भीरकोट नगरपालिकाको सातौँ नगर सभा सम्पन्न।

माघ ३०, २०७७


भीरकोट नगरपालिकाको सातौँ नगर सभा शुक्रबार सम्पन्न भएको छ । नगरप्रमुख छायाराम खनालको सभापतित्वमा आयोजित नगर सभामा उपप्रमुख सिमा केसी कर्माचार्यले संसोधित बजेटको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगरसभाले वडा नं. ८ र ३ विभाजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । वडा नं. ८ का वडा अध्यक्ष तनबहादुर गुरुङ र वडा नं. ३ का वडा अध्यक्ष बाबुराम श्रेष्ठले प्रस्तुत गर्नु भएको वडा विभाजन प्रस्तावलाई सभाले पारित गरेको हो ।



नगर प्रवक्ता दिपेन्द्र केसीले भन्नुभयो, ‘नगर सभामा वडा विभाजनको प्रस्ताव पेश भएको छ । अब हामीले प्रदेश र केन्द्रमा सिफारिस गर्नेछौँ । अब प्रदेशले पारित गरे केन्द्रमा जान्छ र केन्द्रले पारित गरेमा वडा विभाजन हुन्छ ।’ भौगोलिक हिसाबले कठिनाई भएपछि विकासको सहज पहुँचका लागी दुई वडालाई विभाजन गर्ने प्रस्ताव गरिएको हो ।



सभामा नगर प्रवक्ता एवं विधायन समितिका सभापति दिपेन्द्र केसीले प्रस्तुत गर्नुभएको विभिन्न कार्यविधिहरु सभाले पारित गरेको छ । सभाले भीरकोट नगरपालिका क्षेत्रभित्र नदिजन्य पदार्थको उत्खनन्, प्रशोधन तथा विक्री वितरण सम्बन्धी कार्यविधि २०७७, स्वास्थ्य निति २०७७, गाउँ नगर एकिकृत कृषि विकास नमुना कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पास गरेको छ । त्यस्तै वडा नं. ४ का सदस्य टंकप्रसाद श्रेष्ठको शोक प्रस्ताव समेत पारित गरेको छ ।