श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

भदौ २६, २०७९


२६ भाद्र २०७९

श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराउनुभएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गर्नुभएको हो।
राईको शब्दमा ओमप्रकाश राईले संगीत भर्नुभएको छ। ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ। ‘सञ्चो छ कि रोदन’ मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुनुहुन्छ।
१० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७,दोर्पा, चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील हुनुहुन्छ।
गीतकार राईले बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँदै आउनुभएको छ। उहाँका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्।
संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उहाँका तीनवटा लघुकथा समावेश छन् भने उहाँको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ।रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुनुहुन्छ।