अलपत्र सेतीदोभान पुलको काम सुरु

माघ २४, २०७८


स्याङ्जा ,युवराज पौडेल                                           माघ २४, २०७८



स्याङजा जिल्ला आँधीखोला गाउँपालिका वडा नं ५ र ६ लाई जोड्ने सेतीदोभान पुल विगत ६/७ वर्षदेखि अलपत्र भएको भन्ने विभिन्न ठाउँबाट गुनासो आएपश्चात् स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उक्त पुल निर्माण कार्य अगाडि बढाउने सम्बन्धमा विशेष चासो र सक्रियता देखाउनु भएको छ ।



 यसै सन्दर्भमा गत हप्ता प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सडक डिभिजन कार्यालय पोखराका डिइ पारसमणि हमाल, ठेकेदार कम्पनीका प्रतिनिधि ऋषिराम गौतमलगायतको उपस्थितिमा प्राविधिक दृष्टिकोणले उपयुक्त देखिएमा २०७८/७९ भित्रै उक्त पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले एक हप्ताभित्र निर्माण कार्य सुरु गर्ने र डिभिजन सडक कार्यालयले सो को व्यवस्थापन गर्ने निर्णय भएको थियो ।

सोही बमोजिम आज पुनः प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रतिनिधिहरु, डिभिजन सडका कार्यालयका डिइ लगायतका प्राविधिक, निर्माण कम्पनीका प्रतिनिधि, आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेल लगायतका जनप्रतिनिधिहरू तथा निर्माण सरोकार समितिका अध्यक्ष लगायतका सरोकारवाला प्रतिनिधिहरू स्थलगत रुपमा नै उपस्थित भई पुलको रोकिएको निर्माण कार्यलाई तुरुन्त अगाडि बढाउने निर्णय भई निर्माण कम्पनीको तर्फबाट एक्साभेटर र रोलरसमेतका मेसिनहरु प्रयोग गरी आजैबाट कामको सुरुवात गरिएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले विगतमा जेजसरी काम रोकिएको भए तापनि आगामी दिनमा यसै आ.व.भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन डिभिजन सडक कार्यालय र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभएको छ । उहाँले स्थानीय पालिका लगायत सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई उक्त निर्माण कार्यमा सहयोग एवम् समन्वय गरिदिन अनुरोध गर्नुभएको छ । सो अवसरमा डिभिजन सडक कार्यालयका डिइ पारसमणि हमालले उक्त पुल निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने निर्माण कम्पनीका प्रतिनिधि ऋषिराम गौतमले पुल निर्माण कार्यलाई तीव्रता दिने बताउनुभएको छ ।

सो अवसरमा आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले आफूहरुले पुल समयमै निर्माण गर्नका लागि पटक पटक सडक डिभिजन तथा ठेकेदार कम्पनीसँग लिखित तथा मौखिक अनुरोध गरेको भन्दै आँधीखोलाका जनताले यसै वर्षभित्र यस पुलको उपभोग गर्न पाउनुपर्ने धारणा राख्नुभयो ।  नेपाली कांग्रेस आँधीखोलाका नेता प्रेमराज  पौडेलले सडक डिभिजन र ठेकेदार कम्पनी जवाफदेही भएर वर्षा याम सुरु हुनुभन्दा अगाडि नै पुलको काम सक्नुपर्ने बताउनुभयो । सो अवसरमा आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष सर्मिला पौडेलले पुलका कारण आँधीखोलाको प्रतिष्ठामा समेत धक्का पुगेकाले सरोकारवाला गम्भीर भइदिन आग्रह गर्नुभयो ।

निर्माण समिति सरोकार समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला व्यक्तिहरुले उक्त पुल निर्माण कार्यलाई अगाडि बढाउन जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको छ । यसबाट विगत ७ वर्षदेखि अलपत्र रहेको उक्त सेतीदोभान पुल निर्माण कार्य अगाडि बढ्ने आशा बढेको छ ।