी पालिकाहरुबाट प्लास्टिक किनेर त्यसको आफूहरुले उचित व्यवस्थापन गरेको खाँणको भनाइ छ । तर केही समयपछि त्यहीँ पालिकाले त्यो पलास्टिकहरु जलाएर विस्तारै वालिङ नगरपालिकालाई बेच्न छाडेको उनको गुनासो छ ।

फोहोरबाट काठमाडौंमा मनग्गे आम्दानी हुने

काठमाडौंको फोहोरबाट मनग्गे मोहोर कमाउन सकिने निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणले बताउनुभएको छ । उहाँले भन्नुभयो , “काठमाडौं महानगरपालिकामा ३२ वटा वडाहरु रहेका छन् । ३२ वटा वडामा ३२ करोड अनुदान दियो भने,सबै वडाहरुले फोहोर व्यवस्थापन गर्ने मेसिन राख्न सक्छन् । काठमाडौंको फोहोर व्यवस्थापन त्यस्तो टाउको दुखाईको समस्या नभएको र हरेक वडामा दुई रोपनी जग्गा भए मेसिन स्थापना गर्न सक्ने खाँणको भनाइ छ ।