खै यो सिंहदरबार कस्तो कस्तो

भदौ १५, २०७९


१५ भदौ २०७९

खै यो सिंहदरबार कस्तो कस्तो
बिकाउ मालको गोदाम जस्तो।

बुढेस कालको सहारा जस्तो
भोकाएका को आहारा जस्तो ।
जान्नेलाइ गुलियो मह जस्तो
नजान्नेलाइ डुब्ने रह जस्तो ।
खै यो सिंहदरबार कस्तो कस्तो
बिकाउ मालको गोदाम जस्तो।

कमिसन फल्ने बोट जस्तो
भ्रस्टाचारी बस्ने ओत जस्तो।
आफन्त खेल्ने मझेरी जस्तो
बैमानहरुको सझेरी जस्तो ।
खै यो सिंहदरबार कस्तो कस्तो
बिकाउ मालको गोदाम जस्तो।

बिबेक बेच्ने पसल जस्तो
बलिया बाङ्गाको मसल जस्तो।
बिचौलियहरुको बास जस्तो
जादुगर खेल्ने तास जस्तो।
खै यो सिंहदरबार कस्तो कस्तो
बिकाउ मालको गोदाम जस्तो।

कसैलाइ माइत पसे जस्तो
कसैलाइ घरज्वाइं बसे जस्तो।
फोहर भरिएको शहर जस्तो
बैंसले मातेको बहर जस्तो ।
खै यो सिंहदरबार कस्तो कस्तो
बिकाउ मालको गोदाम जस्तो।



तान्नेलाइ शिबजिको बुटि जस्तो
जानेलाइ कुबेरको कुटि जस्तो।
रेफ्री बिनाको मैदान जस्तो
सुगन्ध बिनाको उद्दान जस्तो ।
खै यो सिंहदरबार कस्तो कस्तो
बिकाउ मालको गोदाम जस्तो।

झगडाको मुख्य थलो जस्तो
कृषकको दाइ गर्ने खलो जस्तो।
सक्नेले सत्ता फेरे जस्तो
नसक्नेले बहरको हेरे जस्तो।
खै यो सिंहदरबार कस्तो कस्तो
बिकाउ मालको गोदाम जस्तो।